मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ असार १७ बिहीबार ०५:०६:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना संक्रमितको उपचारमा केएमसी र विराट मेडिकल कलेजको ठगी

Read Time : > 5 मिनेट
२०७८ असार १७ बिहीबार ०५:०६:००

तीन दिन भर्ना भएको बिरामीलाई ४५ दिन उपचार गरेको भन्दै केएमसीले गर्‍यो मन्त्रालयमा रकम दाबी, शुल्क लिएर उपचार गरेका बिरामीलाई निःशुल्क उपचार गरेको भन्दै विराटको विवरण पेस

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेका निजी मेडिकल कलेज र अस्पतालहरूले संक्रमितको उपचारमा लागेको रकम भन्दै स्वास्थ्य मन्त्रालयसँग मनपरी ‘क्लेम’ गरेका छन् । काठमाडौं मेडिकल कलेजले ३ दिन अस्पताल भर्ना भएको  बिरामीलाई ४५ दिनसम्म उपचार गरेको भन्दै रकम दाबी गरेको छ भने विराट मेडिकल कलेजले शुल्क लिएर उपचार गरेका बिरामीलाई नि:शुल्क उपचार गरेको भन्दै रकम भुक्तानीको माग गरेको छ । 

यी अस्पतालहरूबाट आएको दाबीमा स्वास्थ्य मन्त्रालयले उपचार गरेका बिरामी र परिवारका सदस्यसँग ‘क्रस चेक’ गरेको थियो । जसमा अस्पतालहरूले बिरामीसँग उपचार शुल्क असुलेर मनपरी ‘क्लेम’ गरेको पाइएको छ । 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार विराट मेडिकल कलेजले पेइङमा बिरामी भर्ना गरेर मन्त्रालयमा नि:शुल्क उपचार सेवा दिएको भन्दै रकम माग गरेको छ । १० जना बिरामीको निःशुल्क उपचार गरेको भन्दै भुक्तानीका लागि निवेदन दिएको छ । जब कि स्वास्थ्य मन्त्रालयले ‘क्रस चेक’ गर्दा ती बिरामीबाट अस्पतालले ६४ लाख ५३ हजार रुपैयाँ उठाइसकेको छ । 

इन्दु कार्की नाम गरेकी बिरामीले विराट मेडिकल कलेजमा २५ दिन उपचार गराएकी थिइन् । आइसियूमा राखेर उपचार गरेबापत अस्पतालले उनीसँग २० लाख शुल्क उठाएको थियो । तर, स्वास्थ्य मन्त्रालयमा गरिएको दाबीमा कार्कीलाई ६ दिन आइसियूमा राखेर निःशुल्क उपचार गरिएको भन्दै रकम माग गरिएको छ । विराटले प्राप्त गर्नुपर्ने रकम भने निवेदनमा उल्लेख गरेको छैन ।

काठमाडौं मेडिकल कलेज (केएमसी)ले त झन् धेरै ज्यादती नै गरेको छ । शुल्क लिएर उपचार गरेका बिरामीको सूची पेस गर्ने मात्रै होइन, तीन दिन अस्पताल बसेको बिरामी ४५ दिन बसेको भन्दै रकम दाबी गरेको छ । मन्त्रालयले गरेको ‘क्रस चेक’मा बिरामी र आफन्त अस्पताल बसेको दिन सुनेर चकित परेका छन् । 

केएमसीले पेस गरेको विवरणमा मनीष महर्जनको ४५ दिन अस्पतालमा राखेर उपचार गरिएको दाबी गरिएको छ । जब कि मन्त्रालयले परिवारसँग बुझ्दा उनी तीन दिन मात्रै अस्पताल भर्ना भएका थिए । त्यसबापत उनले ६५ हजार उपचार शुल्क तिरेका थिए । 

‘काठमाडौं मेडिकल कलेजमा तीन दिन भर्ना भएर उपचार गरेको सबै कागज हामीसँग छ । त्यसमा पनि हाइकेयर युनिटमा बसेको ६५ हजार रुपैयाँ तिरेका छौँ । मन्त्रालयबाट तपाईंहरू ४५ दिन अस्पताल बसेको विवरण आएको छ भनेपछि हामी आश्चर्यमा छौँ,’ मनीषका बुबा हिरा महर्जनले भने, ‘हाम्रो नाम भजाएर यस्तो ठगी भइरहेको रहेछ ।’ बरु, तीन दिनपछि केएमसीबाट आफूले छोरालाई नेपाल मेडिसिटी अस्पताल लगेर उपचार गराएको उनले बताए । मेडिसिटीमा २४ दिन उपचार गरेपछि मात्रै छोरो ठीक भएको उनले बताए ।

त्यस्तै, कृष्णप्रसाद भण्डारी नाम गरेका बिरामीले चार दिन एचडियूमा भर्ना भएर उपचार गरेका थिए । उनले २० हजार उपचार शुल्क अस्पताललाई बुझाएका थिए । तर, अस्पतालले भण्डारीलाई ४१ दिनसम्म अस्पतालमा राखेर निःशुल्क उपचार गरिएको भन्दै स्वास्थ्य मन्त्रालयसँग रकम माग गरेको छ । 

भण्डारीले अस्पतालमा निःशुल्क उपचार हुन्छ कि हुँदैन भनेर सोध्दा ‘निःशुल्क नहुने’ जवाफ दिएको बताए । ‘म आफैँमा शारीरिक अपांगता भएको व्यक्ति हुँ । संक्रमण भएपछि केएमसीमा भर्ना भएँ । चार दिनको उपचारपछि २० हजार तिरेर घर फर्केको हुँ,’ उनले भने, ‘कोरोनाको उपचार गर्दा निःशुल्क वा कुनै छुट छैन भन्दा अस्पतालले छुट नभएको जवाफ दिएपछि मेरो दाइले रकम तिर्नुभएको हो । तर, अहिले मेरो नाममा केएमसीले निःशुल्कमा उपचार गरेको र ४१ दिन अस्पताल बसेको विवरण पेस गर्दै स्वास्थ्य मन्त्रालयमा रकम दाबी गरेको सुन्दा दुःख लागेको छ । सरकारले उपचारमा लागेको हाम्रो रकम फिर्ता गराउनुपर्छ ।’ 

स्वास्थ्य मन्त्रालयले विराट मेडिकल कलेजसँग गत १२ वैशाख र काठमाडौं मेडिकल कलेजसँग १९ वैशाखमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको थियो । सरकारले ६ वैशाख ०७८ देखि निजी स्वास्थ्य संस्थासँग कोभिड– १९ केयर युनिट सञ्चालनसम्बन्धी सम्झौता गरी निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो । हालसम्म ८६ अस्पतालले सम्झौता गरेका थिए । सम्झौता गरिएका अस्पतालमा संक्रमितको निःशुल्क उपचारमा भएको खर्च स्वास्थ्य मन्त्रालयले व्यहोर्ने गर्छ ।

सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार निःशुल्क उपचार गर्दा आइसोलेसनमा बसेका संक्रमितका लागि दैनिक प्रतिव्यक्ति तीन हजार पाँच सय, एचडियूमा भर्ना हुँदा सात हजार र आइसियू/भेन्टिलेटरमा राखिएका बिरामीको दैनिक १५ हजार रुपैयाँ शुल्क तोकेको थियो । आइसोलेसनमा बसेका संक्रमितको हकमा सरकारले १० दिनभन्दा बढी बसेको रकम दिँदैन । एचडियू, आइसियू र भेन्टिलेटरमा बसेकाहरूको अस्पताल बसाइअनुसारको रकम भुक्तानी हुन्छ । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले निजी अस्पतालहरूमा ‘महामारीको समयमा लुटिहालौँ’ भन्ने मनोवृत्ति देखिएको बताए । ‘निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्दा दोहोरो ठगी गरेको पुष्टि भएपछि अहिले सबै रकम रोक्का गरेका छौँ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा यो महामारीको समयमा लुटिहालौँ भन्ने मनोवृत्ति रहेको पाइयो । तर, कतिपय मेडिकल कलेज र अस्पतालहरूले राम्रो गरेका छन् । उनीहरूविरुद्ध कुनै उजुरी परेको छैन,’ उनले भने । 

काठमाडौं मेडिकल कलेजको रेकर्ड शाखाकी प्रमुख सपना रजकले कम्प्युटरमा अपडेट गर्दा केही तथ्यांक बिग्रिएको हुन सक्ने बताइन् । ‘हामीलाई इन्चार्जहरूले जे फाइलमा पठाउँछन् त्यही रेकर्ड उल्लेख गर्ने हो । अहिले हामीले तीन दिन बसेकालाई ४१ दिन बनाएजस्तो लाग्दैन । अपडेट गर्दा नेटमा समस्या भएकाले बढी देखिन गएको पनि हुन सक्छ,’ उनले भनिन्, ‘त्यस्तो साह्रो बढी दिन उल्लेख भएजस्तो मलाई लाग्दैन । तर, हामी एकपटक पुनः भेरिफाई गर्नेछौँ ।’ 

सम्झौता रद्द
सम्झौता पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी सबै निजी अस्पताल र मेडिकल कलेजसँगको निःशुल्क उपचार गर्नेसम्बन्धी सम्झौता खारेज गरेको छ । सहमतिविपरीत बिरामीसँग चर्को रकम असुल्ने र झुटो तथ्यांक राखेर मन्त्रालयमा रकम दाबी गरेको प्रमाण फेला परेपछि सम्झौता रद्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले बिरामीले रकम तिरिसकेको हकमा छुट्टै निर्णय नहुँदासम्म बोल्न नसकिने बताए । ‘हामी तत्कालचाहिँ बदमासी गरेका अस्पतालको रकम रोक्का गर्छौँ,’ सहप्रवक्ता अधिकारीले भने, ‘हामीले सरकारी अस्पतालहरूले मात्रै पुगेन भनेर निजी मेडिकल कलेज र अस्पतालसँग सम्झौता गरेका थियौँ । अब जनता मर्कामा पार्ने अमूक संस्थालाई फाइदा पुग्ने गरी सरकारले सम्झौता गर्दैन ।’


के भन्छन् डिस्चार्ज भएका बिरामी ?

हाम्रो नाममा ठगी भइरहेको रहेछ : हिरा महर्जन, बिरामीका बुबा

कोरोना संक्रमण भएपछि हामीलाई कसरी बाच्ने भन्नेमा ध्यान गयो । निःशुल्क वा सशुल्क भन्ने सोच्न सकिएन । हामीलाई निःशुल्क उपचार हुन्छ भन्ने कुरा थाहा थिएन । सरकारसँग कोरोना संक्रमितको उपचार निःशुल्क गर्छु भनेर सम्झौता गरेपछि त्यो अस्पतालले जान्ने कुरा हो । काठमाडौं मेडिकल कलेजमा तीन दिन भर्ना भएर उपचार गरेको सबै कागज हामीसँग छ । त्यसमा पनि हाइकेयर युनिटमा बसेको ६५ हजार रुपैयाँ तिरेका छौँ । मन्त्रालयबाट तपाईंहरू ४५ दिन अस्पताल बसेको विवरण आएको छ भनेपछि हामी आश्चर्यमा छौँ । हाम्रो नाम भजाएर यस्तो ठगी भइरहेको रहेछ । बरु, तीन दिनपछि केएमसीबाट छोरालाई नेपाल मेडिसिटी अस्पताल लगेर उपचार गराएका हौँ । त्यहाँ २४ दिन उपचार गरेपछि मात्रै छोरो ठीक भयो ।
 
सरकारले हाम्रो लागेको रकम फिर्ता गराउनुपर्छ : कृष्णप्रसाद भण्डारी डिस्चार्ज बिरामी

म आफैँमा शारीरिक अपांगता भएको व्यक्ति हुँ । संक्रमण भएपछि केएमसीमा भर्ना भएँ । चार दिनको उपचारपछि २० हजार तिरेर घर फर्केको हुँ । कोरोनाको उपचार गर्दा निःशुल्क वा कुनै छुट छैन भन्दा अस्पतालमा छुट नभएको जवाफ दिएपछि मेरो दाइले रकम तिर्नुभएको हो । तर, अहिले मेरो नाममा केएमसीले निःशुल्कमा उपचार गरेको र ४१ दिन अस्पताल बसेको विवरण पेस गर्दै स्वास्थ्य मन्त्रालयमा रकम दाबी गरेको सुन्दा दुःख लागेको छ । सरकारले उपचारमा लागेको हाम्रो रकम फिर्ता गराउनुपर्छ । 

धम्क्याएर मनलाग्दी परीक्षण गराए : नवीन राई बिरामीका साढु

काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा एक लाख ७५ हजार रुपैयाँ सकियो । १० दिन अस्पतालमा बस्यौँ । अस्पतालले दिनको पाँच हजार चार्ज, औषधि र अन्य खर्च बेग्लै लाग्ने भनेको थियो । हामीसँग नाइँ भन्ने ठाउँ पनि थिएन । 

आठवटा रेम्डेसिभिर औषधिसमेत चलाउन भन्यो । खोलमै ६५ सय रुपैयाँ भनेर लेखिएको थियो । बिरामीको तीनपटक रगतको जाँच गरियो । हामीले किन यति धेरै जाँच गराएको भन्दा अस्पतालका कर्मचारीले धम्क्याए । उनीहरूले बिरामी लिएर बार्गेनिङ गर्न आएको कि उपचार गर्न भनेपछि हामी चुप लागेर लागेको खर्च तिरेर आयौँ । अहिले जानकारी भयो निःशुल्क उपचार गरेको भन्दै हाम्रो नाम पठाएर स्वास्थ्य मन्त्रालयमा पनि ४४ दिन बसेको भन्दै रकम क्लेम गरेको रहेछ ।

निजी अस्पतालहरूमा महामारीको वेला लुटिहालौँ भन्ने प्रवृत्ति देखियो : डा. समीर अधिकारी  सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय
निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्दा दोहोरो ठगी गरेको पुष्टि भएपछि सबै रकम रोक्का गरेका छौँ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा यो महामारीको समयमा लुटिहालौँ भन्ने मनोवृत्ति रहेको पाइयो । तर, कतिपय मेडिकल कलेज र अस्पतालले राम्रो गरेका छन् । उनीहरूविरुद्ध कुनै उजुरी परेको छैन । 

अहिले मन्त्रालयले निजी अस्पतालमा सेवा लिएका बिरामीसँग ‘क्रस चेक’ गर्न सुरु गरेको छ । सबैमा फरक–फरक बदमासी देखिएको छ । समग्रमा भन्दा नेपाल सरकारले तोकेअनुसारको सेवा प्रवाह भएको छैन ।