मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार १४ सोमबार ११:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपीडितलाई अमेरिकाबाट १३ लाखबराबरको राहत सहयोग

Read Time : > 1 मिनेट
२०७८ असार १४ सोमबार ११:४९:००

केही दिनअघि वर्षासँगै आएको बाढीले करोडौँको भौतिक क्षति पुर्‍याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मर्स्याङ्दी नदीलगायत अन्य सहायक खोलाहरूमा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । 

जिल्लाका बाढीपीडितकोे घाउमा मल्हम लगाउन अमेरिकाबाट १३ लाखबराबरको राहत सामग्री सहयोग आएको छ । मनाङको तिल्चे माइती, सोलुसल्लेरी घर भई अमेरिकामा बसोवनस गर्दै आएकी चुण्डी शेर्पा र उनका  श्रीमान् ङिमा शेर्पाको पहलमा संकलित रकमबाट मनाङका बाढीपहिरोपीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो ।

शेर्पादम्पतीले अमेरिकामा रहेका नेपालीसँग आर्थिक संकलन गरी पीडितका लागि राहत पठाएको समाजसेवी माया गुरुङले बताइन् । उनका अनुसार नासोँ गाउँपालिका– १ ताल, नासोँ गाउँपालिका– ३ धारापानी, नासोँ गाउँपालिका– ६ र ७ तिल्चे र चामे गाउँपालिकाका पीडितका लागि राहत सामग्री प्रदान गरिएको हो । शेर्पादम्पतीले मनाङको थोचें माइती घर भई काठमाडौंमा बसोवास गर्दै आएकी समाजसेवी माया गुरुङको समन्वयमा पीडितलाई सहयोग पठाएका हुन् । 

पूर्वराज्यमन्त्री गुरुङद्वारा सोलारबत्तीसहित राहत सामग्री वितरण
संविधानसभाका सदस्य एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ राहत लिएर गृहजिल्ला मनाङ पुगेका छन् । गुरुङले पीडितको समस्या बुझ्नुका साथै सोलारबत्ती, औषधि, त्रिपाललगायतका राहत सामग्रीसमेत उपलब्ध गराएका छन् । पूर्वराज्यमन्त्री गुरुङसँगै कांग्रेस नेतासमेत रहेका प्रदेश सांसद चिन्ताबहादुर घले, कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङ, कांग्रेस युवा नेता एवं मनाङका पर्यटन व्यवसायी विनोद गुरुङलगायतको टोली बाढीग्रस्त क्षेत्रको अवलोकनका साथै पीडितलाई राहत वितरण गरेका हुन् । 

उनले भौतिक संरचनाका साथै राहतका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, पूर्वराज्यमन्त्री गुरुङले सदरमुकाम चामेपछि तिमाङ, घेलानचोक, ताँचै, नाँचैं तिल्चे, धारापानी र ताल पुगी स्थानीयलाई राहत सामग्री वितरण गरेका छन् । यस्तै, विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद कर्मा घलेले राहतस्वरूप औषधिसमेत बाढी प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरेका छन् ।