मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रदेश अस्पताल सुर्खेतमा जडान गरिएको भेन्टिलेटर
श्याम खतिवडा सिन्धुली
नवदीप अजनवी नुवाकोट
करण ताम्राकार डडेल्धुरा
२०७८ असार १४ सोमबार ०६:४५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहयोगीले भेन्टिलेटर दिए, तर चलाउन सरकारले जनशक्तिसमेत दिएन

कोभिडका बिरामीको उपचार सहज बनाउन सरकारले जिल्ला अस्पतालहरूलाई भेन्टिलेटर पठायो, तर दक्ष जनशक्ति अभावमा प्रयोगमा आउन सकेनन्

Read Time : > 4 मिनेट
२०७८ असार १४ सोमबार ०६:४५:००

नेपालमा कोरोना महामारीको सुरुवातपछि दातृ निकाय र राष्ट्रहरूले दिएका भेन्टिलेटर सञ्चालनमै समस्या देखिएको छ । दक्ष जनशक्तिको अभावमा कोभिडका बिरामी उपचार गर्ने अस्पतालहरूमा रहेका भेन्टिलेटरसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

जनशक्ति नहुँदा कतै सञ्चालनमा आउन सकेका छैनन् भने कतै भेन्टिलेटर पटक–पटक बिग्रने गरेका छन् । जिल्ला अस्पतालमै भेन्टिलेटर भए पनि जनशक्ति नहुँदा कोरोनाका जटिल बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यतामा केही जिल्ला स्वास्थ्य कार्यालय छन् ।

 एक विज्ञ चिकित्सकको भरमा तीन भेन्टिलेटर 
संघीय सरकारले बागमती प्रदेश सरकारलाई सातवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । ती भेन्टिलेटर प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमातहतका विभिन्न जिल्ला अस्पताललाई बाँड्यो । तर, जनशक्ति अभावमा सञ्चालन हुन सकेनन् । हेटौँडा र नुवाकोट अस्पताललाई दुई–दुई तथा धादिङ, चरिकोट र सिन्धुली अस्पताललाई एक–एकवटा भेन्टिलेटर उपलब्ध गराइएको थियो । जनशक्तिको अभावसँगै अक्सिजन प्लान्ट नहुँदा चरिकोटमा भेन्टिलेटर थन्काउनुको विकल्प रहेन । चरिकोट अस्पतालमा हालसम्म भेन्टिलेटर जडान गरिएको छैन । 

सिन्धुली अस्पतालमा रहेका तीनवटा भेन्टिलेटर चलाउन एकजना जनशक्ति छ । पूर्ण रूपमा सञ्चालन गर्न जनशक्तिको चरम अभाव छ । एक विज्ञ चिकित्सक र एक नर्सका भरमा भेन्टिलेटर सञ्चालन गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधानले बताए ।

‘बागमती प्रदेश सरकारले दिएको एउटा र अस्पताल आफैँले खरिद गरेको दुईवटा भेन्टिलेटर कोभिड युनिटमा सञ्चालनमा छन्,’ उनले भने, ‘तर, एकजना फिजिसियनको भरमा भेन्टिलेटर चलाउनुपरेको छ ।’ नुवाकोटको त्रिशूली अस्पतालमा रहेको भेन्टिलेटर पटक–पटक बिग्रने गरेको छ । जसका कारण उपचार सेवा प्रभावित हुने गरेको छ । पटक–पटक बिग्रिएर बाहिर बनाउन लैजानुपर्ने भएपछि गत साता मात्रै अस्पतालले प्राविधिक नियुुक्ति गरेको छ । ‘सहयोगमा पाइएको भेन्टिलेटर समय–समयमा बिग्रिरहने र समस्या देखापरिरहने भएपछि दुई साताअघि प्राविधिक नियुक्ति गरेका छौँ,’ मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले भने । 

हेटौँडा अस्पतालमा भने भेन्टिलेटर सञ्चालनमा समस्या देखिएको छैन । आवश्यकतालाई मध्यनजर गर्दै बिरामीको अवस्था बुझेर मात्र भेन्टिलेटर चलाउने गरिएको अस्पताल विकास समिति सदस्य उत्सव चौलागाईंले बताए । 

 झापाका तीन अस्पतालले भेन्टिलेटर पाए, तर छैनन् जनशक्ति
सरकारले गत वर्ष झापाको मेची अस्पताल भद्रपुरलाई तीन, दमक अस्पताललाई एक र प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेलाई एउटा भेन्टिलेटर उपलब्ध गराएको थियो । मेची र दमक अस्पतालले भन्टिलेटर जेनतेन चलाइरहेका छन्, तर प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेले प्राविधिक त्रुटि रहेको भन्दै सञ्चालनमा ल्याएको छैन । 

मेची अस्पतालमा प्राप्त तीनवटा भेन्टिलेटर मेची कोभिड अस्पतालमा जडान गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाह्राकोटी जनशक्ति अभावमा सञ्चालन गर्न निकै मुस्किल रहेको बताउँछन् । ‘पारामेडिक्स कम हुँदा गाह्रो भएको छ । भेन्टिलेटर चलाउन एक बेडमा एकजना नर्स चाहिन्छ । तर, १५ बेडमा दुईजना नर्सले काम गरिरहनुपरेको छ । यस्तोमा जसोतसो भेन्टिलेटर चलाएका छौँ ।’

दमक अस्पतालले पनि गत वर्ष सुरु गरेको दमक कोभिड अस्पतालमा भेन्टिलेटर जडान गरेको छ । तर, एनेस्थेसिया डाक्टर अभाव रहेको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन् । ‘भेन्टिलेटर जडान गरेका छौँ । तर, जनशक्ति अभावले धेरै मुस्किल परेको छ । आम्दा अस्पतालबाट एनेस्थेसिया डाक्टर आएर चलाउन सहयोग गरिरहनुभएको छ,’ उनले भनिन् । प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेले भेन्टिलेटर चलाउनै सकेको छैन । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव रिजालले प्राविधिक समस्या र जनशक्तिको अभावले सञ्चालन गर्न नसकिएको जानकारी दिए । 

 जिल्ला अस्पताल संखुवासभा भेन्टिलेटरविहीन
पूर्वी पहाडी जिल्ला संखुवासभाको जिल्ला अस्पताल भेन्टिलेटरविहीन छ । संघीय सरकारले जिल्ला अस्पतालमा एउटा भेन्टिलेटर पठाएको छ भने पनि अस्पतालमा भेन्टिलेटर पुगेको छैन । केही समयअघि नै स्वास्थ्य मन्त्रालयले भेन्टिलेटर पठाएको भनिए पनि जिल्ला अस्पतालमा नआएको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए । बरु, चालू आर्थिक वर्षको अन्त्यतिर स्वास्थ्य मन्त्रालयले दुई थान भेन्टिलेटर खरिद गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरेर पठाएको छ । संखुवासभामा कोरोना संक्रमितहरूको दर उच्च छ । तर, सुविधासम्पन्न उपचारको अभावमा महँगो हेलिकोप्टर शुल्क तिरेर बिरामीलाई विराटनगर वा काठमाडौं लैजानुपर्ने यहाँका बासिन्दाको बाध्यता बनेको छ ।

कर्णाली प्रदेशका दुई ठूला अस्पतालमा मात्र भेन्टिलेटर प्रयोग
कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये दुई जिल्लामा मात्र भेन्टिलेटर र आइसियू बेड प्रयोगमा आएका छन् । भेन्टिलेटर र आइसियू बेड चलाउने दक्ष जनशक्ति नहुँदा अन्य अस्पतालका बिरामी मर्कामा छन् । कर्णालीका १० जिल्लामा भेन्टिलेटर र आइसियू बेड भए पनि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मात्र भेन्टिलेटर र आइसियू बेड सञ्चालन गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए ।

‘कर्णालीमा भेन्टिलेटर र आइसियू बेड सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव छ,’ उनले भने, ‘त्यो चलाउन एक चरण स्वास्थ्यकर्मीलाई तालिम दिएका थियौँ, उहाँहरूले पनि चलाउन सक्नुभएन् ।’ इन्टरनल मेडिसिन र एनएस्थिसियोलोजिस्ट चिकित्सकको आवश्यक पर्ने भएका कारणले भेन्टिलेटर र आइसियू बेड सञ्चालनमा आउन नसकेको निर्देशक डा. खड्काले बताए । 

कर्णाली प्रदेशमा भेन्टिलेटर र आइसियू सञ्चालन गर्न जम्मा ६ चिकित्सक रहेको निर्देशक डा. खड्काले जानकारी दिए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुईजना चिकित्सकले भेन्टिलेटर र आइसियू बेड सञ्चालन गर्नुहुन्छ’ उनले भने, ‘अन्य जिल्लामा भेन्टिलेटर र आइसियू बेड चलाउने दक्ष जनशक्ति छैनन् ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आठवटा आइसियू भेन्टिलेटर छन् ।  कालिकोटको जिल्ला सदरमुकाम मान्ममा सञ्चालन गरिएको कोरोनाविशेष अस्पतालमा स्थापना गरिएका आइसियू र भेन्टिलेटर प्रयोगविहीन छन् । दक्ष जनशक्तिको अभावमा ती प्रयोगविहीन भएका हुन् । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य आर्थिक सहयोगमा स्थापना भएका आठवटा सघन उपचार कक्ष (आइसियू) र चारवटा भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् । जिल्लामै सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटर भए पनि कोरोनाका जटिल बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

आइसियू कक्ष नियमित रूपमा सञ्चालन गर्न कम्तीमा एक–एकजना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी गौरा घर्ती मगरले बताइन् । ‘जिल्लामा सघन उपचार कक्ष र भेन्टिलेटर भए पनि कोरोनाका गम्भीर बिरामीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतको प्रदेश अस्पतालमा पठाउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘दक्ष जनशक्तिको अभावले सञ्चालनमा ल्याउन समस्या भएको हो ।’ 

डडेल्धुरा अस्पतालमा  चारवटा मात्र सञ्चालनमा 
डडेल्धुरा अस्पतालमा संघीय सरकारले पाँचवटा भेन्टिलेटर खरिद गर्ने रकम दिए पनि चारवटा मात्र खरिद गरिएको छ । ०७७ फागुनमा डडेल्धुरा अस्पतालले चारवटा भेन्टिलेटर खरिद गरेको र कोरोनाको दोस्रो लहरका वेला जडान भई सञ्चालनमा आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए ।

स्वास्थ्य विभागले पाँचवटा भेन्टिलेटर खरिद गर्ने भने पनि अस्पतालले जनशक्ति अभावले चारवटा खरिद गरेको उनको भनाइ छ । डडेल्धुरामा कोरोनाको दोस्रो लहरका बेला स्वास्थ्य विभागले दिएको चारवटा भेन्टिलेटर सञ्चालनमा रहेको सुपरिटेन्डेन्ट विष्टले बताए । हाल अस्पतालमा एकजना एनेस्थेसिस्ट विशेषज्ञ छात्रवृत्ति करार कोटामा कार्यरत रहेको उनले बताए । एकजना मात्र एनेस्थेसिस्ट विशेषज्ञ भएकाले सबै भेन्टिलेटर सञ्चालनमा समस्या भएको उनको भनाइ छ । डडेल्धुरा अस्पतालमा दुइटा पोर्टेबल (एम्बुलेन्समा प्रयोग गर्ने सकिने), चारवटा ठूलो भेन्टिलेटर र १२ वटा आइसियू वाइम्यापसमेत सञ्चालनमा छ । 

 बाँकेमा महामारीपछि पाएका १६ मध्ये ६ मात्र सञ्चालनमा
भेरी अस्पताललाई प्राप्त १६ वटा भेन्टिलेटरमध्ये हाल सातवटा मात्र सञ्चालनमा छन् । अरू थन्किएका छन् । कोभिड महामारी सुरु हुनभन्दा पहिले बाँकेको भेरी अस्पतालमा चारवटा भेन्टिलेटर थिए । महामारीमा संक्रमितको संख्या बढ्न थालेपछि १६ वटा भेन्टिलेटर थपिएका थिए । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार प्रतिनिधिसभाका तत्कालीन सांसद मोहम्मद इस्तियाक राई र लुम्बिनी प्रदेश सरकारले दुई–दुई वटा भेन्टिलेटर अनुदानमा प्रदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा विभागले पनि एक–एकवटा भेन्टिलेटर अनुदानमा दिए । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट दुई र केन्द्र सरकारको बजेटबाट पाँच थान भेन्टिलेटर खरिद गरिएको अस्पतालका स्टोर शाखा प्रमुख अभिनाश गुप्ताले जानकारी दिए । तर, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) का अनुसार भेरी अस्पतालमा हाल १० वटा मात्र भेन्टिलेटर सञ्चालनमा छन् । पुराना चार र अनुदानमा आएका १६ मध्ये ६ गरी १० वटा भेन्टिलेटर सञ्चालनमा रहेका हुन् । अरु भेन्टिलेटर कहाँ छन् भन्ने टुंगो छैन ।