१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असार १३ आइतबार ०६:२३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालयका पुस्तकमा लापरवाही : कतै मूल्यसूचीमा कालोपोतो, कतै अनुमति नपाएका पुस्तक पढाइँदै

Read Time : > 3 मिनेट
२०७८ असार १३ आइतबार ०६:२३:००

नेपाली माध्यममै पढाउनुपर्ने विषय अंग्रेजीमा अनुवाद गरी बिक्री वितरण, पुरानै नक्सा छाप्ने प्रकाशन गृहलाई सोधियो स्पष्टीकरण

नयाँ शैक्षिक सत्र सुरु भएसँगै केही पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा मनलाग्दी पुस्तक बिक्री वितरण भएको पाइएको छ । कतै पुस्तकमा कालो पोतेर मूल्य बढाएको भेटिएको छ भने केही विद्यालयले स्वीकृति नै नपाएका पुस्तक पठनपाठन गराउने गरेका छन् । कतिपयले नेपाली माध्यममा पठाउनुपर्ने पुस्तक अंग्रेजीमा छपाइ गरेरसमेत पढाएका छन् । केहीले कलिला बालबालिकालाई आवश्यकभन्दा धेरै पुस्तकको भारी बोकाएका छन् । 

पाठ्यपुस्तक अनुगमन समितिले गरेको अनुगमनमा पुस्तक छपाइमा विकृति, अभिभावकलाई शुल्कमा भार तथा बालबालिकालाई धेरै पुस्तक पढ्न लगाएर अनावश्यक तनाव थपिएको पाइएको हो । समितिले शनिबार नयाँबानेश्वर र भोटाहिटीका केही पुस्तक पसलमा अनुगमन गर्नेक्रममा यस्तो विकृति भेटिएको हो ।

अनुगमनमा सहभागी समिति सदस्य तथा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेको, कतिपयले पुरानै पुस्तक पढाएको, कतिपयले पुस्तकमा फोर कलरको मूल्य राखेर ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिरसमेत राखेको पाइएको जानकारी दिए । उनका अनुसार अुनगमनका क्रममा रोजबड स्कुलले कक्षा १ मा १० वटा पुस्तक पढ्न लगाउने गरेको पाइएको छ । सरकारले कक्षा १ मा चार विषयको पाठ्यक्रम बनाएको छ । अभिषेक पुस्तक पसलमा दिएको किताबको सूचीमा रोजबडमा पढ्ने बालबालिका लागि १० वटा पुस्तक किन्नुपर्ने बाध्यता छ । सोही स्कुलका कक्षा २ का विद्यार्थीले नौवटा पुस्तक किन्नुपर्ने बाध्यता छ । ७–८ वटा पुस्तकको सूची हुने विद्यालयको संख्या धेरै छ । 

ओएसिस पब्लिकेसनको कक्षा ८ को साइन्स एन्ड इन्भाइरोमेन्ट पुस्तकमा कालो पोतेर बिक्री भइरहेको पाइएको छ । अनुगमन समितिका अनुसार बारकोडमा कालो पोतेर नयाँ मूल्य राखिएको छ । भण्डारीका अनुसार तोकिएको मूल्यभन्दा प्रतिपेज १८ पैसा बढी लिइएको छ । 

‘फोर कलर’ पुस्तकमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर
फोर कलर पुस्तकमा पनि ब्ल्याक एन्ड ह्वाइट तस्बिर राखेकोसमेत पाइएको छ । नैतिकता सिकाउने पुस्तकमै यस्तो अनैतिक काम भएको पाइएको समिति सदस्य भण्डारीले बताए । सञ्जीवनी मोरल एजुकेसन पुस्तकमा लालिगुराँस, नेपालको राष्ट्रिय झन्डा, नेपालको नक्सा ब्ल्याक एन्ड ह्वाइटमा प्रकाशित गरेको अनुगमनका क्रममा पाइएको हो । 

नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक अंग्रेजी माध्यममा अनधिकृत रूपमा छपाइ र वितरण

सरकारले नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनका लागि नेपाली भाषामा अध्ययन र परीक्षासमेत नेपाली माध्यममा गर्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यस्तो विषयमा समेत अंग्रेजीमा तयार गरेर अध्यापन भइरहेको पाइएको छ । एसबी पब्लिकेसन र संगम पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘हाम्रो सेरोफेरो’ नेपाली माध्यममा जे छ, त्यही अनुवाद गरेर अंग्रेजी माध्यममा छपाइ गरी बिक्री गरेका छन् । उदाहरणका लागि ‘म र मेरो परिवार’ भन्ने नेपाली माध्यमको ‘मी एन्ड माई फेमिली’ भनेर पुस्तक तयार गरिएको छ । यस्ता पब्लिकेसनसमेत सरकारको कारबाहीमा परेका छैनन् । 

पाठ्यपुस्तकबाहेकका थप सामग्री पढाउनसमेत स्वीकृति लिनुपर्छ । तर, केही पब्लिकेसनले सरकारले नेपाली माध्यममा पढाउन तयार गरेका पुस्तक अनुवाद गरी अनधिकृत रूपमा अंग्रेजी माध्यममा पढाइरहेका छन् । कक्षा १ देखि ३ सम्मलाई समेट्ने गरी एसबी इन्टिग्रेटेड स्टडिज पार्ट १, पार्ट २ र पार्ट ३ गरी छपाइ र बिक्रीवितरण गरेको छ । पुस्तकको सुरुमै नेपाल विदेशमा अध्ययन गर्नेहरूका लागि नेपाली समाज र संस्कृति जान्न चाहनेहरूका लागि तयार गरेको उल्लेख गरेको छ । 

संगम पब्लिकेसनका सञ्चालक सहदेवप्रसाद सापकोटाले अघिल्लो वर्ष आफूले कक्षा १ का लागि नेपाली र विदेशमा बसेर पढ्नेहरूलाई लक्षित गरी पुस्तक प्रकाशित गरेको र यो वर्ष पुस्तक प्रकाशन नगरेको दाबी गरे । तर, एसबी पब्लिकेसनको पुस्तक वितरण गरेको भने स्वीकार गरे । ‘हामीले अघिल्लो वर्ष कक्षा १ का लागि मात्र छापेका थियौँ, अहिले एसबी पब्लिकेसनको कक्षा १ देखि ३ सम्मको पुस्तक वितरण मात्र गरेका हौँ । यी पुस्तक सरकारबाट स्वीकृति पाएका होइनन्,’ सञ्चालक सापकोटाले भने । यी पुस्तक प्रहरी विद्यालयमा समेत पढाइ हुने गरेको उनले बताए । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले नेपाली माध्यममा पढाउनुपर्ने र नेपाली माध्यममै परीक्षा लिइने सामाजिक अध्ययन विषयलाई समेत अंग्रेजी माध्यममा पढाउने गरेको पाइएको बताए । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले सामाजिक अध्ययन विषय नेपाली भाषामै हुनुपर्ने व्यवस्था गरेको उनको भनाइ छ ।

विद्यालयका पुस्तकमा पुरानै नक्सा 
काठमाडौंका केही पब्लिकेसनहरूले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नयाँ चुच्चे नक्साको सट्टा पुरानो प्रयोग गरी पाठ्यसामग्री तयार गरी बिक्रीवितरण गरेका छन् । केही पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेपछि सुधार गरेका छन् भने केहीले अहिले पनि खुला रूपमा यस्ता सामग्री बिक्रीवितरण गरिरहेको पाइएको छ ।

अक्सब्रिज पब्लिकेसन, कोसेली, रिडमोर पब्लिकेसनलगायतका पुस्तकमा पुरानै नक्सा प्रयोग गरेको पाइएको थियो । केन्द्रले कोसेली पब्लिकेसनलाई पुस्तकसहित कार्यालयमा आउन निर्देशन दिएको छ । रिडमोर पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको छ । अक्सब्रिज पब्लिकेसनको जेनरल नलेज पुस्तकमा नेपालको पुरानो नक्सा प्रयोग छ । सो पुस्तक धमाधम बिक्री भएको छ । यसरी अपडेट नगरेको पुस्तकलाई ठूला संस्थागत विद्यालयले समेत पढ्न लगाएका छन् । रिडमोर पब्लिकेसनले स्टक भन्दै पुरानो नक्सा भएको पुस्तक बिक्री गर्दै आएको छ । केन्द्रले स्पष्टीकरण सोधेपछि स्टकको पुस्तक रहेको र अब बिक्री नगर्ने जवाफ केन्द्रमा पठाएको छ । पैसाको लोभमा कलिला बालबालिकाको मनोविज्ञान बिगार्ने काम गरेको भन्दै आलोचनासमेत हुने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले केही समयअघि पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका थिए । 

जथाभावी गर्ने पब्लिकेसनविरुद्ध थप ‘एक्सन’ लिने निर्णयमा पुगेका छौं : अणप्रसाद न्यौपाने महानिर्देशक पाठ्यक्रम विकास केन्द्र

पुस्तकका सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रले दिएका निर्देशन केही पब्लिकेसनले पालन गरे पनि केहीले नगरेको पाइएको छ । जथाभावी गर्नेविरुद्ध थप एक्सन लिने निर्णय गरेका छौँ । थप अनुगमन टोली बनाएर अनुगमन गर्ने निर्णय गरेका छौँ ।

हामीले अनुगमन गर्दा केही विद्यालयले बढी पुस्तक प्रयोग गरेको, पुराना संस्करणका पुस्तक बजारमा ल्याएर बिक्री वितरण गरेकोसमेत पाइएको छ । नक्साको प्रयोगका विषयमा पनि केही समस्या छ । पुरानै नक्सा प्रयोग भएका पुस्तक पनि बिक्री भइरहेका छन् । केहीले त्यस्ता सामग्री रिप्लेस गरेको पाइयो भने केहीले पुरानै प्रयोग गरेको भेटिएको छ । 

केही विद्यालयले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नपाएका थप सामग्रीका रूपमा पुस्तक प्रयोग गरेको फेला परेको छ । कक्षा १ मा १० वटासम्म पुस्तक पढ्न लगाएर विद्यार्थीलाई भारी बोकाएका छन् । बढी पुस्तक किनाएर मानसिक रूपमा दबाब सिर्जना गर्न खोजेको पाइयो ।

साना बालबालिकालाई स्वत:स्फूर्त रूपमा सिकाउनेभन्दा थुपार्ने खालको देखियो । केही सामग्री स्वीकृति नपाएका पनि प्रयोग भएको पाइएको छ । पाठ्यपुस्तक र पाठ्यक्रमसँग सम्बन्धित मात्र थप सामग्री स्वीकृति दिने गरेका छौँ । तर, कतिपय विद्यालयले आफ्ना विद्यार्थीलाई फरक देखाउन मानसिक रूपमा दबाब दिएको पाइयो ।