मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार २७ आइतबार
  • Sunday, 11 July, 2021
आर्सिन अदिब–मोघदम
२०७८ असार ११ शुक्रबार ०७:१६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इब्राहिम रइसीको जितले इरानमा निम्त्याएको जोखिम 

Read Time : > 2 मिनेट
आर्सिन अदिब–मोघदम
२०७८ असार ११ शुक्रबार ०७:१६:००

राजनीतिज्ञका रूपमा रइसीसँग इरानको खण्डित राजनीतिक धरातललाई एक बनाउने क्षमता छैन

इरानको चुनावलाई विश्वले ध्यान दिएर हेर्ने गर्छ । त्यसैले उग्र–दक्षिणपन्थी इब्राहिम रइसीको चुनावी जितको खबर विश्व मिडियामा महत्वसाथ प्रसारण भयो । रइसीका पूर्ववर्ती हसन रुहानी धेरै मुद्दामा मध्यपन्थी विचारधारा लिन्थे, तर रइसी इरानको अति रुढिवादी र राजनीतिक रूपमा सुधारविरोधी स्थायी सत्ताको रुचिका नेता हुन् । इस्लामिक राज्य इरानको स्थायी सत्ता भन्नाले त्यहाँको शक्तिशाली इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प र सर्वोच्च नेता आयोतोल्लालाई जनाउँछ । 

उमेदवारको राजनीतिक र धार्मिक योग्यताको प्रमाणीकरण गर्ने देशको गार्जियन काउन्सिलले कैयौँ योग्य उमेदवारलाई अयोग्य नबनाएको भए रइसीको जित सहज हुने थिएन । उमेदवारी वितरणमा इरानको स्थायी सत्ताले हस्तक्षेप गर्दा दुईजना मात्र सुधारवादी चुनावमा उठ्न सक्षम भए । ती दुई नेताको पनि मतदातामा खासै प्रभाव थिएन । न्यून उमेदवारका कारण रइसी तथा रुढिवादी धारलाई फाइदा पुर्‍यायो । यसअघि सन् २०१७ को चुनावमा रइसी लोकप्रिय रुहानीसँग उलेख्य भिन्नताले पराजित भएका थिए । यसपटक रइसीलाई एक करोड असी लाखभन्दा बढी इरानी मतदाताको समर्थन देखियो । तर, चुनावमा अहिलेसम्मकै न्यून मतदाताको उपस्थिति रह्यो ।

सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून अर्थात् ४८.८ प्रतिशत मतदाताले मात्र मत खसाले । यसमा दुईवटा कारण जिम्मेवार रह्यो । पहिलो, मानिसमा रुहानीको शासन तथा उनले प्रतिनिधित्व गर्ने सुधारवादी राजनीतिप्रति असन्तुष्टि बढ्दै गएको थियो । तिनले वाचा गरेअनुरूपको सामाजिक सुधार तथा आर्थिक नीति कार्यान्वयन नभएपछि मानिसमा निराशा उत्पन्न हुन पुगेको थियो । दोस्रो, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा लिएको निर्णयले पनि भूमिका खेल्यो । ट्रम्पले अमेरिकालाई इरानी आणविक सम्झौताबाट निकालेर इरानमाथि प्रतिबन्ध लगाए । प्रतिबन्धले इरानको मध्यमवर्गको आयमा उलेख्य ह्रास भयो । सुधारवादी उमेदवारका मताधार मानिने यो हिस्साले यसपटकको चुनावमा अरुचि देखाएको स्पष्ट छ । 

निवर्तमान राष्ट्रपति हसन रुहानीको सम्पूर्ण राजनीतिक सफलता आणविक सम्झौतामा टिकेको थियो, तर रइसीलाई आफ्ना मतदातालाई खुसी पार्न सम्झौता गर्नैपर्ने बाध्यता छैन

यिनै परिस्थितिका कारण सन् २००५ मा अर्का रुढिवादी नेता महमुद एहमदिनेजाद निर्वाचित हुन सफल भएका थिए । उनीअघिका सुधारवादी नेता मोहम्मद खतामीको अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयासले खासै नतिजा नदिएको पृष्ठभूमिमा एहमदिनेजाद सत्तामा आएका थिए । दुवै चुनावमा दक्षिणपन्थीले सुधारवादीलाई बिकेका र अराष्ट्रिय देखाउन सफल भए । इरानमा धेरै मतदातामा जुनसुकै पक्षधरका नेता सत्तामा आए पनि राज्यको चरित्र उही हुन्छ भन्ने विश्वास बढ्दै गएको छ । यसपटकको चुनावमा न्यून मतदाताको सहभागिताका लागि यो विश्वासले पनि भूमिका खेल्यो । विश्वका अन्य भागमा जस्तै इरानमा पनि सुधार हुन्छ भने त्यो नागरिक समाजको प्रतिरोधको दबाबमा हुनेछ ।

तर, राज्यले प्रतिरोधी आवाजलाई निर्ममतापूर्वक दबाउने गरेको छ । दमनका बाबजुद पटक–पटक प्रतिरोध उठेको छ । पछिल्लो समय सन् २०१९ मा आमप्रतिरोधको लहर फैलिएको थियो, जुन कोरोना महामारीका कारण मत्थर हुन पुग्यो । अमेरिकामा डोनाल्ड ट्रम्पको चुनावपछि जसरी देशभर अस्थिरता बढेको थियो, रइसीको जितले पनि इरानी राज्यमा अस्थिरता उत्पन्न हुने प्रक्षेपण भइरहेको छ । राजनीतिज्ञका रूपमा रइसीसँग इरानको खण्डित राजनीतिक धरातललाई एक बनाउने क्षमता छैन । आयतोल्ला खमेनीले पनि यो जोखिमलाई बुझेझैँ गरेर केही उमेदवारहरूलाई अन्यायपूर्वक अयोग्य घोषित गरेको बताए । उनी पनि निर्वाचनमा मतादाताको न्यून उपस्थितिबाट चिन्तित भएजस्तो देखिन्छ । पूर्वसर्वोच्च नेता आयतोल्ला रुहोल्ला खमेनीले प्रणालीको लोकप्रिय वैधताको महत्वलाई स्विकारेका थिए । अहिलेका सर्वोच्च नेता खमेनी भने मक्किँदै गएको राजनीतिक बिरासतको असहाय प्रमुखजस्ता देखिएका छन् । 

रइसीमाथि इरानमा भएका केही गम्भीर मानवअधिकार उल्लंघनको घटनामा संलग्न भएको आरोप छ । यसैले उनी इरानमा सर्वस्वीकार्य छैनन् । खमेनीलाई यो तथ्य थाहा नभएको होइन । खमेनी आफ्नो रेखदेखमा रहेको शासन प्रणालीको वैधतामाथि प्रश्न उठ्न थालेकोबाट चिन्तित छन् । रइसीको चयनले बाँकी विश्वमा कस्तो असर पार्ला ? इरानको विदेश नीति विगतकै मार्गमा अघि बढ्नेछ भन्नेमा कुनै प्रश्न छैन । तर, निवर्तमान राष्ट्रपति रुहानीको जस्तो रइसीको राजनीतिक शक्ति आणविक सम्झौताबाट हासिल हुनेमा निर्भर रहनेछैन । त्यसैले उनलाई सम्झौताका लागि लचक हुनुपर्ने बाध्यता छैन ।

इरानले आफू विश्वमा एक्लो नहुनका लागि चीन र रुससँग वार्ता र सहकार्य बढाउनेछ । साथै, इरानले मध्यपूर्वका उसका मित्रशक्तिलाई निरन्तर सघाउनेछ । त्यसबाहेक पनि विकासोन्मुख देशमध्ये अलि शक्तिशाली मुलुकसँग पनि उसले सम्बन्ध विस्तारको प्रयास गर्नेछ । सम्बन्ध कायम राख्नेछ । तर, निवर्तमान राष्ट्रपति हसन रुहानीले विश्वमा इरानको जुन उदार छवि निर्माण गरेका थिए, रइसीले त्यसलाई अति रुढिवादी छविले विस्थापित गर्न सक्छन् । 

(मोघदम युनिभर्सिटी अफ लन्डनका प्राध्यापक हुन्) 
द कन्भरसेसनबाट