मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७८ असार १० बिहीबार १४:३९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ असार १० बिहीबार १४:३९:००

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाखको बजेट ल्याएको छ । महानगरपालिकाको नगर सभाको नवौँ अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।  

उपप्रमुख खड्गीले महानगरपालिकाको आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको बताइन् । ‘प्रस्तावित बजेटमा कोभिड– १९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गत वर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझाबहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको छ,’ उनले भनिन्, ‘२०७८ असार ६ गते पारित काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेका जिम्मेवारीहरू, पन्ध्रौँ योजनाले निर्दिष्ट गरेका सहरी विकास एवं अन्य विषयगत क्षेत्रका नीति, रणनीति र कार्यनीतिहरू, नेपाल सरकारको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बागमती प्रदेश सरकारका नीतिहरूलाई मध्यनजर गरी आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।’ 

आर्थिक वर्ष ०७८/७९ को बजेट तथा कार्यक्रममा संघ, प्रदेशले लिएका उद्देश्यहरूसमेत परिपूर्ति गर्न स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा  पूरा गर्न सघाउ पुर्‍याउने उद्देश्य लिएको उनले बताइन् । नेपालको संविधानले निर्दिष्ट गरेको शासकीय संरचनाबमोजिम स्थानीय सरकारलाई प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने, समतामूलक, सामाजिक न्यायमा आधारित भई सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गर्ने, महानगरवासीसमक्ष गरिएका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने उद्देश्य राखिएको प्रस्तावित बजेटमा उल्लेख छ ।

बजेटमा ती उद्देश्यहरू हासिल गर्न कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।  

महानगरपालिकाले आगामी  आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत बिमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको छ ।

महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपांगता भएका महानगरवासीहरूका लागि सहयोग, मानवअधिकार प्रवर्द्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि बजेट विनियोजन  गरेको छ भने आधारभूत सहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, उद्यमशीलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकुदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिकलगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।