मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ९ बुधबार १२:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मर्स्याङ्दीको बाढीले चामेको लोकप्रिय मावि र  बेलिब्रिज उच्च जोखिममा 

Read Time : < 1 मिनेट
२०७८ असार ९ बुधबार १२:१६:००

मनाङको सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमा आएको बाढीले चामेको लोकप्रिय मावि र बेलिब्रिज जोखिममा परेको छ । चामेमा गत शनिबारदेखि मनाङ जाने बेलिब्रिजमाथिबाट बाढी बगिरहेको थियो । मर्स्याङ्दीले बगाएर ल्याएका रूख र ठूलाठूला ढुंगा बेलिब्रिजमा अड्किएपछि नदीले धार परिवर्तन गर्दा विद्यालयसमेत उच्च  जोखिमा परेको हो ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आइतबारदेखि लगातार बेलिब्रिज जोगाउन सुरक्षाकर्मीको  टोली खटिएको बताए । मंगलबार राति भएको वर्षाका कारण मर्स्याङ्दी नदीको  बहाव बढेपछि   मर्स्याङ्दीले  धार परिवर्तन गरी विद्यालय भवनसमेत कटान सुरु गरेको छ  ।

उनका अनुसार ताल बनेको  मर्स्याङ्दी नदीबाट केही पानी बगे पनि बुधबार बिहान पुनः  मर्स्याङ्दी नदी चामेमा ताल बनेको छ । सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका  डिएसपी होमनाथ पन्थीले चामेमा बनेको ताल खुलाउन आफूहरू  शनिबारदेखि नै खटिए पनि  चामेमा मर्स्याङ्दी नदी ताल बन्दा जोखिममा परेको माथिल्लो मनाङ जाने बेलिब्रिजबाट पानी ओभरफ्लो भई बगेपछि नदी छेउमा रहेको भक्तपुर गाउँ पुन: डुबानमा परेको छ  ।

 

मर्स्याङ्दीमा पानीको बहाव बढेकाले जोखिम झन थपिएको पन्थीले बताए । नदीमा  बाढीको कुनै पर्वाह नगरी ज्यानकै बाजी राखेर सशस्त्रको सबै शक्ति ताल खुलाउन लागिपरे पनि ढुंगा र काठका मुडा बाढीले थुपारेकाले समस्या थपिएको पन्थीले बताए ।  मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका  अुनसार लोकप्रिय माविको केही भाग बाढीले बगाएको छ भने बेलिब्रिज  पुलको ट्रस्टमाथिबाट  पानी बगेको छ । जेठ ३१ रातिदेखि परेको वर्षाले मनाङमा ५६ घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ। दुई सय घर जोखिममा परेका छन्।