१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असार ९ बुधबार १०:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङको नार्पाभूमिमा हेलिकाेप्टरबाट कोरोना खोप लगियो

Read Time : > 1 मिनेट
२०७८ असार ९ बुधबार १०:४७:००

समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको मनाङको फु गाउँ र चार हजार दुई सय ८५ मिटर उचाइमा रहेको नार गाउँमा कोरोनाविरुद्धको खोप पुगेसँगै स्थानीयमा खुसी छाएको छ । 

अहिलेसम्म सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा हेलिकाेप्टरबाट कोरोनाविरुद्धको खोप लगिएको हो । मनाङ जिल्लाकै सबैभन्दा विकट गाउँपालिकामा सोमबार नेपाली सेनाको हेलिकाेप्टरमार्फत कोरोना खोप पुर्‍याइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । 

मर्स्याङ्दीको बाढीले कोतोबाट नार्पाभूमि जाने एक मात्र झोलुंगे पुल बगाएपछि नार र फु गाउँमा हेलिकाेप्टरबाट खोप पुर्‍याइएको हो । कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई लक्षित गरी नार्पाभूमिमा खोप लगिएको आचार्यले बताए ।  

नार्पाभूमि गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सोनाम घलेले दुर्गमका नागरिकको खोप लगाउन पाउने अधिकार सुनिश्चित गर्न विभिन्न निकायसँग समन्वय गरी सडक र पुल नहुँदा पनि नार्पाभूमिमा खोप पुर्‍याइएको बताइन् ।  कोरोनाविरुद्धको खोप लगाउन पाउँदा स्थानीय खुसी भएको उनले बताइन् । 

नार्पाभूमि गाउँपालिकामा यसअघि सदरमुकाम चामेबाट हिँडेर दुई दिनमा कोभिसिल्डको पहिलो मात्राको खोप लगिएको थियो । अहिले पनि हिँडेरै जेठ ३१ गतेदेखि खोप लगाउने कार्यक्रम भए पनि बाढीपहिरोका कारण खोप सेवा प्रभावित भएको थियो ।

मंगलबार फु गाउँमा २६ जनाले कोभिसिल्डको दोस्रो मात्रा र ३८ जनाले भेरोसिलको पहिलो मात्रा खोप लगाएका छन् । नारमा मंगलबार एक सय ४३ जनाले दोस्रो मात्राको कोभिसिल्ड खोप लगाएका छन् । नार्पाभूमि गाउँपालिका पहिलो मात्राको खोप लगाएका र विभिन्न कारणले दोस्रो मात्राको खोप लगाउन नपाएका एक सय ९० जना र पहिलो डोज नलगाएका एक सय ५० जनाले खोप लगाउनेछन् । मनाङमा यसअघि कोभिसिल्ड लगाएका एक हजार नाै सय ४८ जनाले दोस्रो डोज पनि लगाइसकेका छन् ।

मनाङ सडक र स्वास्थ्य सेवाको पहुँचबाट विकटमा रहेकाले जिल्लाका १८ वर्ष उमेरमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङबाट निर्वाचित प्रतिनिधिसभा (विघटित) सदस्य पोल्देन छोपाङ गुरुङले राहत सामग्री बोकेर ल्याएको सेनाको हेलिकाेप्टरबाट नार्पाभूमिमा खोप पुर्‍याइएको हो । 

सडक अवरुद्ध हुँदा खोप सेवा प्रभावित
मर्स्याङ्दीमा आएको बाढीले सडक भत्किनुका साथै पुल बगाएपछि नासोँ गाउँपालिकामा जेठ ३१ र असार १ गते खोप सेवा प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । यसअघि थोचेँ स्वास्थ्यचौकीमा राखिएको खोप नेपाली सेनाको हेलिकाेप्टरमार्फत ओडार आधारभूत स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

थोचेँ स्वास्थ्यचौकीमा बाढीले क्षति पुर्‍याएपछि ओडारमा राखिएको खोप एक सय २० जनाका लागि पुग्ने १२ भाइल कोभिसिल्ड खोप ताल स्वास्थ्यचौकीमा राखिएको छ । राहत र उद्धारका लागि मनाङ आएको हेलिकाेप्टरबाट मंगलबार ओडारबाट ताल स्वास्थ्यचौकीमा खोप लगिएको ताल स्वास्थ्यचौकीका इन्चार्ज धनबहादुर तामाङले बताए ।