१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार १९:३९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मणि थापा भन्छन्– ओलीबाट उपयोग भएको होइन, बृहत्तर कम्युनिस्ट आन्दोलन निर्माणमा साथ दिएका हौँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार १९:३९:००

एमाले नेता मणि थापाले आफूहरू प्रधानमन्त्री केपी ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिस्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताएका छन् । थापाले सोमबार पत्रकारसँग कुरा गर्दै आफूहरू प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीबाट उपयोग नभएको जिकिर गरे । 

उनले आफूहरू बृहत्तर कम्युनिस्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पूरा गर्न ओलीलाई साथ लिएको बताए । ओली र प्रचण्डले सुरु गरेको कम्युनिस्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रूपमा गल्ती नगरेको उनको भनाइ छ । उनले भने ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्‍याैँ। त्यो समर्थनका आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिस्ट आन्दोलन हामी बनाउन चाहन्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले सुरु गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहन्छौँ । त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएका होइनौँ । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीतिलाई विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरि नयाँ कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यति धेरै चिन्तित छैनौँ ।’

थापाले एमालेको एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताए । एकताका लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उनको भनाइ छ ।  उनले भने ‘पूर्वएमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिँदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरू कम्युनिस्ट घटकहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने मूल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरू आउँदैमा केही फरक हुँदैन । ठूलो डिबेटबाट फेरि कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

थापाले आफूहरू पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रस्ट पारे । पुरानो पार्टी तोडेर नयाँ कम्युनिस्ट पार्टी बनाउन आइसकेकाले अब पुरानो नभई नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले बताए । 

पूर्वएमालेको एकतामा पूर्वमाओवादीको समूह मिसिँदा कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हुनेमा उनले जोड दिए । उनले भने ‘पुरानो ठाउँमा फर्कन सक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो । हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिस्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरणचाहिँ जरुरी छ । त्यो ध्रुवीकरणको कोर्स कहाँबाट सुरु गर्नेभन्दा ठूलो जनाधार भएको कम्युनिस्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभा छ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिस्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने सुझाब दिएको पनि बताए । सर्वोच्चको फैसलापछि पुनर्गठन गर्दा राजनीतिक, कानुनी र नैतिक रूपले सही हुने निष्कर्षका साथ प्रधानमन्त्री ओलीलाई सुझाब दिएको भए पनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरूको असन्तुष्टि नरहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले आफूहरूको सहभागिताविना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने उनले बताए । उनले भने ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रूपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ । प्रधानमन्त्रीले लिएको निर्णयलाई स्वीकार गर्छौँ भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ । बालुवाटार कन्फ्युज छन्, उनीहरूले कन्फ्युजको राजनीति गर्न खोजिरहेका छन् भने, उनीहरूले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरूलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाब नमान्दा असन्तुष्टि पनि होइन ।’