मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ७ सोमबार ०८:४६:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

माल्दिभ्समा कोरोनाको प्रभाव : भारत र बंगलादेशबाट स्वास्थ्यकर्मी झिकाउने तयारी

Read Time : > 2 मिनेट
२०७८ असार ७ सोमबार ०८:४६:००

विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहँदा माल्दिभ्स युरोपियन तथा एसियन नागरिकको प्रमुख पर्यटक तथा होलिडे गन्तव्य बनिरहेको छ । हिन्द महासागरमा १२ सयभन्दा साना टापुले बनेको माल्दिभ्सले आफ्ना नागरिकलाई सुरक्षित राख्न कोरोना नियन्त्रण गर्न अति नै कडा नियम जारी गरेको छ । साथै, विदेशी पयर्टकलाई सबै प्रोटोकल पालना गरेपछि मात्र प्रवेश दिइएको छ ।

यसै कारण नै माल्दिभ्स सरकारले दक्षिण एसियामै कोरोनामुक्त भनी दाबी गरेको छ । तर, पछिल्लो डाटाअनुसार माल्दिभ्स यही विदेशीहरूको आगमनका कारण कोरोनाबाट निकै प्रभावित बनेको छ । दिनदिनै कोरोना संक्रमित संख्या बढिरहेको छ । शनिबार मात्र माल्दिभ्समा दुई सय ११ जना संक्रमित भएका थिए । एक साताभित्र औसत दुई सयको हाराहारीमै संक्रमित भइरहेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । २० मेको दिन यहाँ दुई हजार एक सय ९४ जना संक्रमित भए । यो एक दिन संक्रमित भएको संख्यामा अहिलेसम्मकै अधिक हो । 

विश्वभरि नै मार्च–अप्रिल महिना कोरोनाको दोस्रो लहर महामारीका रूपमा फैलिँदा माल्दिभ्सले विदेशी पयर्टकलाई निश्चित नियम पालना गरी घुम्न अनुमति दिएको थियो । यही समयकै मे महिनामा औसत नौ सयदेखि हजारजनासम्म संक्रमित रेकर्ड दर्ता भयो । माल्दिभ्सले जुनमा कोरोना नियन्त्रण गर्‍यो । तर, जुलाई महिना सुरु भएदेखि नै संक्रमित बढिरहेको छ । माल्दिभ्स सरकार पछिल्लो कोरोना संक्रमित संख्या देखेर चिन्तित छ । 

एकातिर संक्रमित बढिरहेको छ भने अर्कोतिर माल्दिभ्समा चिकित्साकर्मीको अभाव देखिएको छ । सिंगो माल्दिभ्सकै तीन सय बेड भएको अस्पतालमा नर्सहरूको कमी छ । माल्दिभ्समा एउटा मात्र सुविधासम्पन्न अस्पताल छ । अस्पतालमा उपचार गर्न आउने संक्रमित बिरामीलाई कुनै कमी छैन । सबै किसिमको सुविधा उनीहरूले पाइरहेका छन् । बिरामीले २४ घन्टा नै अक्सिजन पाइरहेका छन् । 

राजधानी मालेस्थित स्वास्थ्य केन्द्रका प्रमुख मारिया सैदले अस्पतालमा २० बिरामीबराबर एकजना मात्र नर्स भएको बताएका छन् । ‘हामीसँग जनरल वार्डमा २० बिरामीलाई हेर्न केवल एकजना मात्र नर्स छन्, यस्तो जटिल अवस्थामा हेरचाह गर्न जनशक्ति धेरै चाहिन्छ,’ समस्या बताउँदै उनले भने । पाँच लाख ४० हजार जनसंख्या भएको माल्दिभ्स मुख्यतः भारत र बंगलादेशका स्वास्थ्यकर्मीमै निर्भर रहेको सैदले बताएका छन् । कोरोना नियन्त्रण लिन र अस्पतालमा संक्रमित हेरचाह निमित्त सरकारले बंगलादेश र भारतबाटै स्वास्थ्यकर्मी झिकाउने तयारी गरेको उनले जानकारी दिएका छन् । अहिले सरकार ४० डाक्टर र सय नर्स नियुक्त गर्ने तयारीमा छ । 

 चीनले लगायो एक अर्ब डोज खोप
चीनमा कोरोना भाइरसविरद्ध लड्न एक अर्बभन्दा बढी खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड खोप लगाएको छ । चीनमा गत मार्चदेखि खोप अभियान व्यापक बनेको छ ।

पहिलो चरणमा २५ दिनको अवधिलाई आधार मानेर दश करोडबाट २० करोड खोप अभियान चलाएको थियो । पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । खोप अभियान अझ तीव्र बनाइएसँगै ६ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो ।

चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोप क्लिनिकल परीक्षणमा छन् । तीमध्ये चार खोपलाई सर्तसहित मार्केटिङको अनुमति दिइएको छ । तीन किसिमका खोपले चीनमा आपत्कालीन प्रयोगका लागि अनुमति पाएको छ । चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथि उमेरका व्यक्तिलाई समेटिएको छ ।

तर, तीनदेखि १७ वर्ष उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ । आयोगका उपप्रमुख जेङ इक्सिनले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत लक्षित जनसंख्याले खोप पाइसक्ने जनाए । खोप लगाएका व्यक्तिमा कुनै पनि समस्या नदेखिएको बताउँदै इक्सिनले चिनियाँ खोप सुरक्षित रहेको दाबी गरेका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षण अन्य नियमित खोपमा झैँ सामान्य रहेको उनको भनाइ छ । 

अष्ट्रेलियामा तत्काल सिमाना खुला नहुने 
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला नगर्ने संकेत गरेको छ । अष्ट्रेलियाका व्यापारमन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला गर्न अष्ट्रेलियालाई हतार नभएको स्पष्ट पारेका छन् । सिमाना खुला गर्नु उचित हुने वा नहुने सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल भइरहेको व्यापारमन्त्री टेहानले जानकारी दिएका छन् । सिमाना अहिले नै खुला गर्न हतार गर्न नहुने सुझाब अधिकांश विज्ञ तथा सरोकारवालाले दिएका छन् । विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्त पूरा गरेर हवाई यात्रुलाई अष्ट्रेलियाले आवतजावत गर्न दिएको छ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाबीच हवाई सेवा गत अप्रिलदेखि खुला गरिएको छ । तर, सबै देश तथा क्षेत्रलाई अस्टे«लियासँगको सिमाना खुला गर्न भने अस्वीकार गरिएको छ । कोरोना भाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापारमन्त्री टेहानले बताए ।