मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ६ आइतबार ०५:३५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस संस्थापन पक्षबाट सभापतिको उम्मेदवार को ?

Read Time : > 3 मिनेट
२०७८ असार ६ आइतबार ०५:३५:००

सर्वसम्मत बन्ने देउवाको कोसिस, निधिको चुनौती

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस गरेका छन् । 

शेरबहादुर देउवा, सभापति

कांग्रेसले संविधान जारी गरेपछि मेरो नेतृत्वमा संविधान कार्यान्वयनका काम सुरु भए । मैले तीन तहको चुनाव गराएँ । हामीले कम सिट जित्यौँ । तर, पहिलेभन्दा लोकप्रिय मत पाएका थियौँ । अब पार्टीलाई मुलुकको पहिलो पार्टी बनाउनुपर्नेछ । मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा हिँडाउनुपर्नेछ । त्यसैले एकपटक मैले नै सभापतिमा उम्मेदवारी दिने सोचेको छु । तपाईंहरूको राय के छ ? मलाई सहयोग गर्नुपर्‍यो ।

पार्टी राजनीति र संसद्मा विपक्षीको भूमिकामा कमजोर देखिएको भन्दै आलोचित कांग्रेस सभापति देउवाले १४औँ महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने आकांक्षा नेताहरूबीचको अनौपचारिक बैठकमा व्यक्त गरेका छन् । उनले पछिल्लोपटक महाधिवेशनको मिति हेरफेर गरेलगत्तै आफ्नो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने कसरत थालेका हुन् । 

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकले संवैधानिक संकटको अवस्था भन्दै आगामी १६ देखि १९ भदौसम्म महाधिवेशनको मिति तोकेको थियो । अर्को दिन शनिबार देउवाले प्रदेशगत रूपमा निकट नेताहरूलाई बोलाएर पार्टीको सभापतिमा पुनः आफ्नो उम्मेदवारीबारे छलफल गरेका छन् । तल्ला तहमा आफ्नो समूहको अवस्था र महाधिवेशन तयारीबारे जानकारी लिँदै देउवाले सभापतिमा लड्ने आंकक्षा व्यक्त गरेका हुन् । 

शनिबार देउवाले उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री सुनीलबहादुर थापा र प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदेम्बे, मीन विश्वकर्मा, सीता गुरुङ, सुजाता परियार, डा. डिला संग्रौला, बाबुराम बस्नेतलगायत थिए भने प्रदेश २ बाट जंगीलाल राय र शम्भुलाल श्रेष्ठ सहभागी थिए । 

सो क्रममा नेताहरूसमक्ष देउवाले आफू पुनः पार्टीको सभापति बन्ने चाहना व्यक्त गरेको छलफलमा सहभागी नेताहरूले बताएका छन् । देउवाले गुटबाट आफू सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने वातावरण बनाउन नेताहरूसँग छलफल थालेको सहभागी एक नेताले बताए । 

उपसभापति विमलेन्द्र निधिले डेढ वर्षअघि नै देउवालाई भेटेर यसपटक आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए । आफ्नै गुटबाट उपसभापति निधिले सभापतिमै इच्छा देखाएपछि देउवामाथि दबाब छ । देउवाले भने उपसभापति निधिसँग यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘कांग्रेसले संविधान जारी गरेपछि मेरो नेतृत्वमा संविधान कार्यान्वयनका काम सुरु भए । मैले तीन तहको चुनाव गराएँ । हामीले कम सिट जित्यौँ । तर, पहिलेभन्दा लोकप्रिय मत पाएका थियौँ । अब पार्टीलाई मुलुकको पहिलो पार्टी बनाउनुपर्नेछ । मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा हिँडाउनुपर्नेछ,’ देउवाले भनेको उद्धृत गर्दै एक नेताले भने, ‘त्यसैले एकपटक मैले नै सभापतिमा उम्मेदवारी दिने सोचेको छु । तपाईंहरूको राय के छ ? मलाई सहयोग गर्नुपर्‍यो ।’ 

तर, जवाफमा निधिले पनि यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘हामीले तपाईंलाई सहयोग गर्दै आएकै छौँ । अब मेरो पनि उमेर भयो । भोलि १५औँ महाधिवेशनमा अरू साथी पनि आउँछन् । त्यो वेला अर्को परिस्थिति बनिसक्छ । त्यसैले अब मलाई मौका दिनुहोस् । म तपाईंको सहयोगमा सभापति बन्न चाहन्छु,’ निधिले भनेको उद्धृत गर्दै केन्द्रीय सदस्य जंगीलाल रायले भने ।

विमलेन्द्र निधि, उपसभापति

हामीले तपाईंलाई सहयोग गर्दै आएकै छौँ । अब मेरो पनि उमेर भयो । भोलि १५औँ महाधिवेशनमा अरू साथी पनि आउँछन् । त्यो वेला अर्को परिस्थिति बनिसक्छ । त्यसैले अब मलाई मौका दिनुहोस् । म तपाईंको सहयोगमा सभापति बन्न चाहन्छु । मैले पहिले पनि तपाईंलाई भेटेर भनेको हुँ । पार्टीको सभापतिमा मलाई मौका दिनुस् । म पार्टी चलाउँछु । बरु तपाईं प्रधानमन्त्री बन्नुस् । 

त्यसपछि देउवाले पुनः सहयोगका लागि आग्रह गरे । ‘अझै छलफल गराैँ । अहिले तपाईं मलाई सघाउनुस् । होइन, त्यस्तो विचार छ भने मैले केही भन्नु छैन, तपाईं पनि लड्नुस्,’ देउवाले जवाफमा भनेका थिए । त्यसपछि निधिले पार्टीका अन्य नेताहरू पनि नेतृत्व हस्तान्तरणको पक्षमा रहेको भन्दै सम्भव भएसम्म आफूलाई सघाउन, नभए यसपटक आफूले पनि नछाड्ने भनेका थिए । ‘मैले पहिले पनि तपाईंलाई भेटेर भनेको हुँ । म सभापति उठ्ने हो, सहयोग गर्नुस् । यतिन्जेल मैले तपाईंसँग रहेर सहयोग गरेकै हुँ । अब मैले तपाईंको सहयोग लिने वेला हो । नभए तपाईं पनि लड्नुस्, म पनि लड्छु,’ निधिले भनेका थिए । निधिले देउवालाई भावी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । ‘पार्टीको सभापतिमा मलाई मौका दिनुस् । म पार्टी चलाउँछु । बरु तपाईं प्रधानमन्त्री बन्नुस्,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

त्यसपछि देउवाले पार्टीको सभापति जो पनि उठ्न पाउने बताएका थिए । ‘मैले गराएको चुनावमा पार्टीले हा¥यो । कोरोना र अन्य कारणले पार्टीलाई पनि वेलामा महाधिवेशनदेखि अरू काम राम्रोसँग गर्न पाइनँ,’ देउवालाई उद्धृत गर्दै अर्का नेताले भने, ‘पार्टीको सभापति त जो पनि उठ्न पाउँछ, मैले नउठ्नुस् भन्दिनँ । तर, मैले पनि तयारी गरिसकेँ, मलाई सघाउनुस् भन्ने मेरो कुरा हो ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति देउवाले आफ्नै नेतृत्वमा पार्टीलाई सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा अगाडि बढाउने चाहना व्यक्त गरेको बताए । केन्द्रीय सदस्यहरूले भने सबैसँग सल्लाह गरेर सर्वसम्मत उम्मेदवार बन्नेतर्फ ध्यान दिन सुझाब दिएका छन् । ‘हामीले सबैलाई मिलाएर अघि बढौँ । यो महाधिवेशनबाट एकताको वातावरण तयार गरौँ । सबैसँग छलफल गरेर अघि बढ्नुस् भन्यौँ,’ केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले भने । उनले सभापति देउवाले अन्य पार्टीको गठबन्धनका कारण चुनाव हारेको अपजस आफूमाथि आएको भन्दै त्यसलाई मेटाउनका लागि भए पनि एकपटक पुनः पार्टी सभापति बनेर कांग्रेसलाई ठूलो पार्टी बनाउने चाहना देखाएको बताए ।

‘हाम्रो अत्यधिक मत हुँदाहुँदै पनि धेरै सिट हार्‍यौँ, संसद्मा सिट संख्या कम भयो । पार्टीको विधानको पुनर्संरचना र पार्टीको पुनर्संरचनाका कारण महाधिवेशन पनि समयमा हुन पाएन,’ देउवालाई उद्धृत गर्दै उनले भने, ‘यी कुरामा मैले आलोचना खेपिरहेको छु । म मेरै नेतृत्वमा पार्टीलाई विधिसम्मत चलाउन र कांग्रेसलाई देशको ठूलो पार्टी बनाएर तपाईंलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहन्छु ।’ भेटमा देउवाले जिल्ला, प्रदेश र महाधिवेशन प्रतिनिधिमा समेत आफ्नो समूहको वर्चस्व बढाउन नेताहरूलाई निर्देशन दिएका छन् । उनले अझै पनि छुटेका क्रियाशील सदस्यहरूको नवीकरणको म्याद रहेकाले आफ्नो समूहका सबै सदस्यहरूको नवीकरण गर्ने व्यवस्था गर्न निर्देशन गरे । ‘अधिवेशनको तयारीमा तातेर लाग्नुस् । अब अधिवेशन जसरी पनि हुन्छ,’ देउवाले भनेका छन् । 

उपसभापति गच्छदार र सहमहामन्त्री थापाले पनि देउवालाई आफूहरूले सहयोग गर्ने भन्दै अघि बढ्न सुझाएका छन् । ‘म सभापतिज्यूसँगै छु, सघाउँछु । म विभिन्न अप्ठेरोमा छु, तैपनि मैले सक्ने सहयोग गर्छु, तपाईं हाम्रो सभापतिको उम्मेदवार बन्नुपर्छ, हामी तपाईंलाई सघाउँछौँ,’ गच्छदारको भनाइ थियो । सहमहामन्त्री थापाले पनि सबैसँग सल्लाह गरेर अघि बढ्न सुझाब दिएका छन् । देउवाले अन्य प्रदेशका नेताहरूसँग पनि क्रमशः छलफल गर्ने सचिवालयले जनाएको छ ।