मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ असार ५ शनिबार ०८:२१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्स र बेल्जियम प्रिक्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ असार ५ शनिबार ०८:२१:००

नेदरल्यान्ड्स र बेल्जियम युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले समूह सीबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । यसैगरी बेल्जियमले डेनमार्कलाई २–१ ले निराश पार्दै समूह बीबाट नकआउट चरण स्थान सुरक्षित गरेको हो । समूह बीमा बेल्जियमले दुई खेलबाट ६ अंक बटुलेको छ । नेदरल्यान्ड्स युरोकप २०२० को नकआउट चरणमा पुग्ने तेस्रो टोली हो । यसअघि समूह एबाट इटाली पहिलो टोलीका रूपमा अन्तिम १६ को यात्रा तय गरिसकेको छ । 

आफ्नो पहिलो खेलमा युक्रेनलाई पराजित गरेको नेदरल्यान्ड्सले लगातार दुई जितबाट अघिल्लो चरणको यात्रा तय गरेको हो । आम्स्टर्डमस्थित जोन क्रुफ एरेनामा १२ हजार घरेलु दर्शकबीच नेदरल्यान्ड्सले एकपटक उत्कृष्ट फुटबल पस्कियो । नेदरल्यान्ड्सलाई मेफिस डिपेले खेलको ११औँ मिनेटमै पेनाल्टीमार्फत १–० ले अगाडि बढाएका थिए । अस्ट्रियाका डेभिड अलाबाले डेन्जेल डम्फ्राइजलाई लडाएपछि मेफिसले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । 

खेलको ६७औँ मिनेटमा उनै डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सको जित २–० निश्चित गरे । पछिल्लो दुई ठूला प्रतियोगिता छनोट हुन असफल भएको नेदरल्यान्ड्स युरोकपमा सन् २००८ पछि पहिलोपटक नकआउट चरणमा पुगेको हो । प्रशिक्षक डी बोइरले तय गरेको ५–३–२ को रणनीतिलाई लिएर धेरैले आलोचना गरेका थिए । यद्यपि, युक्रेनविरुद्धको पहिलो खेलमा ३–२ को रोमाञ्चक जित हात पारेपछि नेदरल्यान्ड्स यो संरचनामा पनि लयमा देखिएको छ । 

यो नयाँ संरचनामा डमफ्राइजलाई बढी फाइदा देखिएको छ । यसमा उनले टोलीका लागि मुख्य फर्वाडको रूपमा खेल्ने अवसर पाएका छन् । अस्ट्रियाका लागि खेलको १०औँ मिनेटमै अलाबाले गल्ती गर्न पुगे । भिडियो एसिस्टेन्ट रेफ्री (भार) मार्फत पिएसभी इन्धोवेनका रक्षक उनले आफ्नो पेनाल्टी क्षेत्रमा नेदरल्यान्ड्सका डमफ्राइजलाई लडाएको देखिएको थियो । जसलाई सदुपयोग गर्दै दिपेले आफ्नो व्यक्तिगत २७औँ अन्तर्राष्ट्रिय गोल गरे । 

बेल्जियमलाई ब्रुयनको प्रेरणा
बेल्जियमले समूह बीबाट नटआउट चरण स्थान सुरक्षित गर्न म्यानचेस्ट सिटीका मिडफिल्डर केभिन डे ब्रुयनको प्रेरणा प्राप्त गरेको छ । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका ब्रुयनले बेल्जियमलाई डेनमार्कमाथि जित दिलाउन प्रेरणादायी खेल प्रस्तुत गरेका थिए । खेलको दोस्रो मिनेटमै डेनमार्कले बेल्जियममाथि १–० को सनसनी अग्रता लिएको थियो । घरेलु मैदानमा डेनमार्कका समर्थकलाई खुसी दिलाउने क्रममा युसुफ पाउल्सेनले आकर्षक गोल गरेका थिए । उनले एमिल होएविएरको पास नियन्त्रणमा लिँदै सानो डिबक्सबाट सहजै गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् । 

प्रतिस्पर्धा दौरान डेनमार्कका खेलाडी तथा समर्थकले घाइते खेलाडी क्रिस्टियन एरिक्सनको स्वास्थ्य लाभ कामना गरेका थिए । फिनल्यान्डसँगको समूह चरणकै पहिलो खेलको मध्यान्तरअघि श्वासप्रश्वासमा गाह्रो भएपछि एरिक्सन मैदानमा ढलेका थिए । 

मेडिकल टोलीको तत्काल प्रयासका कारण एरिक्सन बाँच्न सफल भएका हुन् । अहिले उनको उपचार अस्पतालमा भइरहेको छ । पहिलो हाफमा डेनमार्क हाबी देखिएको थियो । डेनमार्कले पहिलो हाफमा तीनवटा गोल अवसर खेर फाल्यो । मध्यान्तरपछि नै मैदानभित्र छिरेका डे ब्रुयनको पासमा हजार्डले ५४औँ मिनेटमा बेल्जियमलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ७०औँ मिनेटमा इडेन हजार्डको सटिक पासमा डे ब्रुएनले डिबक्सभित्रबाट गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए ।

खेलको ८७औँ मिनेटमा डेनमार्कका मार्टिन ब्रेथवेटको प्रहार क्रसबारमा लागेको थियो । बेल्जियमविरुद्धको खेलमा डेनमार्कले २१ पटक गोल प्रयास गरेको थियो । यसविपरीत बेल्जियमले ६ पटक मात्र पोस्ट चार्ज ग¥यो । खेलमा बेल्जियमले ५३ तथा डेनमार्कले ४७ प्रतिशत बल पोसेसन बनाएको थियो । खेलमा रामेलु लुकाकु म्यान अफ दी म्याच घोषित भए ।