मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ४ शुक्रबार १५:२३:००
Read Time : > 1 मिनेट
समाचार

धानको बालामा भुस मात्र भएपछि ट्याक्टर लगाए शर्मा परिवारले

Read Time : > 1 मिनेट
२०७८ असार ४ शुक्रबार १५:२३:००

रत्ननगर नगरपालिका– १, दुर्गामन्दिर टोलकी  किसान अन्जु शर्माले पाकेर भित्र्याउने वेलाको धानको बालामा भुस मात्र भएपछि ट्याक्टर लगाएर खेत जोतेकी छिन् । ठेक्कामा लिएको नाै कट्ठा जमिनमध्ये करिब तीन कट्ठामा उनले २२ जेठमा  ट्याक्टर लगाएकी हुन् । उनीहरूले स्थानीय साझाबाट किनेको सानो बिजी धानको बिउ लगाएका थिए । चितवनमा धानका लागि मल नपाएपछि जनकपुर आफन्तकोबाट मोटरसाइकलमा मल ल्याएर यो परिवारले धानमा राखेको थियो । झुलेको धानमा भुस मात्र भएपछि शर्मा परिवारले खेतमै धान नष्ट गरेको हो । 

परिवारमा के खाने भन्ने चिन्ता 
मधेसी समुदायका उनीहरू चार दशकदेखि चितवनमा बस्दै आएका छन् । ५५ वर्षीया अन्जुको श्रीमानको आठ वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो । छोरा रोशनकुमार शर्मा चितवनमै जन्मिएर/हुर्किएका हुन् । ३१ वर्षका रोशन अहिले  बुबाले नै काम गर्दै आएको ठाउँमा उनी कार्यरत  छन् ।

 

तर, कोरोना भाइरससँगैको निषेधाज्ञाका कारण उनले नियमित काम गर्न सकेका छैनन् । ज्यालादारीमा कृषि मेसिनरी उद्योगमा काम गर्दै आएका उनको नियमित उद्योग नखुल्दा आम्दानी रोकिएको छ । उनकी आमा अन्जुले भनिन्, ‘हाम्रो समुदायमा छोरा मान्छे बाहिर कमाउन जाने, छोरी मान्छेले घरको काम गर्ने भन्ने छ । त्यसैले श्रीमान् बिरामी भएपछि उनको उपचार र औषधिमा सहयोग हुने हिसाबले  ठेक्कामा जमिन लिएर खेती गर्न थालेँ ।’ प्रतिकट्ठा दुई हजार रुपैयाँ उनीहरूले जमिनको भाडा तिर्नुपर्छ । 

विगतमा उक्त बारीमा मकै खेती गर्दै आएका उनीहरूले केही वर्ष अघिदेखि उक्त खेतमा धान लगाउन थालेका थिए । अन्जुले भनिन्, ‘मकै लगाउँदा धेरै मिहिनेत गर्नुपर्थ्याे ।  तर, धान लगाएपछि बेच्न पनि सजिलो भएको र मेसिनको पनि प्रयोग गर्न पाइएको थियो । अहिले त उत्पादनै भएन,’ रुँदै उनले भनिन् ।

बर्सेनि धान बेचेर यो परिवारले चामल खरिद गरेर खाने गरेको थियो । ‘घर पनि अरूकै हो । भण्डारण गर्ने  ठाउँ नभएपछि धान बेचेको पैसाले चामल किनेर खाने गरेका थियौँ,’  आफ्नो जीवनमा यसअघि यस्तो कहिल्यै नदेखेको र नभोगेको उनीहरू बताउँछन् । ‘हामी आफैँले मिहिनेत गरेर खाएका छौँ । माग्न परेको थिएन,’ रोशनले भने, ‘यही जमिनमा अघिल्लो वर्ष करिब ४० हजारको धान बिक्री गरेका थियौँ । तर अहिले धान भित्र्याउने खर्च पनि नआउने भयो । त्यसैले बाध्य भएर ट्याक्टर लगाएका हौँ।’

सहयोगको आस
शर्मा परिवारले त्यसै दिन सबै जमिनमा ट्याक्टर लगाउने सोचेको थियो । तर, स्थानीयले जनप्रतिनिधिलाई देखाएमा सहयोग मिल्ने भनेपछि बाँकी खेतमा ट्याक्टर लगाएका छैनन् । तर, उनीहरूसँग बिउ किन्दाको रसिद, ठेक्काको सम्झौतालगायतको कागज स्थानीय तहले मागेका छन् । ‘१५ वर्षदेखि अरूको खेत गर्दैै आएका छौँ, अहिलेसम्म विश्वासमा काम गरेका छौँ । कागज कहाँबाट ल्याऊँ ? बिउ किन्दाको रसिद पछि काम लाग्छ भन्ने मलाई के थाहा ? धेरै कुराहरूको माग गरिएको छ । कसरी उपलब्ध गराउने होला ? मैले पढेलेखेको  छैन । हाम्रो त सबै नोक्सान भयो, कम्तीमा पनि लागत रकम पाउन पाए चामल किनेर खान हुन्थ्यो,’ उनले भनिन् ।