मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार ४ शुक्रबार १०:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यन्त्री पोखरेलले आज विश्वासको मत लिँदै    

Read Time : > 1 मिनेट
२०७८ असार ४ शुक्रबार १०:१२:००

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक सातामै पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा २९ जेठमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

शुक्रबार विश्वासको मत लिने सूचना मुख्यमन्त्रीले बुधबार नै प्रदेश सभा सचिवालयमा दर्ता गराइसकेका छन् ।  ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाको एक सांसद पदमुक्त भएसँगै हाल ५९ सदस्य कायम रहेका छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३० मत आवश्यक पर्छ । 

प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका दुई, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन् । पोखरेल कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका दुई, जसपाका दुई र स्वतन्त्र एक गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २७ जेठमा विश्वासको मत लिन असफल भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै पोखरेलले आफूलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । पोखरेलको दाबी पुगेसँगै उनी २९ जेठमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्रीमा नियुक्ति भएसँगै उनले सोही दिन अन्य चारजनालाई मन्त्रीको शपथ खुवाएका छन् । मन्त्री हुनेमा कांग्रेसका कुमार खड्का, माओवादीका मधुमाया अधिकारी गुरुङ, समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् । 

मुख्यमन्त्रीसँगै चारमन्त्री नियुक्त भए पनि सबै मन्त्रालय मुख्यमन्त्री आफैँले राखेर चारैजनालाई विनाविभागीयमन्त्रीमा नियुक्त गरेका थिए । स्रोतका अनुसार गठबन्धन बनाएका चार दलमा कुन मन्त्रालय कसले लिने विषयमा सहमति नभएका कारण नयाँ मन्त्रीहरूलाई कुनै जिम्मेवारी नदिएको बताइएको छ । 

कांग्रेसले मुख्यन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको भागबन्डा गरिने बताएको छ । यता, सहयात्री अन्य दलले अहिले नै कुन मन्त्रालय कसले पाउने भन्ने निर्णय गर्नुपर्ने बताउँदै आएका छन् । प्रदेशमा ११ मन्त्रालय रहेका छन् । २९ जेठमा गठन भएको सरकारले ३१ जेठमा नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याएको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र बजेटबारे प्रदेश सभामा छलफल सुरु हुनेछ ।  

खराब मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए 

मनाङका बाढी प्रभावितको उद्धार तथा आवश्यक व्यवस्था गर्न चामे पुगेका मुख्यमन्त्री पोखरेल पोखरा फर्किएका छन् । खराब मौसमका कारण बिहीबार हेलिकोप्टर उड्न नसकेपछि मनाङमा रोकिएका मुख्यमन्त्री शुक्रबार बिहान पोखरा फर्किएका हुन् ।  

बाढीबाट विस्थापित भएकालाई लिएर उनी पोखरा फर्किएको उनीसँगै मनाङ पुगेका सञ्चारकर्मी प्रकाश ढकालले जानकारी दिए । बिहीबार हेलिकोप्टरमार्फत मनाङ पुगेका मुख्यमन्त्री पोखरेल खराब मौसमका कारण उतै रोकिएका थिए ।