१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
म्याथ्यु चान्स/लुक म्याक्जी
२०७८ असार ४ शुक्रबार ०९:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जेनेभा सम्मेलन : पुटिनको ठूलो कूटनीतिक सफलता 

Read Time : > 2 मिनेट
म्याथ्यु चान्स/लुक म्याक्जी
२०७८ असार ४ शुक्रबार ०९:०४:००

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको जेनेभा सम्मेलनले पुटिनलाई देशभित्रको राजनीतिमा थप सबल बन्न सघाउनेछ


अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच हुने बैठकलाई लिएर सुरुदेखि नै त्यति अपेक्षा थिएन । अपेक्षाअनुरूप बैठकबाट खासै उलेख्य सफलता हात लागेन । दुई देशबीच अवरुद्ध कूटनीति सुचारु गर्ने र साइबर सुरक्षा तथा विदेश नीतिजस्ता केही मुद्दामा ‘रचनात्मक’ संवाद गर्ने प्रतिबद्धताबाहेक बैठकबाट केही नयाँ हासिल भएन । पुटिनले बाइडेन र आफूबीच ‘कुनै वैमनस्य’ नरहेको बताए, तर पत्रकारले उनका पछिल्ला विवादित कार्यबारे सोधेका अधिकांश प्रश्नमा उनले अमेरिकालाई खराब देखाउने प्रयास गरे । पत्रकारले उनलाई रुसी भूमिबाट अमेरिकी संस्थानमाथि भएका साइबर हमलाबारे सोधेका थिए । उनले ‘साइबर सुरक्षासम्बन्धी विषयमा हामीले छलफल सुरु गर्नुपर्छ भन्ने सहमति जनाएका छौँ । यसमा दुवै पक्षले केही हदसम्म जिम्मेवारी स्विकार्नुपर्छ भन्ने जवाफ दिए ।

रुसी घरेलु राजनीतिबारे सोधिएको प्रश्नमा पुटिनले लगातार अमेरिकाको नैतिक धरातलको आलोचना गरे । उनले ६ जनवरीमा क्यापिटल हिलमा भएको आक्रमण र जर्ज फ्लोयडको हत्याको विषय उठाए । अमेरिकाका अधिकांश अश्वेतबारे ‘तपाईंका मुख किन खुल्दैनन्,’ उनले अमेरिकी पत्रकारलाई प्रतिप्रश्न गरे । पत्रकारहरूले रुसका विपक्षी राजनीतिज्ञ, अझ विशेषतः एलेक्सी नभाल्नीको पक्राउबारे प्रश्न गरेका थिए । नभाल्नी आफैँ पक्राउ पर्न चाहेको पुटिनको जवाफ थियो । 

जेनेभा सम्मेलन अमेरिकाको अनुरोधमा भएको थियो र सम्मेलनमा सहभागी भएर आफ्नो अमेरिकी राष्ट्रपतिसँग बराबर हैसियत भएको देखाउन पुटिन सफल भए, क्रेमलिनले पहिल्यैदेखि चाहेको यही थियो 

‘उनलाई रुसी कानुन तोड्दै छु भन्ने थाहा थियो । दुईपटक रुसी कानुन तोडेको दोषी नभाल्नीले जानेरै कानुन तोडे । यस्ता मानिसबारे कस्तो छलफल गर्ने हो, मैले बुझ्न सकेको छैन,’ पुटिनले भने । गैरकानुनी रूपमा क्रिमियालाई कब्जा गरेको विषयमा सोधिएको प्रश्नमा पुटिनले सो क्षेत्रमा रुसी सेनाले गरेका क्रियाकलाप अन्तर्राष्ट्रिय कानुनअनुरूप रहेको बताए । उनले उल्टो ‘रुसी सिमानाछेउमा सैन्य अभिवृद्धि गर्ने’ अमेरिकाचाहिँ दोषी भएको तर्क गरे । युक्रेन नेटोको सदस्य हुने विषयमा उनले ‘छलफल गर्न आवश्यक’ नरहेको बताए । पुटिनका क्रियाकलाप नियमित अवलोकन गर्नेहरू उनको यो स्तरको आत्मविश्वास र उपेक्षाभावसँग परिचित छन् । पुटिन देशभित्रको आफ्नो राजनीतिक स्थितिप्रति यति ढुक्क छन्, उनलाई यस ग्रहका सबैभन्दा शक्तिशाली व्यक्ति (अमेरिकी राष्ट्रपति) सँगको वार्ताले पनि केही बिगार्छ भन्ने लाग्दैन । 

जेनेभा सम्मेलनले पुटिनलाई देशभित्र थप सबल बनाउन सघाउनेछ । सम्मेलन अमेरिकाको अनुरोधमा भएको थियो र पुटिनले सम्मेलनमा सहभागी भएर आफू अमेरिकी राष्ट्रपतिसरह हैसियत भएको नेता हो भन्ने देखाउन सके । ‘क्रेमलिनको चाहना यही थियो : अमेरिकासँग बराबरको हैसियतमा कुराकानी गर्ने र छलफल निःसर्त हुनुपर्ने,’ मस्कोस्थित क्राइसिस ग्रुपका वरिष्ठ रुस विश्लेषक ओलेग इग्नातोभले बताए । ‘पछिल्लो सम्मेलन सम्बन्ध सामान्यीकरणको सुरुवात पनि होइन । यो त सम्बन्ध थप खराब हुन नदिने प्रयास मात्र हो । संवादले रुसलाई बेफाइदा गर्ने देखेमा पुटिनले बाइडेनलाई परक्षण गर्नेछन्,’ ओलेगले बताए । ‘रुसी तथा विदेशी पत्रकार सहभागी पत्रकार सम्मेलनमा पुटिनले दिएका कडा जवाफले उनलाई देशभित्र फाइदा पुग्नेछ । विशेष पश्चिमसँगको सम्बन्धलाई खतरनाक, अस्थिर, आक्रामक मान्ने रुसीहरू पुटिनको शैलीमा सन्तुष्ट हुनेछन्,’ ‘चथम हाउस’मा रुस र युरेसिया कार्यक्रमका वरिष्ठ सल्लाहकार केर गाइल्सले भने । गाइल्सका अनुसार अमेरिकासँग नडराउने पुटिनको छवि उनको देशभित्रको लोकप्रियताको एउटा प्रमुख कारण रहने गरेको छ । 

बुधबारको घटनाले एक दशकदेखि पुटिनले प्रचार गर्दै आएको भाष्य ‘पश्चिमले रुससँग जति नै कडा कुरा गरे पनि पुटिन र उनका सहयोगीलाई छुन पनि सक्दैन’ थप बलियो भएको छ । पुटिनका विरोधीहरू उनले प्रतिपक्षी नेतालाई विष हाल्दा, अन्य देशको चुनावमा हस्तक्षेप गर्दा र विदेशी भूमि कब्जा गर्दा केही परिणाम भोग्नु नपरेकाले अचम्मित हुन्छन् । पुटिनका समर्थकको आँखामा अमेरिकी राष्ट्रपतिसँगको उनको बैठकमा उनले गरेका सबै क्रियाकलाप सही रहेको पुनः प्रमाणित भएको छ । उनीहरू पुटिनले अमेरिकासँग सुरक्षा र परम्परागत कूटनीतिक च्यानल सुचारु गर्ने सहमति जनाएर ठीक गरेको तर्क गर्छन् । पुटिनले यो सहमति अमेरिकी समाजमा खोट देखाएर र आफ्नो देशको प्रतिरक्षा गरी सम्पन्न गरे । यो सम्मेलनपछि अमेरिका रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन अनकनाउन सक्छ । त्यसले पनि पुटिनलाई नै फाइदा गर्नेछ । यी सबैको असर यस वर्षको अन्त्यमा हुन लागेको रुसी संसदीय चुनावमा हुनेछ । 

(चान्स सिएनएनका वरिष्ठ अन्तर्राष्ट्रिय संवाददाता हुन् भने म्याक्जी सिएनएन इन्टरनेसनलका वरिष्ठ निर्माता हुन्) 
सिएनएनबाट