१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ असार ४ शुक्रबार ०८:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यता नवीकरण गर्न एक साता म्याद थप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ असार ४ शुक्रबार ०८:०५:००

१४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले नवीकरण गर्न छुट भएका क्रियाशील सदस्यहरूलाई पुनः नवीकरण गर्ने मौका दिएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७७ वटै जिल्लालाई परिपत्र गर्दै असार ९ गतेभित्र छुट भएका क्रियाशील सदस्यता नवीकरण गरी त्यसको विवरण पठाउन निर्देशन दिएको हो । 

धेरै सदस्यहरूको नवीकरण छुट भएको र त्यससम्बन्धी गुनासोसमेत आएकाले नवीकरण गर्ने मौका दिइएको छानबिन समितिका सदस्यसमेत रहेका नेता जीवन परियारले जानकारी दिए ।

‘सामान्यत: विधानले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थन बनेको, पार्टी अनुशासनको कारबाहीमा परेको, पार्टी परित्याग गरेको र निधन भएको अवस्था मात्रै नवीकरण नगर्ने भनेको छ, तर यसपटक करिब ८० हजार सदस्यको सदस्यता नवीकरण भएको छ,’ नेता परियारले भने, ‘त्यसकारण ठूलो संख्यामा लामो समयदेखि क्रियाशील रहेका सदस्यको नवीकरण छुट नहोस् भनेर मौका दिइएको हो ।’

समितिले आगामी असार ९ गतेभित्र सदस्यको शुल्कसहित सदस्यहरूको विवरण पठाउन निर्देशन गरेको छ ।  कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै छ । विस्तृत कार्यतालिका तयार गर्न बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । शुक्रबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्दै छ । 

बैठकमा क्रियाशील सदस्यता छानबिनका लागि छानबिन समितिलाई २० असारसम्मको मात्रै समय दिनुपर्ने प्रस्ताव पेस भएको छ । यो अवस्थामा समितिलाई क्रियाशीलको टुंगो लगाउन चुनौतीपूर्ण छ । तर, समितिले छुट भएकाहरूको हकमा नवीकरण गर्ने मौका दिएको छ । 

क्रियाशील सदस्य नै कांग्रेसका तल्ला तहका मतदाता हुन् । क्रियाशील सदस्यले जिल्ला र क्षेत्रीय अधिवेशनका प्रतिनिधि चयन गर्छन् । ती प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनेर पठाउँछन् । 

१३औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या चार लाख ७० हजार थियो । तर, यसपटक त्यसमध्येबाट तीन लाख ८० हजार तीन सय ७८ जनाले मात्रै सदस्यता नवीकरण गरेका छन् ।