मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ४ शुक्रबार ०७:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साढे चार अर्ब बजेटभित्र रहेर पहिलो चरणमा खोप ल्याउन स्वीकृति

Read Time : > 1 मिनेट
२०७८ असार ४ शुक्रबार ०७:५१:००

सरकारले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी चिनियाँ खोप भेरोसेल खरिद गर्न सैद्धान्तिक सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशको भण्डारण क्षमताका आधारमा पहिलो चरणमा साढे चार अर्बभित्र रहेर खरिद गर्न स्वीकृति दिएको हो ।

गत शुक्रबार चीन र नेपालका उच्च अधिकारीहरूको छलफलपछि नेपाल सरकारले आइतबार नै खोप खरिद प्रक्रिया अगाडि बढाएको थियो । एक वर्षमा २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई खोप लगाउने पुरानै निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको हो । तर, सबै खोप एकैपटकमा भण्डारण सम्भव नभएपछि चरण चरणमा ल्याउने सरकारले बताएको छ ।

सोहीअनुसार पहिलो चरणमा १० लाख खोप ल्याउने भएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले खोप उपलब्ध भए लगाउन कुनै समय नलाग्ने बताए । दैनिक ६ लाखका दरले खोप लगाउने मन्त्रालयले जनाएको छ । पोखरेलले खोप खरिदका लागि विभिन्न कम्पनीहरूसँग कुरा भए पनि निष्कर्षमा अझै पुग्न बाँकी रहेको बताए । 

उच्च स्रोतका अनुसार मंगलबार मन्त्रालयले खोप खरिद गर्ने विषयको फाइल चीन पठाइएको छ । मन्त्रालय र विभाग स्रोतका अनुसार मूल्यको विषय र खोप दिने संख्याको विषयमा चीनले आफैँ निर्णय गर्नेछ । ‘हामीले एक करोड २० लाख डोज खोप तत्काल चाहिएकाले माग गरेका छौँ । २० लाखका दरले खोप दिन अनुरोध गरिएको छ । त्यसको सबै टुंगो चीन आफैँले लगाउनेछ,’ स्रोतले भन्यो । चीनले बंगलादेशलाई प्रतिभाइल १० डलरमा खोप उपलब्ध गराएको छ ।

‘नेपालले प्रतिडोज १० डलरमा खोप पाउने आशा राखेको छ । तर, चीनले साढे १४ देखि १७ डलरको आसपासमा उपलब्ध गराउने बुझिएको छ । कम्पनीले प्रतिडोज १७ डलर मूल्य राखेको छ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने । चीनले १५ दिनअगाडि नै खोपको मूल्य नखुलाई सम्झौता गर्न नेपाललाई प्रस्ताव गरेको थियो । उसको प्रस्तावमा सरकार सकारात्मक भए पनि कर्मचारीहरूले फाइल नउठाएपछि खरिदमा समस्या भएको थियो । 

जोनसन एन्ड जोनसनले खोप दिन नसक्ने
अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीले नेपाललाई खोप दिन नसक्ने बताएको छ । उसले दुई हप्ताअगाडि सरकारलाई सकारात्मक जवाफ पठाएको थियो । तर, छोटो समयमा बोली फेर्दै कम्पनीले नेपाललाई तत्काल खोप दिन नसक्ने बताएको हो ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको जुम मिटिङमा जोनसन एन्ड जोनसनले खोप दिन नसक्ने स्पष्ट पारेको हो । छलफलमा सहभागी एक अधिकारीले भने, ‘कम्पनीले न्यून खोप उत्पादन भएकाले अहिले हामी नेपाललाई खोप दिन सक्ने अवस्थामा छैनौँ भन्ने जवाफ दियो ।’

जोनसन एन्ड जोनसनका अधिकारी र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीबीच बिहीबार साँझ छलफल भएको थियो । छलफलमा नेपालका अधिकारीहरूले प्र्रस्ट रूपमा खोप उपलब्ध हुने नहुनेबारे धारणा माग गरेका थिए । कोभिडविरुद्ध जोनसन एन्ड जोनसनको खोप एक डोज लगाए मात्रै पुग्नेछ । 

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको दोस्रो डोज करिब १३ लाख वृद्धवृद्धाले लगाउन पाएका छैनन् । उनीहरूको समय सकिएको छ । सेरमले तत्काल खोप नदिने बताएपछि स्वास्थ्य मन्त्रालयले एस्ट्राजेनेकाको कुनै पनि खोप प्रयोग गर्न सकिने बताइसकेको छ ।