मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ असार ३ बिहीबार २०:५२:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ सरकारद्वारा कोभिड विशेष अस्पतालको उद्घाटन, सञ्चालनमा अझै समय लाग्ने 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ असार ३ बिहीबार २०:५२:००

कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश सरकारले जनकपुरको मुजेलियामा स्थापना गरेको कोभिड विशेष अस्पतालको उद्घाटन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले बिहीबार आयोजित कार्यक्रमबीच अस्पतालको उद्घाटन गरेका हुन् । 

जनकपुरधाम– १४ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको लामो समयदेखि प्रयोगविहीन भवनलाई प्रदेश सरकारले मर्मतसम्भार तथा रङरोगन गरेर एक सय बेडको कोभिड विशेष अस्पतालको रूपमा सञ्चालन गरेको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालमा २० बेड आइसियू, ५५ बेड एचडियू र बाँकी जेनरल बेड रहेको छ । 

अस्पतालको बिहीबार उद्घाटन गरिए पनि सञ्चालन भने केही समय पछि हुने बताइएको छ । प्रदेश सरकारले १५ दिनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्ने भनिए पनि सञ्चालनमा अझै एक महिना लाग्ने सक्ने किचित्सकहरूको भनाइ छ । 

भेन्टिलेटरलगायतका मेसिनहरूको अहिले सेटअप भएको छैन । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले भने, ‘स्वास्थ्य उपचार गर्ने सबै मेसिनहरू आइसकेको छ, तर सेटअप अहिलेसम्म भएको छैन । त्यसैले सञ्चालनका लागि अहिले केही समय लाग्छ ।’

अब अस्पतालको जमिन मणिपाललाई फिर्ता हुँदैन : मुख्यमन्त्री 
कोभिड विशेष अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अब अस्पतालको जमिन मणिपाललाई फिर्ता नगर्ने बताएका छन् । ‘यो अस्पतालसहित गुठी संस्थानसँग मणिपालले दिएको १७ विघा जग्गा प्रदेश सरकारकै अधीनमा रहन्छ, यो मणिपाल शिक्षण अस्पताललाई फिर्ता दिँदैनौँ, मुख्यमन्त्री राउतले भने, ‘कुनै कालखण्डमा गुठीसँग मणिपाल मेडिकल कलेजले लिजमा लिएको थियो । तर, अब यो प्रदेश सरकारको भएको छ । गुठी संस्थानको नयाँ ऐनमा स्पष्ट रूपमा लेखिएको छ, गुठीको जग्गामा प्रदेश सरकारको समन्वयमा मात्रै लिजमा लगाउन सकिन्छ ।’ 

अब उक्त जग्गाको रेखदेखको जिम्मेवारी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहने मुख्यमन्त्री राउतले दाबी गरे । विगत एक वर्षअघिदेखि नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरूका कारण आजदेखि मात्र सञ्चालनमा ल्याउन सकिएको हो । कोरोना संक्रमितको उपचारसँगै अन्य विशेषज्ञ रोगको पनि उपचार सेवासमेत यहाँबाट सुरु हुने मुख्यमन्त्री राउतको भनाइ थियो । 

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना बन्ने विश्वास व्यक्त गरे । स्थापनाको छोटो समयमै चार विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि बिपिएच, बिएन, बिएमएलटीलगायतको अध्यापन सुरु गर्ने मन्त्री साहले बताए ।