मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मदन भण्डारी राजमार्गअन्तर्गत इस्माको रोदी खोला बढेपछि मोटरसाइकल ट्र्याक्टरमा तार्दै स्थानीय ।
२०७८ असार ३ बिहीबार १८:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मदन भण्डारी राजमार्गमै छैनन् पुल, कोभिड बिरामीको ३० घन्टापछि उद्धार

Read Time : > 2 मिनेट
२०७८ असार ३ बिहीबार १८:०३:००

मदन भण्डारी राजमार्र्गको तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर सडक कालोेपत्रे गरिएको चार वर्ष भयो । पाँच खण्ड गरेर तम्घासदेखि सिमलटारीसम्मको सडक कालोपत्रे गरिएको छ । त्यसका लागि करिब ६४ करोेड ३४ लाख खर्च भएको छ । 

तर, कालोपत्रे भएकोे लामो समयसम्म पनि खोलाहरूमा पुल छैनन् । सवारीसाधन अवरुद्ध हुँदा तम्घास–सिमलटारी–प्युठान सडकखण्ड भएर गन्तव्यमा पुग्ने नागरिकहरूले कैयौँपटक सास्ती खेपिरहेका छन् ।

तम्घासदेखि सिमलटारीसम्म इस्मा गाउँपालिकाका गुर्वा, हुलाके र रोेदी तथा मालिका गाउँपालिकाको अर्जे र सिलादी गरेर पाँच ठूला खोला छन् । पानी परे पक्की सडक भएर पनि गन्तव्यमा पुग्न सकिँदैन । खोलामा पुल नहुँदा वर्षौेँदेखि नागरिकले समस्या झेलिरहेका छन् । 

तर, सांसद, स्थानीय सरकार र जिल्लाका बजेट कार्यान्वयन र अनुगमन गर्ने निकाय समस्याका विषयमा गम्भीर छैनन् । करोडौँका सडक निर्माण भएका छन् । सडकसँगै जोडिएको अति आवश्यक संरचना पुल छैनन् । जसले राज्य र त्यसका निकायको दीर्घकालीन सोचलाई स्पष्ट पारेको छ ।

कोभिड बिरामीको ३० घन्टामा उद्धार
बुधबार अक्सिजन लेवल घटेपछि मालिका गाउँपालिकाका कोेभिड– १९ संक्रमित एक दम्पती गाउँमा एम्बुलेन्स खोजेर गुल्मी अस्पताल तम्घास हिँडे । दिनभर पानी प¥यो । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत सिलादी खोला तर्ने उपाय भएन । एम्बुलेन्स खोला तर्न नसकेपछि कोभिडका बिरामी २४ घन्टा बाटोमै अलपत्र परे । 

बुधबार डोजरको सहायतामा खोला तराउने र पहिरो पन्छाउने गरेर ३० घन्टापछि गुल्मी अस्पताल पु¥याइएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । पहिलो दिन खोला ठूला र अप्ठ्यारो भएकाले नेपाली सेनाले समेत बिरामीहरूको उद्धार गर्न सकेन । ‘बर्सेनि खोलाको जोखिम भोगेका छौँ, अहिले पनि झन्डै बिरामीको ज्यान गएन,’ गिरीले भने, ‘राजमार्गमै पुल नहुँदा खोलाको जोखिम मोल्नु विम्बनाको विषय हो ।’ 

वर्षात् सुरु भएपछि कुनै पनि खोलामा सजिलै साना सवारीसाधन ओहोर–दोहोर गर्न सक्दैनन् । कैयौँपटक खोलामा मोटरसाइकल, साना कारहरू डुब्ने र पानी पसेर इन्जिन नै बिग्रने गरेका छन् । पक्की सडकमा पनि वर्षायाममा हिँडेर वा साना सवारी दुवै माध्यमबाट गन्तव्यमा पुग्न मुस्किल परिरहेको धुर्कोट गाउँपालिका– ६ का भरत भण्डारीले गुनासो गरे । 

स्थानीयले डोजर लगाएर कल्भर्ट भत्काए
वर्षातमा जोखिम हुने इस्मा गाउँपालिका– १ स्थित गुर्वा खोला मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डअन्तर्गत पर्ने पहिलो खोला हो । मंगलबार र बुधबार गुर्वा खोलामा ट्रक र टिपर फसेर दुई दिन यातायात बन्द भए । जसका कारण कैयन नागरिकले सास्ती खेपे । 

त्यही ठाउँमा तम्घास–सिमलटारी–प्युठान सडक आयोजनामार्फत ०७६ पुसमा करिब नौ लाख खर्च गरेर पुल (कल्भर्ट) निर्माण गरिएको थियो । तर, बाढीले कल्भर्टसँगै बस्ती डुबानमा परेको भन्दै स्थानीयले डोजर प्रयोग गरी पुल भत्काए । राज्यको पुल नै केही व्यक्तिविशेषले डोजर लगाएर भत्काए । तर, नियामक निकाय मूकदर्शक बने । अहिलेसम्म न पुल बन्यो न भत्काउनेलाई कारबाही । बरु अहिले त्यही खोलामा कैयौँपटक नागरिकले सास्ती खेपिरहेका छन् । स्थानीय रामप्रसाद पाण्डेयले कल्भर्ट सानो भएर बस्ती डुबान हुने समस्या दोहोरिएपछि भत्काउनुपर्ने स्थिति आएको बताए ।

विकल्पको खोजीमा कार्यालय 
मदन भण्डारी राजमार्ग गुल्मीका कार्यालय प्रमुख शशांक मिश्रले गुर्वामा तत्काल आवत–जावतको विकल्पको विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए । मिश्रले गुर्वाबाहेकका चार ठाउँमा पुलको डिपिआर भइरहेकाले काम छिटो गर्ने विषयमा आफूहरू लागिपरेको बताए । 

उनले सडक खोल्ने, स्तरवृद्धि गर्ने, ग्राभेल र पक्की बनाउने काम पहिलो प्राथमिकतामा पर्ने भएकाले पुल निर्माण कार्यमा ढिलाइ भएको बताए । ‘पुलको सोच पहिले भए पनि सडकसँगै काम हुने सम्भावना कम हुन्छ,’ उनले भने, ‘अहिले सबै प्रक्रिया अगाडि बढेकाले केही समयमै सवै ठाउँमा पुल बन्छन् ।’ 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खोलामा वर्षातको असहजता तत्काललाई समाधान गर्ने विषयमा काम गर्न मदन भण्डारी राजमार्ग आयोजना कार्यालयलाई निर्देशन दिइएको बताइन् । 

मुख्यसडक अवरुद्ध
तीन दिनदेखिको अविरल वर्षाको कारण जिल्लाको मुख्य दुई सडकखण्ड अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयका अनुसार रुद्रवेणी–वामी टक्सार र कालीगण्डकी करिडोरको गुल्मी खण्ड अवरुद्ध छ । ठूला पहिराहरू खसेर अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको पाण्डेयले जानकारी दिए । 

स्थानीय पालिकाहरू जोड्ने अधिकांश सडकहरू पनि अवरुद्ध छन् । प्रमुख जिल्ला अधिकारी शर्माले अहिले वर्षा केही कम भएकाले पालिकाहरूसँग समन्वय गरेर सडक खुलाउने काम भइरहेको बताइन् ।