१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३ बिहीबार ०८:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल एसियनकप छनोटको  तेस्रो चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३ बिहीबार ०८:३६:००

 नेपाल सन् २०२३ मा चीनले आयोजना गर्ने एसियाली फुटबल महासंघ (एएफसी) एसियन कपको तेस्रो चरणको छनोट चरणमा पुगेको छ । एएफसीले तेस्रो चरणको छनोटमा पुग्ने नियम परिवर्तन गरेसँगै नेपालको भाग्य खुलेको हो । 

एएफसीको अघिल्लो नियमअनुसार एसियनकपको तेस्रो चरणको छनोटमा पुग्न नेपाललाई प्लेअफ खेल्नुपर्ने बाध्यता थियो । एएफसीले विश्वकप तथा एसियाकपको दोस्रो चरणको छनोटको आठ समूहको शीर्ष स्थानमा रहने आठ र दोस्रो स्थानका आठमध्ये उत्कृष्ट चार टोली सीधै एसियनकपका लागि छनोट हुने जनाएको थियो ।

दोस्रो स्थानका बाँकी चार, तेस्रो स्थानमा रहेका आठ र चौथो स्थानमा रहेका आठमध्ये उत्कृष्ट चार टोली सीधै एसियनकप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने नियम थियो । चौथो स्थानका बाँकी चार र पाँचौँ स्थानका आठ टोलीले तेस्रो चरणको छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने नियम एएफसीको थियो । 

दोस्रो चरणको छनोटको समूह बीमा रहेको नेपाल आफ्नो समूहको चौथो स्थानमा थियो । यद्यपि, आठै समूहमा चौथो स्थानमा रहेका टोलीबीचको वरीयतामा नेपाल पुछारमा थियो । त्यसअनुसार नेपालको बाटो प्लेअफतर्फ मोडिएको थियो ।

एएफसीले त्यो नियम परिवर्तन गरी पाँचौँ स्थानमा रहेका उत्कृष्ट तीनसम्मका टोलीलाई सीधै तेस्रो चरणको छनोटमा लग्ने निर्णय गरेपछि नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो । एएफसीको नयाँ नियमअनुसार अब इन्डोनेसिया, क्याम्बोडिया, चाइनिज ताइपेई र ग्वामले मात्रै प्लेअफ खेल्नेछन् । उनीहरू आठ समूहको पाँचौँ स्थानमा रहेका आठमध्ये पनि शीर्ष तीनभित्र पर्न असफल भएका टोली हुन्् । दुई लेगमा हुने प्लेअफ प्रतिस्पर्धाबाट दुई टोली तेस्रो चरणको छनोटमा पुग्नेछन् । 

तेस्रो चरणको छनोट प्रतियोगिता अर्काे वर्ष (१ फेब्रुअरीदेखि २७ सेप्टेम्बर २०२२) को सुरुवातमै हुनेछ । कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने तेस्रो चरणको छनोटबाट ११ टोली एसियनकपका लागि छनोट हुनेछन् । तेस्रो चरणको छनोटमा चार–चार टोली रहने गरी ६ समूह बनाइनेछ, जसबाट समूहको शीर्ष स्थानमा रहेका एक–एक र दोस्रो स्थानका ६ मध्ये उत्कृष्ट पाँच टोली एसियनकपका लागि छनोट हुनेछन् । एसियनकप १६ जुनदेखि १६ जुलाईसम्म चीनमा हुनेछ ।