मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मारवान बिसरा
२०७८ असार २ बुधबार ०९:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका र नेटो : के नयाँ शीतयुद्धको तयारी गर्दै छन् ? 

Read Time : > 2 मिनेट
मारवान बिसरा
२०७८ असार २ बुधबार ०९:३३:००

युरोपेली मुलुक चीनलाई एक आर्थिक प्रतिस्पर्धीका रूपमा हेर्छन् भने अमेरिका चीनलाई शत्रु मान्छ र उसको उदयलाई नियन्त्रण गर्नुपर्छ भन्ने ठान्छ

डोनाल्ड ट्रम्पको चारवर्षे शासनमा देखिएको अस्थिरतापछि उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) फेरि आफ्नो पूर्वअवस्थामा फर्किने प्रयास गरिरहेको छ । यो प्रयास त्यति सहज भने छैन । ट्रम्पले संगठनको रणनीतिक लक्ष्य तथा मूल्यलाई नै तोडमोड गरेपछि यसको ओज कम भयो । तर, एट्लान्टिक महासागरको दुईतिर रहेका मुलुकको घनिष्टताको पक्षधर, जो बाइडेन अमेरिकी सत्तामा आएपछि संगठनले पुनः जुर्मुराउने प्रयास गरेको छ । 

बाइडेनले आफ्ना युरोपेली समकक्षीसँग आफू विश्वास तथा एकता निर्माणमा गम्भीर रहेको बुझाउने प्रयास गरिरहेका छन् । नेटोले आन्तरिक संकटबाट बौरिने प्रयास गरेको यो पहिलोपटक होइन । यथार्थमा विगत केही दशकदेखि नेटो एकपछि अर्को संकटमा परेको चर्चा छ । तर, प्रत्येकपटक ऊ संकटबाट सफलतापूर्वक बाहिरिन सफल भयो । शीतयुद्धअघि पनि नेटोभित्र मतभिन्नता नभएको होइन । स्वेज नहरको संकट, भियतनाम युद्ध, क्युबाली मिसाइल संकट र सदस्य राष्ट्रमा अधिनायकवादी शासन हुँदा यो मतभिन्नता सार्वजनिक भएकै थियो । तर, त्यसवेला सोभियत संघको डरले मतभिन्नताका बाबजुद गठबन्धन एक रह्यो । सन् १९८९ मा पूर्वी युरोपका कम्युनिस्ट शासन विघटन भएपछि भने यस गठबन्धनको अस्तित्वको कारणमाथि नै प्रश्न उठ्यो । सोभियत संघसँग जुध्न, जर्मनीलाई बलियो बन्न नदिन र अमेरिकालाई पश्चिम युरोपसँग जोड्ने उद्देश्य राखेर बनाइएको यस गठबन्धनका सबैजसो उद्देश्य प्राप्त भएपछि अब यसलाई किन राख्नुपर्‍यो भन्ने प्रश्न उठेको थियो । 

अमेरिका जसरी पनि विश्वको एक मात्र महाशक्तिको हैसियत जोगाउने प्रयास गरिरहेको छ । आफूकेन्द्रित एकध्रुवीय विश्व जोगाउन अमेरिका आफ्ना नेटो मित्रहरू सहयोगी भइदिऊन् भन्ने चाहन्छ । 

तर, यस प्रश्नबीच सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क र वासिंटन डिसीमा भएको आतंकवादी आक्रमणको २४ घन्टामा नेटोले आफ्नो विधानको धारा ५ सक्रिय बनायो । यस धाराले कुनै एक सदस्यमाथि भएको आक्रमणलाई सबै सदस्य मुलुकले आफूमाथि आक्रमण भएको मानेर सामूहिक प्रतिरोध गर्नुपर्ने भनेको छ । धारा ५ गठबन्धन निर्माणपछि पहिलोपटक सक्रिय बनाइएको थियो । तर, कालान्तरमा एक कमजोर मुलुक अफगानिस्तानमाथिको सामूहिक आक्रमण निरर्थक युद्ध र तनावको कारण मात्र बन्यो । विगत ३० वर्षको अवधिमा नेटो विभिन्न तरिकाबाट आफ्नो एकता बचाउन सफल रहँदै आएको छ । यस अवधिमा गठबन्धनका सदस्य संख्या १६ बाट ३० पुग्यो । सम्झौता र रूपान्तरणमार्फत गठबन्धनले आन्तरिक विवाद पटक–पटक मिलाउन सफल भयो । १४ जुनको ब्रसेल्स सम्मेलनमा पुनः यही अभ्यास दोहोरिनेछ । नेटोका सदस्य मुलुकले आफूबीच मतभिन्नताभन्दा समानता बढिरहेको मान्ने गर्छन् । मेरो विचारमा सदस्य मुलुकबीच कायम सबैभन्दा महत्वपूर्ण समानता आफ्ना आर्थिक र वित्तीय स्वार्थको हितरक्षाप्रतिको तिनको साझा चासो हो । विश्वको एक अर्ब जनसंख्या र आधा कुल गार्हस्थ उत्पादन भएका मुलुकको गठबन्धन नेटो सम्पन्न पश्चिमी पुँजीवादी प्रजातान्त्रिक मुलुकको सैन्य शाखाजस्तै हो । 

आज नेटोसामु दुई प्रमुख रणनीतिक चुनौती आएको छ । एउटा उदाउँदो चीन र दोस्रो पुनः शक्तिशाली हुँदै गएको रुस । यसबाट आगामी दिनमा साइबर क्षेत्र, अन्तरिक्षमा प्रतिस्पर्धा तथा संघर्ष बढ्नेछन् । विपन्न मुलुकमा प्रभाव विस्तार गरिरहेको चीनले अमेरिकालाई भूराजनीतिक चुनौती खडा गर्नेछ । ट्रम्पले चार वर्षसम्म देखाएको अस्थिर व्यवहारले केही युरोपेली मुलुक त्रस्त बने । उनीहरू सुरक्षाको विषयमा अमेरिकामाथि अत्यधिक निर्भर हुँदाका खतराबारे विगतमा भन्दा बढी चिन्तित भएका छन् । फ्रान्स र जर्मनी यस विषयमा सबैभन्दा बढी गम्भीर रहेको बताइन्छ । युरोपले चीन र रुसले निम्त्याएका चुनौतीबारे बाइडेन सरकारले भन्दा फरक दृष्टिकोण लिएको छ । उनीहरू बेइजिङ र मस्कोलाई उत्तेजित गर्नेभन्दा सहकार्यमा जोड दिइरहेका छन् । 

युरोपेलीलाई उदाउँदो चीन भूराजनीतिक उल्झन भए पनि यो सोभियत संघ होइन भन्ने थाहा छ । सोभियत संघले जस्तो चीनले अहिलेको विश्व–व्यवस्थाभन्दा फरक व्यवस्थाको वकालत गरेको छैन । सन् २००१ मा विश्व व्यापार संगठनको सदस्यता लिएयता उसको अर्थतन्त्र पश्चिम नेतृत्वको आर्थिक प्रणालीमा जोडिन पुगेको छ । युरोपेलीले चीनलाई एक आर्थिक प्रतिस्पर्धीका रूपमा हेर्छन् । जब कि अमेरिका चीनलाई शत्रु मान्न थालेको छ, जसको उदयलाई नियन्त्रण गर्नुपर्छ भन्ने ठान्छ । अमेरिका विश्वको निर्विवाद महाशक्तिको आफ्नो हैसियत जसरी पनि जोगाउन चाहन्छ । बाइडेनले यस उद्देश्यमा युरोपेली मुलुकलाई मनाएर वा दबाब दिएर सम्मिलित गराउने प्रयास गर्नेछन् । यस दिशामा केही सफलता पनि हासिल भएको छ । युरोपेलीहरू प्रविधि र लगानी क्षेत्रमा चीनसँग टाढिन थालेका छन् । अमेरिकाले आफ्नो विश्व प्रभुत्व कायम राख्न नेटोलाई प्रयोग गर्ने प्रयास गरिरहेको सन्दर्भमा नेटोले आफ्नो नयाँ भूमिका परिभाषित गर्न संघर्ष गर्नुपर्नेछ । अमेरिका र नेटोले अमेरिका र चीनबीच शीतयुद्ध टार्न नसकिने मान्न थालेका छन् ।   

 (मारवान अलजजिराका वरिष्ठ राजनीतिक विश्लेषक हुन्) 
अलजजिराबाट