१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार १ मंगलबार २०:२७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

रसुवागढी नाका जोड्ने स्याउबारी–रसुवागढी सडक जोखिममा 

Read Time : > 2 मिनेट
२०७८ असार १ मंगलबार २०:२७:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने स्याउबारीदेखि रसुवागढीसम्मको सडक जोखिममा परेको छ । वर्षायाम सुरु भएसँगै अविरल वर्षासहित ढुंगा खस्ने तथा पहिरो जान थालेसँगै नाका जोड्ने उक्त सडक जोखिममा परेको हो । सडकखण्डको मूलखर्क, त्रिशूली खोला, सानुभार्खु, ठूलोभार्खु, स्याफ्रु, लिङलिङ, टिमुरे, रसुवागढीलगायतको क्षेत्रमा ढुंगा खस्ने तथा पहिरो जाने उच्च जोखिममा रहेको छ । यी क्षेत्रमा ठूला–ठूला ढुंगा खस्ने र पहिरो गई सडक अवरुद्ध हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । ‘वर्षायाम सुरु भएको छ, पानी परिरहेको छ, जसले गर्दा ढुंगा खस्ने, पहिरो क्रम सुरु भएको छ, जसले गर्दा सडक अवरुद्ध हुन थालेको छ, केही सडकखण्डको स्थान उच्च जोखिममा छ,’ उनले भने । 

सानुभार्खुमा सडक साँघुरो भई ग्याबिल वाल पूरा नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ भने मूलखर्कमा सडक भासिई उकालो र हिलो हुँदा सवारी आवतजावतमा समस्या भएको छ । उक्त स्थानमा ग्राभेल गरी सवारी सञ्चालनमा सहज बनाउन लागिपरेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए । त्यसैगरी स्याफ्रुबेंसीस्थित चिलिमे जलविद्युत् कम्पनीको छेउमा चट्टानसहितको पहिरो गई बाटो अवरुद्ध हुन थालेको उनले बताए । उक्त सडकमा दुईतर्फी सुचारु गर्न सडक विभागमा ब्रेकससहितको स्काभेटर माग गरिएको उनले बताए । 

ग्याबिन पूरा नहुँदा सवारी सञ्चालनमा समस्या
नाका जोड्ने धुन्चे स्याफ्रुबेंसी सडकखण्डको सानोभार्खुमा ग्याबिन पूरा नहुँदा सवारी आवतजावतमा समस्या भएको छ । गत वर्ष वर्षातको समयमा पहिरो गई उक्त सडक भासिएसँगै सडक साँघुरो भएको थियो । वर्षायाम सुरु भएसँगै साँघुरो सडकमा सवारी आवतजावतमा समस्या भएको छ । सडक साँघुरो हुँदा चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएका मालबाहक सवारी सञ्चालनमा समस्या भएको छ । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार रसुवागढी नाकाबाट सामान लोड भएर गन्तव्यतर्फ हिँडेका मालबाहक सवारी १२ घन्टासम्म रोकिनुपरेको छ । ‘बाटो साँघुरो छ, तल ग्याबिन वाल अलिकति लगाएर छोडिएको छ, गाडी छिर्दैन, गाडीका चालक–सहचालक आफैँले बाटो बनाएर हिँडिरहेका छन्, आइतबारदेखि सोमबार बिहानसम्म करिब १२ घन्टाभन्दा बढी गाडी रोकियो,’ उनले भने, ‘करोडौँको सामान बोकेर आएका गाडी बीचमै रोकिएका छन्, चीनबाट स्याउ भित्रिएको छ, एक–दुई दिन गाडी बीचमै रोकिनुप¥यो भने सबै फाल्नुपर्ने हुन्छ ।’ 

साँघुरो उक्त सडक चौडा गर्न सडक डिभिजन कार्यालय नुवाकोटले सडकको करिब आठ सय घनमिटर ग्याबिन वाल लगाई बाटो चौडा गर्ने जिम्मा अमृत घले निर्माण सेवालाई दिएको छ । हाल पाँच सय २१ घनमिटर मात्र ग्याबिन वाल लगाइएको अमृत घले निर्माण सेवाले जनाएको छ । असार २५ गतेसम्ममा सडकको स्तरसम्म ग्याबिन वाल लगाई फिलिङ गर्नुपर्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । कोरोना संक्रमण र वर्षातका कारण ग्याबिन वाल लगाउने कार्यमा ढिलाइ भएको निर्माण सेवाका लामारेन्जेन घलेले बताए । पानी पर्ने क्रम रोकिए १० दिनभित्रमा काम सम्पन्न हुने उनले नयाँ पत्रिकालाई बताए । 

सडक डिभिजन कार्यालय नुवाकोटमार्फत चालू आर्थिक वर्षमा बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेंसी सडक मर्मत तथा स्तरोन्नतिका लागि २० करोड विनियोजन भएको छ । सडक मर्मत तथा स्तरोन्नतिका लागि १३ वटा कम्पनीमार्फत ठेक्का लगाइएको छ । बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्मको सडकको खाल्टाखुल्टी पुर्ने, नाली मर्मत गर्ने, ग्याबिन वाल लगाई साँघुरो सडक चौडा बनाउने, कालो पत्रे गर्ने, ढलान गर्नेलगायतका कार्य रहेको छ । सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले नयाँ पत्रिकासँग भने, ‘यो वर्ष छिट्टै पानी पर्न थालेको छ, ठेक्कामार्फत भएका सबै काम सम्पन्न भइसकेका छैनन्, असार मसान्तसम्मको समयावधि छ, सहज रूपमा सवारी सञ्चालन गराउन हामी लागिपरेका छौँ ।’ 
सडक डिभिजन कार्यालय नुवाकोटले बुधबारदेखि स्याउबारी–स्याफ्रुर्बेसी सडकखण्डको मूलखर्कमा एउटा लोडर, सदरमुकाम धुन्चेमा एउटा एक्स्काभेटर तयारी अवस्थामा राखिने जनाएको छ । त्यसैगरी उक्त सडक खण्डमा सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीको लोडर, एक्स्काभेटरसमेत तयारी अवस्थामा राखिने भण्डारीले बताए ।