मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार १ मंगलबार १९:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकता (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
२०७८ असार १ मंगलबार १९:२१:००

स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगततर्फ १७ अर्ब ६६ करोड ४० लाख  र चालूतर्फ १० अर्ब ६६ करोड नौ लाख विनियोजन गरिएको छ ।

संसदमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सेवाको सुधारलाई बजेटमा प्राथमिकता दिइएको बताए । स्वास्थ्य उपकरण थप, प्रयोगशाला सुदृढीकरण, भवन निर्माण तथा स्वास्थ्य संस्थाको सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य र शिक्षाका कार्यक्रम र योजनाका लागि कुल बजेटको १९.४ प्रतिशत अर्थात् पाँच अर्ब ८८ करोड ५९ लाख विनियोजन गरिएको छ । यसमध्ये अधिकांश बजेट स्वास्थ्यमा छ ।

भौतिक पूर्वाधार विकासमा ११ अर्ब ७५ करोड ३ लाख (३.८प्रतिशत) विनियोजन गरिएको छ । निर्माणाधीन प्रदेश गौरवका बहुवर्षीय आयोजना र क्रमागत योजनाका लागि पाँच अर्ब १२ करोड छुट्याइएको छ । कोरोनाका कारण रोजगारी गुमाएका र बेरोजगार युवाहरूलाई सहुलियतपूर्ण ऋण दिने घोषणा सरकारले बजेटमार्फत गरेको छ ।

६.९७ मेगावाटको नौगाड, ७.७५ मेगावाटको सुर्नयागाड र ७.७१ मेगावाटको अपर सुर्नयागाड जलविद्युतको डिपिआर आगामी आर्थिक वर्षभित्र निर्माण गरिने बजेटमा उल्लेख छ । राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहनका लागि जिल्लागत रूपमा मासिक डेढ हजारदेखि साढे दुई हजार रुपैयाँ थप दिने घोषणा सरकारले गरेको छ । बजेटमा अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।