१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन एकाएक मैदानमा ढलेपछि उपचार गरिँदै ।
एजेन्सी
२०७८ जेठ ३१ सोमबार १०:२१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

डेनमार्क हार्‍यो तर जीवनले जित्यो

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ जेठ ३१ सोमबार १०:२१:००

फिनल्यान्डसँगको खेल नतिजामा डेनमार्क स्तब्ध भए पनि सम्पूर्ण डेनिसले अकल्पनीय जित हात पारे, खेलमैदानमै ढलेका आफ्ना साथी क्रिस्टियन एरिक्सन बाँच्न सफल भएकोमा उनीहरू हारपछि पनि निराश बनेनन् 

डेनमार्कको एक पत्रिकाले आइतबारको संस्करणमा हेडलाइन राखेको छ– डेनमार्क हार्‍यो, तर जीवनको जित । 
कोपेनहेगनको पार्केन रंगशालामा शनिबार अबेर राति भएको डेनमार्क र फिनल्यान्डबीचको खेलमा हृदयविदारक दृश्य देखियो । डेनमार्कका एक खेलाडी खेलमैदानमै जीवन र मृत्युबीच संघर्ष गरिरहेका थिए । अन्य खेलाडी उनलाई आत्मविश्वास दिँदै सहयोग गरिरहेका थिए । खेल हेरिरहेको सम्पूर्ण विश्व मैदानमा ढलेका खेलाडीको जीवनरक्षाको प्रार्थना गरिरहेका थिए । यही परिवेशलाई पत्रिकाले हेडलाइन बनाएको थियो– डेनमार्क पराजित तर जीवनको जित । युरोकप २०२० को आफ्नो पहिलो खेलमा डेनमार्क फिनल्यान्डसँग १–० ले पराजित भयो ।

खेलमा डेनमार्क नतिजासँग स्तब्ध भए पनि सम्पूर्ण डेनिसले अकल्पनीय जित हात पारे । मध्यान्तर हुनुभन्दा पाँच मिनेटअघि मिडफिल्डर क्रिस्टियन एरिक्सन एकाएक मैदानमा ढल्न पुगेका थिए । श्वासप्रश्वासमा अचानक आएको समस्याले लडेका एरिक्सनको उपचारमा उनका साथीहरूले लिएको तीव्र निर्णय तथा चिकित्सकहरूको तत्कालै थालेको उपचारले उनी बाँच्न सफल भएका छन् ।

डेनमार्कका खेलाडीहरूले मैदानमा लडिरहेका एरिक्सनको अवस्था संसारलाई थाहा नदिन मानव पर्खाल बनाएका थिए । विपरीत दिशामा फर्किरहेका डेनिस खेलाडी आफूलाई रोक्न सकिरहेका थिएनन् । प्रत्येक खेलाडीको आँखा रसाएको थियो । उनीहरू एरिक्सनको जीवन रक्षाका लागि भगवान्सँग प्रार्थना गरिरहेका थिए । 

यतिवेलासम्म केही समाचार संस्थाहरूले डेनिस खेलाडी एरिक्सनको खेल्दाखेल्दै निधन भन्नेसमेत ब्रेकिङ न्युज पोस्ट गर्न भ्याइसकेका थिए । अकल्पनीय समाचार पोस्ट हुँदा एक क्षण टेलिभिजन हेरिरहेका, सामाजिक सञ्जालबाट खेलको अपडेट लिइरहेका समर्थक स्तब्ध भए । ती विदेशी समाचार एजेन्सीले लेख्नुको मुख्य कारण डेनिस खेलाडीहरूको ‘बडिल्याग्वेज’ थियो ।

लगभग मृत्युको मुखमा पुगेको देखेरै एरिक्सनप्रति खेलाडीहरूले आँसु बगाइरहेका थिए । यत्तिकैमा युइएफएको एउटा टिवटले पुनः सिंगो विश्वलाई खुसी प्रदान गर्‍यो । ‘एरिक्सनको अवस्था स्थिर छ’ एरिक्सन जिउँदै रहेको युइएफएको भन्यो, ‘उसले सास लिइराखेको छ ।’ डेनमार्क फुटबल संघले पनि एरिक्सनको अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको जनायो । स्टेचरमा राखी अस्पताल लैजाँदा टोटनह्यामका पूर्वमिडफिल्डर एरिक्सनले हलचल गरेका थिए । टेलिभिजनमा यो दृश्य देखाइरहँदा इन्टरमिलानका यी खेलाडी एरिक्सन जिउँदै रहेको पक्का भइसकेको थियो । र सिंगो फुटबलले कोपेनहेगनको पार्केन रंगशालाबाट अप्रिय समाचार सुन्नबाट बच्यो । 

खेलाडीको हिम्मत
आफ्नै क्षेत्रमा थ्रो इन लिन एरिक्सन अगाडि बढेका थिए । त्यत्तिकै उनी मैदानमा ढले । यहीँबाट सुरु भएको थियो, भयावह दृश्य । मिडफिल्डर एरिक्सन मैदानमा लड्दा नजिकै रहेका उनका कप्तान सिमोन काजर दौडिए । उनले एरिक्सनको श्वासप्रश्वास परीक्षण गरे । एरिक्सनको स्वास्थ्य अवस्थाबारे काजरलाई थाहा भइरहेको थियो । तत्कालै उनले मेडिकल टिमको सपोर्ट मागे । डेनमार्क र फिनल्यान्डका खेलाडीहरूले पनि चिकित्सकलाई चाँडो मैदानमा पठाउन आग्रह गरिरहेका थिए । म्याच अफिसियलले पनि केही नसोची मेडिकल टिमलाई मैदानमा बोलाए । त्यसपछि एरिक्सनलाई के भएको छ भनी बाहिर संसारलाई थाहा नदिन डेनमार्कका खेलाडीले मानवरूपी पर्खाल बनाए । 

रंगशालामा उपस्थित १५ हजार दुई सय दर्शक तथा टेलिभिजनमा प्रत्यक्ष खेल हेरिरहेकाहरू एरिक्सनको अवस्थाबारे अनभिज्ञ नै थिए । मानवरूपी पर्खालभित्र एरिक्सनको उपचार भइरहँदा डेनिस खेलाडी तथा समर्थकहरूको भावविभोर भइसकेका थिए । मैदानमा रहेका डेनिस खेलाडीले आफ्ना साथी गुमाइसकेको आभास गरिरहेका थिए । खेलाडीहरू रुँदै गरेको तथा आँसु बगाइरहेको दृश्य टेलिभिजनमा बारम्बार देखाइरहेको थियो । ‘त्यो वेलामा डेनिस खेलाडीले बुद्धिमत्ता देखाए, साथीलाई बचाउन हरप्रयास गरे । यद्यपि, उनीहरूले आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्,’ द टाइम्सका फुटबल राइटर हेनरी विन्टरले भने ।

मेडिकल स्टाफ भन्छन् :  जे गर्नुपथ्र्यो, त्यही गर्‍यौँ
फुटबल एसोसिएसनका कार्डिलोजी प्रमुख सञ्जय शर्माले मैदानमा तत्कालै गरिएको प्रयासका कारण नै एरिक्सन बाँच्न सफल भएको प्रतिक्रिया दिए । स्पोर्टस् कार्डिलोजिस्ट प्रोफेसरसमेत रहेका शर्माले बिबिसीलाई भनेका छन्, ‘एक खेलाडी बाँच्नुको पछाडि मैदानमा तत्कालै भएका प्रयास तथा मेडिकल टिमको सहायता नै थियो ।’ 

यसैगरी डेनमार्क टिमका डाक्टर मार्टिन बोसेनले पोस्ट म्याचमा एरिक्सनको अवस्थाबारे प्रतिक्रिया दिएका छन् । ‘यो स्पष्ट भइरहेको थियो, एरिक्सनको अवस्था अचेत र गम्भीर थियो । मैदानमा लडिरहेका एरिक्सनले बिस्तारै सास लिइरहेको देखेपछि नै तत्कालै सिपिआर गरेको डाक्टर मार्टिनले बताए । ‘उनी बेहोसी अवस्थामा थिए, जब म उनको नजिक गएँ, उनले हल्का सास लिइरहेको देखेँ, हेर्दाहेर्दै अवस्था परिवर्तन भयो र हामीले सिपिआर दिन सुरु गर्‍यौँ,’ उनले भने । 

मैदानमा एरिक्सनलाई बचाउन मेडिकल टिम तथा खेलाडीहरूले कुनै पनि कसर बाँकी नराखेको उनले बताए । ‘त्यसवेला हामीले जे गर्‍यौँ जुन आवश्यकता थियो, यही प्रयासकै कारण एरिक्सन होसमा आएजस्तो लाग्छ,’ उनले भने, ‘अच्चम के थियो भने मैदानमा जीवन र मृत्युको सामना गरिरहेका एरिक्सनले अस्पताल जानुअघि मसँग हल्का कुरा गरेका थिए ।’ एरिक्सनको आत्मबलले अद्भुत काम गरेका कारण उनी बाँच्न सफल भएको डाक्टर मार्टिनको भनाइ छ । 

डेनिस खेलाडीसमक्ष दुई विकल्प
म्याच अफिसियलले तत्कालै डेनमार्क र फिनल्यान्डको खेल रोके । एरिक्सनको अवस्था राम्रोसँग बाहिर नआउँदासम्म खेल शनिबारै पुनः सञ्चालन हुने वा भोलिपल्ट (आइतबार) हुने भन्ने अलमल थियो । अफिसियलले पनि डेनिस खेलाडीलाई शनिबारै खेल पूरा गर्ने वा आइतबार खेल्ने विकल्प राखेका थिए । 

एरिक्सनको अवस्था राम्रो भएको थाहा पाएपछि डेनिस खेलाडीहरूले शनिबारै खेल्ने निधो गरे । एरिक्सनलाई अस्पताल पुर्‍याइएको दुई घन्टापछि डेनमार्क र फिनल्यान्डबीच खेल सुरु भयो । डेनमार्क १–० ले पराजित भयो । ‘एरिक्सनको अवस्थापछि खेलाडी खेल्न तयार थिएनन्, तर रातभरि मानसिक तनाव लिएर भोलिपल्ट फिनल्यान्डविरुद्ध खेल्नुभन्दा शनिबारै प्रतिस्पर्धामा उत्रने निर्णय लिएका हौँ,’ डेनमार्कका प्रशिक्षक क्यास्परले भने, ‘हामीले भावनात्मक रूपमा खेल्यौँ, दोस्रो हाफमा जित निकाल्ने कोसिस पनि गरेका थियौँ, तर हाम्रै साथी जीवनमृत्युको बीचमा रहँदा, त्यसवेला दिमाग शून्य नै हुन्छ, तर हामीले खेल पूरा गर्‍यौँ ।’