मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ जेठ ३१ सोमबार १०:१०:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

खोपको माग गर्दै ट्यांकरचालकद्वारा काठमाडौंमा तेल वितरण ठप्प, डिपो प्रमुखप्रति असन्तुष्टि 

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ जेठ ३१ सोमबार १०:१०:००

इन्धन ढुवानी गर्ने ट्यांकरचालकले कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार काठमाडौंको थानकोट डिपोबाट इन्धन वितरण ठप्प पारेका छन् । अन्य दिनको तुलनामा बढी इन्धन बिक्री हुने आइतबार ट्यांकरचालकहरूले हडताल गरेर ढुवानी नगर्दा सोमबारदेखि उपत्यकामा इन्धन आपूर्तिमा समस्या हुन सक्ने देखिएको छ ।

भारतको बिहार राज्यमा पर्ने बरौनी र नेपालको बारास्थित अमलेखगन्जबाट काठमाडौंमा तेल ओसार्दै आएका चालकहरूले संक्रमणको जोखिम बढ्दै गएकाले खोप नलगाई इन्धन ढुवानी गर्न नसक्ने अडान राखेका छन् । पेट्रोलियमचालक संघको राष्ट्रिय समितिले आइतबार निगमलाई ज्ञापनपत्र बुझाउँदै खोप उपलब्ध नभएसम्म इन्धन ढुवानी रोक्ने आकस्मिक निर्णय सुनाएकाे थियाे ।

त्यसपछि थानकोटमा दिनभर चालकका प्रतिनिधिसँग छलफल भए पनि उनीहरू खोप नलगाई इन्धन ढुवानी गर्न नसक्ने अडानमा बसेपछि उपत्यकामा इन्धन वितरण हुन सकेन । थानकोट डिपोमा चालकहरूसँग छलफल गर्न निगमको केन्द्रीय कार्यालयबाट नायब कार्यकारी निर्देशक सुशील भट्टराई र वितरण विभाग प्रमुख दीपक बरालसमेत पुगेका थिए । उनीहरू करिब एक घन्टा छलफल गरेर डिपोबाट बाहिरिएका थिए ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले खोपका लागि पहल भइरहे पनि ट्यांकरचालकहरूले आकस्मिक हडताल गर्नु वाञ्छनीय नभएको बताए । ‘इन्धन अत्यावश्यक पदार्थ भएकाले ढुवानी तथा आपूर्तिमा यसरी अवरोध गर्न मिल्दैन,’ उनले भने, ‘चालकहरूको हडतालका कारण आइतबार निजी पम्पमा तेल वितरण भएको छैन ।’

निगमका अनुसार आइतबार सेना, प्रहरी, सशस्त्र र साझा सहकारीका पम्पले आफ्नै ट्यांकरमा तेल लगेका छन् । यी पम्पमा आइतबार पेट्रोल ८९ किलोलिटर र डिजेल ६६ किलोलिटर वितरण भएको छ । अहिले निषेधाज्ञाका वेला करिब पाँच–पाँच सय किलोलिटर पेट्रोल, डिजेल बिक्री भइरहेका वेला चालक हडतालका कारण आइतबार न्यून मात्रामा इन्धन वितरण भएको हो ।

खोप नपाएसम्म इन्धन ढुवानी नगर्ने ट्यांकरचालकको अडानमा पेट्रोलपम्प सञ्चालकहरूले समेत समर्थन जनाएका छन् । पम्प सञ्चालकहरूको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा भएकाले निषेधाज्ञामा समेत निर्वाध इन्धन ढुवानी गर्ने चालकलाई खोप लगाउन सरकारले प्राथमिकता दिनुपर्ने जनाएको छ । एसोसिएसनले पम्पका मजदुर, कर्मचारी र सञ्चालकहरूलाई समेत खोप प्राथमिकतामा राखेर लगाउन सरकारलाई आग्रह गरेको छ ।

चीनबाट ८ लाख डोज खोप आएर वितरण सुरु भएपछि चालकहरूले यो चरणमा खोप लगाउन पाउनुपर्ने माग राखेका हुन् । तर, सरकारले यो खोप ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने गरी व्यवस्थापन गरेको छ ।

डिपो प्रमुखसँगको बढ्दो असन्तुष्टिको परिणाम
थानकोट डिपोमा फागुन अन्तिम सातादेखि अभिषेक ठाकुर कार्यालय प्रमुखका रूपमा काम गर्दै आएका छन् । उनको कार्यशैलीलाई लिएर चालक, सहचालक र कर्मचारीले समेत सुरुकै दिनबाट गुनासो गर्दै आएका छन् । एक सातायता डिपोप्रमुख ठाकुरसँग चालक, सहचालकको सम्बन्ध नै बिग्रेको छ । ठाकुरसँगको सम्बन्ध बिग्रेपछि चालक, सहचालकहरूले अहिले खोप लगाउनुपर्ने माग राख्दै आपूर्ति नै ठप्प पारेर उनलाई असहयोग गर्ने रणनीति लिएका हुन् ।

 
गत १८ जेठमा थानकोट डिपोमा तेल अनलोडिङका लागि पार्किङ यार्डमा लामबद्ध बनेका ट्यांकरलाई पालो प्रणालीमा डिपोभित्र प्रवेश गराई तेलको नापजाँच लिनुको सट्टा ठाकुरको निर्देशनमा ६२औँ नम्बरमा रहेको ना.७ख ८०४९ नम्बरको ट्यांकरलाई भित्र छिराइएकाे थियो । तत्कालै सो ट्यांकरभन्दा अघि रहेका चालक, सहचालकले यसको विरोध गरेका थिए ।

ट्यांकरधनीहरूको संगठन मध्यमाञ्चल पेट्रोलियम ढुवानी संघका अध्यक्ष दीपक सिवाकोटीले ठाकुरलाई फोन गरेर आपत्ति जनाएका थिए । समस्या समाधान हुने आस गरेका सिवाकोटीलाई त्यसलगत्तै ना.७ख ८०४९ नम्बरको ट्यांकरधनी प्रह्लाद तिमिल्सिनाले गाली तथा डरधम्की देखाई फोनमा हप्कीदप्की गरेको चालकहरूको आरोप छ ।  
कार्यालयप्रमुख ठाकुरकै मिलेमतोमा ट्यांकरधनी तिमिल्सिनाले आफूहरूलाई गाली र डरधम्की दिएको चालकहरूको निष्कर्ष थियो । त्यसपछि १९ जेठमा संघले तिमिल्सिनालाई कारबाही गरिपाउँ भन्दै निगमको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

त्यसयता चालकहरूले इन्धन ढुवानीमा असहज बनाउँदै आएका थिए । इन्धन ढुवानीमा असहज हुने भएपछि कार्यालय प्रमुख ठाकुरले एक साताअघि सोही घटना समाधानका लागि चालक र ट्यांकरधनी तिमिल्सिना, ढुवानी तथा पेट्रोलियम व्यवसायीका केन्द्रीय प्रतिनिधिसहितको छलफल राखेका थिए । सो बैठकमा ठाकुरले पैसा खाएर पछाडिको ट्यांकरलाई पालो मिचेर तेल नापजाँचका लागि डिपोभित्र छिराएको चालकहरूले आरोप लगाएका थिए ।

छलफलबाट घटनालाई सामसुम पार्ने प्रयत्न गरिए पनि डिपो प्रमुख ठाकुरले ट्यांकर साहूको पक्ष लिएको भन्दै चालकहरू रुष्ट बनेका थिए । कार्यालय प्रमुख ठाकुरले भने खोपको विषय व्यक्तिगत असन्तुष्टिले ननिस्किएको बताए । ‘मसँग असन्तुष्टि राख्नुपर्ने कुनै कारण छैन । अर्कातिर खोपको विषय व्यक्तिगत कारणले उठेको होइन,’ उनले भने, ‘एक महिनाअघिदेखि चालकहरूले खोप लगाउन नपाए इन्धन ढुवानी गर्न नसक्ने बताइरहेका थिए । आइतबारबाट अवरुद्ध गरे ।’

उनले डिपो सञ्चालनमा चालक, सहचालक तथा कर्मचारीलाई तोकिएको जिम्मेवारीअनुसार काम लगाइरहेको बताए । ‘अरू केही कारणले मसँग कसैको असन्तुष्टि छ भने अलग कुरा हो, तर काम गर्ने विषयमा मैले सबैलाई तोकिएको जिम्मेवारी दिएको छु र निगरानी गर्दै आएको छु,’ उनले भने ।

मन्त्रालयद्वारा खोपका लागि आग्रह
मजदुरहरूले हडताल गरी इन्धन ढुवानीमा अवरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र, छाउनीलाई आइतबार दिउँसो पत्र लेख्दै खोप उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले पेट्रोल पम्पका कर्मचारी, मजुदर र सञ्चालकलाई १० हजार तीन सय ४६ डोज तथा पेट्रोलियम ट्यांकरचालक, सहचालकलाई तीन हजार सात सय डोज खोप उपलब्ध गराउन आग्रह गर्दै पत्र लेखेको हो । 

त्यस्तै, ट्रक यातायात व्यवसायी महासंघका लागि एक लाख ४० हजार, ग्यास बिक्रेता महासंघलाई दुई सय, आयल निगमका कर्मचारीलाई एक हजार र साल्ट ट्रेडिङ कर्पोरेसनका कर्मचारीलाई एक सय ५० डोज खोप उपलब्ध गराउन आग्रह गरेको छ । यसअघि २१ वैशाख र ५ जेठमा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप उपलब्ध गराउन पत्र लेखेको थियो । तर, खोपको अभाव भएकाले उपलब्ध गराउन नसकिएको स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ ।