मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ जेठ ३१ सोमबार ०७:१९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मूल्य बढाउन उद्योगहरूद्वारा पारासिटामोलको कृत्रिम अभाव सिर्जना : एक रुपैयाँको पारासिटामोलको मूल्य तीन रुपैयाँ पुर्‍याउन दबाब

१० दिनभित्र पाँच करोड ट्याबलेट आयात गरेर उपलब्ध गराउने प्रस्तावलाई दिइएन अनुमति

Read Time : > 2 मिनेट
२०७८ जेठ ३१ सोमबार ०७:१९:००

दुई गुणा मूल्यवृद्धि गराउन दबाब दिने उद्देश्यसहित औषधि उत्पादक कम्पनीहरूले योजनाबद्ध रूपमा बजारमा पारासिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै महामारीका वेला उनीहरूले एक रुपैयाँ पर्ने पारासिटामोलको मूल्य तीन रुपैयाँ पु¥याउन औषधि व्यवस्था विभागलाई दबाब दिएका छन् ।


कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको पारासिटामोल केही दिनदेखि बजारमा अभाव छ । उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी सरकारलाई मूल्यवृद्धि गर्न बाध्य बनाउने रणनीति अपनाएका छन् । ‘औषधि उत्पादक कम्पनीहरूले महामारीको मौका छोपेर मूल्य बढाउन लबिङ गरिरहेका छन् । यो न्यायोचित छैन,’ औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘०६४ मा पारासिटामोलको मूल्य एक रुपैयाँ निर्धारण गरिएको थियो । त्यसयता मूल्यमा समायोजन भएको छैन । यही मौकामा उद्योगीहरूले यस्तो रणनीति अवलम्बन गरेका हुन् ।’ 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले पनि उद्योगीहरूलाई बल पुगेको केसीले बताए । ‘तर, औषधि व्यवस्था विभाग पारासिटामोलको मूल्य बढाउने पक्षमा छैन,’ उनले भने । बजारमा पारासिटामोलको अभाव नै नभएको केसीको दाबी छ । 

‘बजारमा जसरी औषधि छैन भन्ने कुराहरू बाहिर आएको छ, त्यस्तो अवस्था भने होइन । दुईवटा पसलमा नभेटिएको पारासिटामोल तेस्रो पसलमा भेटिएको छ । कोरोनाकालभन्दा अगाडि पारासिटामोलको वार्षिक खपत साढे पाँच करोड ट्याबलेट भए पनि अहिले दोब्बरले उत्पादन भएको छ । त्यहीअनुसारको माग छ,’ केसीको भनाइ छ । 

१० दिनभित्र पाँच करोड ट्याबलेट आयात गरेर उपलब्ध गराउने प्रस्तावलाई दिइएन अनुमति
महामारीका वेला सरकारले आपत्कालीन रूपमा विदेशबाट भए पनि पारासिटामोल आयात गरेर माग पूर्ति गर्नुपर्ने हो । तर, आयन हेल्थ केयर प्रालिले अहिलेको बजार मूल्यभन्दा सस्तो दररेटमा १० दिनभित्र पारासिटामोल उपलब्ध गराउने भन्दै दुईपटक अनुमति माग्दासमेत औषधि व्यवस्था विभागले चासो दिएको छैन । 

बंगलादेशबाट पाँच सय एमजीका पाँच करोड ट्याबलेट १० दिनभित्र आयात गरेर अभाव न्यूनीकरण गर्ने आयनको प्रस्ताव छ । उसले पहिलोपटक ५ जेठ र पछिल्लोपटक २४ जेठमा आपत्कालीन अनुमतिको माग गर्दै औषधि व्यवस्था विभागमा निवेदन दिएको थियो । तर, औषधि उद्योगहरूको प्रभावमा परेर विभागले चासो नदेखाएको स्रोतको दाबी छ ।

‘सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारको मौलिक हकबाट वञ्चित हुन नदिनुपर्ने हो । यस्तो महामारीका वेला त झन् तत्काल बाहिरबाट खरिद गरेर भए पनि ल्याउनुपर्ने हो,’ विभागकै एक अधिकारीले भने, ‘तर, सस्तोमा दिन्छु भनेर दुई–दुईपटक आपत्कालीन आयातको अनुमति माग गर्दासमेत नेपाली उद्योगहरूको प्रभाव र आर्थिक चलखेलका आधारमा विभागले आयातको अनुमति दिएको छैन ।’

आयनले अहिलेको बजार मूल्यभन्दा सस्तो रेटमा पारासिटामोल उपलब्ध गराउने प्रस्ताव गरेको छ । बजारमा अहिले पारासिटामोल एक ट्याबलेटको एक रुपैयाँ पर्छ । तर, आयानले प्रतिट्याबलेट ९५ पैसामा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । तर, औषधि उत्पादक संघले भने उद्योगीबाट नभएर राज्यबाट नै कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरेको छ । ‘दुई करोड ट्याबलेट पारासिटामोल अहिले पनि बजारमा मौज्दात छ । फेरि पनि आवश्यकभन्दा बढी माग भएको छ ।

 

१० महिनामा नेपाली औषधि उद्योगले १० करोड ट्याबलेट पारासिटामोल बजारमा पठाएको छ,’ संघका महासचिव विप्लव अधिकारीले भने, ‘जब कि कोभिडभन्दा अगाडि वर्षमा पाँचदेखि ६ करोड ट्याबलेट पारासिटामोल मात्रै बजारमा खपत हँुदै आएको थियो । जनतामा भ्रम सिर्जना गर्न अहिले उनीहरूले (मेडिकलहरू) चाहिनेभन्दा बढी किने, त्यसैले बजारमा अभाव देखिएको हो ।’ मेडिकल सञ्चालकहरूले आवश्यकताभन्दा बढी मागिरहेको उनको भनाइ छ । 

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले पनि बजारमा पारासिटामोलको अभाव नभएको दाबी गरे । अभाव नभएकै कारण बाहिरबाट आयात गर्न अनुमति नदिइएको उनको भनाइ छ । ‘अहिले आवश्यक मात्रामा पारासिटामोल भएकाले नै आयातका लागि तत्काल अनुमति दिनुपर्छ जस्तो लागेको छैन,’ उनले भने, ‘तर, यही अवस्था बढ्दै गएमा त्यसबारे पनि सोच्न सकिन्छ । 

संघले मूल्य वृद्धिको प्रस्ताव चार वर्षअघि नै राखेको महासचिव अधिकारीले बताए । ‘औषधि अभाव भएको होइन, अभाव सिर्जना गरिएको हो । त्यो उद्योगहरूबाट होइन, राज्यबाट गरिएको हो । हामीले औषधिको मूल्य बढाउन अहिले मात्रै होइन, चार वर्षअगाडि औषधि नै व्यवस्था विभागमा पत्राचार गरेका छौँ ।’

उद्योगहरूले होइन, राज्यबाटै अभाव सिर्जना गरिएको हो 
विप्लव अधिकारी, महासचिव औषधि उत्पादक संघ

नेपालमा १६ वटा उद्योगले पारासिटामोल उत्पादन गरेर बजारमा पठाइरहेका छन् । मूल्य वैज्ञानिक रूपमा बढाउनुपर्ने हो । औषधि अभाव भएको होइन, अभाव सिर्जना गरिएको हो । त्यो उद्योगहरूबाट होइन, राज्यबाट गरिएको हो । हाम्रा उद्योगहरूले पारासिटामोलको उत्पादन गरिरहेका छन् ।

दुई करोड ट्याबलेट पारासिटामोल अहिले पनि बजारमा मौज्दात छ । आवश्यकभन्दा बढी माग भएको छ । विगत १० महिनामा नेपाली औषधि उद्योगले १० करोड ट्याबलेट पारासिटामोल बजारमा पठाएको छ । कोभिडभन्दा अगाडि वर्षमा पाँचदेखि ६ करोड ट्याबलेट पारासिटामोल मात्रै बजारमा खपत हुँदै आएको थियो । 

जनतामा भ्रम सिर्जना गर्न उनीहरूले (मेडिकल) चाहिनेभन्दा बढी किने, त्यसैले बजारमा अभाव देखिएको हो । विगतका वर्षहरूमा भन्दा तीन गुणासम्म बढी ट्याबलेट पारासिटामोल उत्पादन भएको अवस्थामा कुनै पनि हालतमा अभाव हुन सक्दैन । हामीले औषधिको मूल्य बढाउन अहिले मात्रै होइन, चार वर्षअगाडि नै औषधि व्यवस्था विभागमा पत्राचार गरेका छौँ ।