मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ ३० आइतबार २०:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एक अर्बको लगानीमा रुपन्देहीमा अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीद्वारा उद्घाटन

Read Time : > 1 मिनेट
२०७८ जेठ ३० आइतबार २०:४९:००

रुपन्देहीको छिपागढ सेमरहवामा लिक्विड अक्सिजन प्लान्टको निर्माण सुरु भएको छ । शंकर ग्यास उद्योग प्रालिले मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट निर्माण सुरु गरेको हो । 
उद्योग सञ्चालनमा आएपछि दैनिक ६० टन लिक्विड अक्सिजन र दश टन लिक्विड नाइट्रोजन उत्पादन गर्ने उद्योगका म्यानेजर शम्भु भण्डारीले बताए । यो उद्योग १० महिनामा निर्माण सम्पन्न हुने भण्डारीले बताए । हाल उद्योगले दैनिक ५०० सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्दै आएको छ ।

प्रधानमन्त्रीले गरे शिलान्यास 
शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा ओलीले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रलाई समेत सहभागिता गराउँदै महामारीको यो संकट पार गर्ने बताए ।

एक्कासि अक्सिजनको माग बढेकाले देशमा उपलब्ध साधन, स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्नेलगायतका कामसमेत गरिएको उनले उल्लेख गरे । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेकोे प्रधानमन्त्री ओलीले बताए ।

आगामी दिनमा कोभिड– १९ को महामारी हटिसकेपछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने बताउँदै प्रधानमन्त्री ओलीले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताए । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदशेका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशको मात्र नभई देशमा भइरहेको अक्सिजनको मागलाई परिपूर्ति गर्ने बताए । 

करिब एक अर्बको लगानीमा निर्माण गर्न लागिएको उक्त अक्सिजन प्लान्टका उपकरणहरू भारत र चीनबाट आउने म्यानेजर भण्डारीले बताए । ‘हामीले युद्धस्तरमा काम गरेर प्लान्टलाई १० महिनामा सञ्चालनमा ल्याउनेछौँ,’ उनले भने ।

प्लान्ट सञ्चालनका लागि मुख्यतया पाँच मेगावाट विद्युत् चाहिने हुँदा सोको आपूर्तिका लागि विद्युत् प्राधिकरणले आश्वासन दिएको भण्डारीले बताए । उद्योगबाट उत्पदित ग्यास देशभित्र खपत गर्ने र नेपालमा खपत नभएको खण्डमा भारततर्फ पनि निर्यात गर्ने भण्डारीको भनाइ छ ।