मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोल्पा अस्पताल रेउघामा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती । तस्बिरः नवीन लोचनमगर
२०७८ जेठ ३० आइतबार १९:०१:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री पुनद्वारा रोल्पामा स्वास्थ्य सामग्री हस्तान्तरण

Read Time : > 2 मिनेट
२०७८ जेठ ३० आइतबार १९:०१:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्लामा ११ सय एन्टिजेन किट, अक्सिजन जेनेरेटर, एन ९५ मास्क, सर्जिकल मास्क, अक्सिजन ब्यागलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री निःशुल्क रूपमा प्रदान गरिएको पुनको सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रको आग्रहमा चीन तथा अन्य देशमा रहेका पार्टीनिकट संगठनहरूले पठाएको स्वास्थ्य सामग्री विभिन्न जिल्लामा पु¥याइएको बताइएको छ । पूर्वमन्त्री पुन तथा पूर्वसभामुख ओनसरी घर्तीसहितको टोलीले रोल्पाका दशवटै स्थानीय तह तथा अन्य निकायलाई स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएको छ ।

अस्पताल र स्थानीय तहलाई एन्टिजेन किट
पूर्वमन्त्री पुनले रोल्पाका लागि ल्याएका ११०० एन्टिजेन किट रोल्पा अस्पताल र दशवटा स्थानीय तहलाई हस्तान्तरण गरेका छन् । शुक्रबार सुलिचौरमा सुनिलस्मृति, सुनछहरी र लुंग्री गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री दिएका उनले शनिबार रोल्पा अस्पतालमा र आइतबार जिल्लाको पश्चिमी क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

स्वाब संकलन गरेर जिल्लाबाहिर पठाउँदा हप्ता दिनसम्म पनि नतिजा नआउने हुँदा समस्यामा रहेका स्थानीय तहलाई पूर्वमन्त्री पुनले हस्तान्तरण गरेको एन्टिजेन किटले धेरै समस्या हल गर्ने स्थानीय तहहरूले बताएका छन् । ‘एन्टिजेन किटले कोरोना जाँचमा छिटोछरितो हुने भएकाले पनि यसलाई प्रभावकारी ठानेका छौँ,’ सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने, ‘पूर्वमन्त्रीज्यूले स्वास्थ्य सामग्री दिएर हामीलाई थप हौसला दिनुभएको छ, सबैको सकारात्मक पहलकदमीले कोरोना भाइरसलाई पराजित गर्नेछौँ ।’

अग्रपंक्तिमा रहेकालाई प्राथमिकता
कोरोना भाइरसबाट अग्रपंक्तिमा रहेकाहरू सबैभन्दा धेरै प्रभावित हुने भन्दै जिल्लाका विभिन्न निकायलाई प्राथमिकताका साथ स्वास्थ्य सामग्री उपलब्ध गराइएको पूर्वमन्त्री वर्षमान पुनले बताए । शनिबार रोल्पा अस्पतालमा आयोजित कार्यक्रममा पूर्वमन्त्री पुन, पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेश सांसद दीपेन्द्रकुमार पुनले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे । जसअनुसार रोल्पा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर एक थान, एन ९५ मास्क सयवटा, सर्जिकल मास्क २५ सयवटा, इन्टिजेन किट सयवटा र पिपिई सेट दुई सेट हस्तान्तरण गरिएको थियो । 


त्यस्तै, रोल्पा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर दुई थान, एन ९५ मास्क दुई सयवटा, सर्जिकल मास्क पाँच हजारवटा, एन्टिजेन किट सयवटा, पिपिई पाँच सेट र स्यानिटाइजर एक कार्टुन उपलब्ध गराइएको छ । अन्य निकायहरूमा जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल पत्रकार महासंघ, रोल्पालाई एन ९५ मास्क ५० र सर्जिकल मास्क एक हजार पिसका दरले हस्तान्तरण गरिएको थियो । त्यस्तै, राष्ट्रिय अनुसन्धानलाई पाँच सयवटा सर्जिकल मास्क, जिल्ला कारागारलाई एक हजारवटा सर्जिकल मास्क र लिवाङमा रहेको बालकल्याण नमुना माविलाई हजारवटा सर्जिकल मास्क हस्तान्तरण गरिएको छ ।

आइतबार घर्तीगाउँमा अक्सिजन कन्सन्ट्रेटर एक थान, एन ९५ मास्क सयवटा, सर्जिकल मास्क तीन हजारवटा, एन्टिजेन किट सयवटा र पिपिई दुई सेट माडी र गंगादेव गाउँपालिकालाई समान परिमाणमा हस्तान्तरण गरिएको छ भने जिल्लाको परिवर्तन, थवाङ, त्रिवेणी र रुन्टीगढीलाई पनि सोही अनुपातमा वितरण गरिने बताइएको छ ।

पहिले कोरोनाविरुद्ध लडौँ, राजनीति गर्दै गरौँला  : पुन
पूर्वमन्त्री पुनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन् । स्वास्थ्य सामग्री जिल्लामा पु¥याउने विषयमा केही व्यक्तिले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसको कडा प्रतिवाद गरे । ‘पहिले सबैको साझा दुस्मनको रूपमा रहेको कोरानाविरुद्ध लडौँ,’ पुनले भने, ‘मान्छेको ज्यान बचाउने सवालमा कोही नपन्छिऔँ, राजनीति त गर्दै गरौँला ।’ आफूले पनि नगर्ने, तर गर्न खोज्नेहरूलाई पनि गर्न नदिने प्रवृत्तिले कोही कसैलाई फाइदा नहुने उनको तर्क थियो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका पुनले कोरोना संक्रमण जोखिम अझै रहेकाले सबै सचेत र सतर्क रहनुपर्नेमा जोड दिए । सधैँभरि निषेधाज्ञा गरेर पनि समस्या नहट्ने भन्दै उनले स्वास्थ्य सतर्कता अपनाएर विकास निर्माण तथा अन्य काम पनि सँगसँगै अगाडि बढाउनुको विकल्प नरहेको बताए । कोरोनासँग पनि लड्ने र काम पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।