मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
साइद गोल्कर
२०७८ जेठ ३० आइतबार ०६:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

थप कट्टरपन्थी बन्दै छ इरान

Read Time : > 2 मिनेट
साइद गोल्कर
२०७८ जेठ ३० आइतबार ०६:४३:००

आयतोल्लाह अली खमेनीको प्रभाव बढाउने औजार बन्दै छ इरानको आगामी राष्ट्रपतीय चुनाव 

 इरानको आगामी राष्ट्रपतीय चुनावका लागि ५२९ जनाले नाम दर्ता गरेका थिए । तर, इरानको गार्जियन काउन्सिलले जम्मा आठजनाको उमेदवारीलाई मात्र मञ्जुरी दिएको छ । इरानमा सम्पन्न हुने विभिन्न चुनावमा उमेदवार हुन चाहने व्यक्तिले पहिले गार्जियन काउन्सिलबाट स्वीकृति लिनुपर्छ । काउन्सिलमा ६ जना धर्म तथा कानुनका ज्ञाता र ६ जना वकिल हुन्छन् । कानुनका ज्ञातालाई इरानका सर्वोच्च नेताले नियुक्त गर्छन् भने वकिललाई न्यायालयका प्रमुखले मनोनय गरेर संसद्ले चुन्छ । 

गार्जियन काउन्सिलले आगामी चुनावमा उठ्न बन्देज लगाएकाहरूमा इरानी संसद्का पूर्वसभामुख अली लारिजानी, पूर्वराष्ट्रपति महमुद एहमेदिनेजाद र वर्तमान उपराष्ट्रपति इसाक जहानगिरीसम्म छन् । काउन्सिलले उमेदवारी स्वीकृति दिएका आठजनामध्ये सबै वैचारिक रूपमा कट्टरपन्थी मानिन्छन् । तिनमा न्यायालयका प्रमुख आयतोल्लाह इब्राहिम रैसी, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का पूर्वसचिव तथा आणविक वार्ताकार सइद जलिली, एक्पेडियन्सी काउन्सिलका सचिव मोहसेन रेजाई, एकजना इस्लामिक रिभोलुस्नरी गार्ड कोर्पका पूर्वप्रमुख, दुई सांसद अलिरेजा जकानी र अमिरहोसेन काजिजादेह–हसेमी छन् । अन्य दुई उमेदवारहरू इरानी केन्द्रीय बैंकका पूर्वगभर्नर अब्दोलनासेर हेम्मती र इरानको राष्ट्रिय खेल संगठनका प्रमुख मोहसेन मेहरालिजादेह छन् ।

राष्ट्रपतीय चुनावमा उठ्न अनुमति पाएका आठ उमेदवारमध्ये पनि आयतोल्ला इब्राहिम रैसीलाई प्रमुख उमेदवारको रूपमा हेरिएको छ । इरानसम्बन्धी धेरै जानकारले रैसी आगामी राष्ट्रपति मात्र नभएर भविष्यमा इरानको सर्वोच्च नेतासमेत बन्न सक्ने अनुमान गरेका छन् । गार्जियन काउन्सिलले दशकौँदेखि सचेततापूर्वक चुनावी परिणामलाई वर्तमान सर्वोच्च नेता अली होसेनी खमेनीको चाहनाअनुरूप बनाउने प्रयास गर्दै आएको छ । तर, अहिलेजस्तो उच्च संख्यामा क्षमतावान् उमेदवारलाई चुनावमा कहिल्यै रोक लगाइएको थिएन । 

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले जुन १८ मा हुन लागेको राष्ट्रपतीय चुनावलाई देशमाथि आफ्नो विचार कार्यान्वयन गर्ने अवसरका रूपमा हेरेका छन् 

इरानी संस्थापनले अहिलेको समयलाई इस्लामिक गणतन्त्रको इतिहासको सबैभन्दा महत्वपूर्ण समय मानेको छ । खमेनीका घनिष्ट मित्र मेहदी तयवले केही समयअघि ‘क्रान्तिलाई शुद्ध बनाउन’ आवश्यक रहेको सार्वजनिक रूपमा बोले । ‘क्रान्तिलाई शुद्ध बनाउन’भनेर के संकेत गर्न खोजिएको भन्ने बुझ्ने हो भने खमेनीकै राजनीतिक विचारधारामाथि नजर लगाउनुपर्छ । सन् १९९० को दशकको अन्त्यमा खमेनीले कुनै पनि सफल इस्लामिक क्रान्तिका पाँच आधारभूत चरण हुने बताएका थिए । खमेनीका अनुसार क्रान्तिको सोपानमा पहिलो चरण इस्लामिक क्रान्ति आफैँलाई मानिन्छ । दोस्रो चरणमा इस्लामिक शासनको विकास हुने र तेस्रोमा इस्लामिक सरकार हुने खमेनीको मान्यता छ । चौथो चरणमा इस्लामिक समाजको निर्माण भएपछि बिस्तारै त्यसले पाँचौँ चरण अथवा सर्वोच्च स्थिति इस्लामिक सभ्यता विकास गर्ने उनको विचार छ ।

इस्लामिक सभ्यता विश्वभरका सम्पूर्ण मुसलमान–बहुल मुलुकका लागि आदर्श हुने खमेनीको विश्वास छ । खमेनीका अनुसार माथिका चरणमध्ये इरानले दुई चरण पार गरिसकेको छ, तर अझै तेस्रो चरणमा पुग्न सकेको छैन । त्यसैले अहिलेका लागि खमेनीको प्रमुख राजनीतिक उद्देश्य उनी र उनको देशप्रति निष्ठा राख्ने असली इस्लामिक सरकार बनाउने छ । सन् २०१९मा एक घोषणापत्र नै प्रकाशित गर्दै खमेनीले तेस्रो चरणका लागि लागिपर्ने बताएका थिए । इरानका सर्वोच्च नेताले आफ्नो अधिकार क्षेत्रको उपयोग गर्दै देशका अनिवार्चित तर राजनीतिक रूपमा अति शक्तिशाली निकायहरू (सैन्य फौज, न्यायालय, धार्मिक संगठन र मिडिया) मा आफूप्रति निष्ठा राख्ने कट्टरपन्थी युवाहरू नियुक्ति गर्दै आएका छन् । गार्जियन काउन्सिलको सहयोगमा उनले सन् २०२० को संसदीय चुनावमा आफूप्रति विश्वास राख्ने कैयौँ युवाहरूलाई जिताए । अर्को महिना हुने राष्ट्रपतीय चुनावलाई खुमेनीको ‘इस्लामिक सरकार’ निर्माण गर्ने प्रयासको अन्तिम कडीको रूपमा हेरिएको छ । सन् १९८९ मा सर्वोच्च नेता चुनिएसँगै खमेनीले चारजना राष्ट्रपति भोगिसकेका छन् । 

तीमध्ये एहमेदिनेजादको पहिलो कार्यकाल खमेनीको ‘इस्लामिक सरकार’को विचारधारानजिक थियोे । तर, दोस्रो कार्यकालमा एहमेदिनेजाद र खमेनीबीच मतभिन्नता उत्पन्न भयो । खमेनी अहिले अहमेदिनेजादको पहिलो कार्यकालको जस्तै विचार मिल्ने तर पूरा समय उनीप्रति निष्ठा राख्ने नेतालाई जिताउने प्रयासमा छन् । खमेनी सफल भए भने नयाँ सरकार र सर्वोच्च नेताबीच विभिन्न समय देखिने भिन्नता मेटिनेछ । खमेनीको सोचअनुरूपको नयाँ प्रशासन बनेमा समाजमा थप धार्मिक विचार थोपरिनेछ र यसका लागि बल प्रयोग गर्नुपर्ने हुन्छ । किनकि इरानी समाजको ठूलो हिस्सा थप उदार हुँदै गएकाले त्यसको विरोध गर्नेछ । वृद्ध उमेरका खमेनी आफू गएपछि पनि आफ्नो विचार जीवित राख्ने प्रयासमा छन् । 

(साइद गोल्कर युनिभर्सिटी अफ टेनिसीका राजनीतिशास्त्रका सह–प्राध्यापक हुन्)
अलजजिराबाट