मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टर्कीविरुद्ध गोल गरेपछि खुसी मनाउँदै इटालीका खेलाडी ।
एजेन्सी
२०७८ जेठ ३० आइतबार १०:२७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरो २०२० : इटालीको सुखद सुरुवात, वेल्स र  स्विट्जरल्यान्डले अंक बाँडे

Read Time : > 2 मिनेट
एजेन्सी
२०७८ जेठ ३० आइतबार १०:२७:००

रंगशालामा खेल हेर्न आउने दर्शकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएको, संक्रमण नरहेको वा पहिले नै संक्रमण भएर निको भएको प्रमाण पेस गर्नुपर्नेछ 

आजको खेल
इंग्ल्याण्डविरुद्ध क्रोएसिया ६:४५ साँझ
अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया ९:४५ राति
नेदरल्याण्डविरुद्ध युक्रेन १२:४५ मध्यराति

...                                               ...

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एक वर्ष रोकिएको युरोपेली फुटबलको महाकुम्भ मेला युरोकप २०२० सुरु भएको छ । इटालीले शुक्रबार अबेर राति घरेलु मैदानबाट विजयी सुरुवात गर्दा शनिबार वेल्स र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पहिलो चरणको खेलपछि समूह एमा इटालीले शीर्ष स्थान कायम गरेको छ । वेल्स र स्विट्जरल्यान्ड समूहमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । इटालीसँग पराजित टर्की चौथो स्थानमा छ । शनिबार साँझ अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट फर्किएर वेल्सले स्विट्जरल्यान्डसँग अंक खोसेको हो । वेल्सलाई केइफर मुरले उद्धार गरे । राष्ट्रिय टोलीको पहिलो रोजाइमा फर्किएका उनले महŒवपूर्ण खेलमा महŒवपूर्ण गोल गर्दै टोलीमा आफ्नो महŒव देखाएका छन् । 

खेलमा स्विट्जरल्यान्डले सुरुवातबाट पकड बनाएको थियो । सुरुवातमै धेरै राम्रा अवसर चुकाएपछि स्विट्जरल्यान्डले ४९औँ मिनेटमा गोल गरेको थियो । साकिरीले प्रहार गरेको कर्नरमार्फत आएको बललाई ब्रिल इम्बोलोले हेडिङमार्फमा गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई अघि बढाएका थिए । खेल सकिन १५ मिनेट बाँकी रहँदा जोई मोरेलको क्रसमा हेडिङ गोलमार्फत नै मुरले वेल्सलाई हारबाट जोगाए । त्यसको १० मिनेटपछि स्विट्जरल्यान्डका परिवर्तित खेलाडी मारियो ग्राभानोभिचले गोल गरेका थिए । यद्यपि, भारले मारियोलाई अफ साइड देखाइदियो ।

उपाधिमाथि इटालीको दाबेदारी
इटालीले उद्घाटन खेलमा टर्कीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलबाटै उपाधिमाथिको दाबेदारी प्रस्तुत गरेको छ । रोमस्थित घरेलु ओलम्पिक स्टेडियममा आत्मघाती गोलमार्फत अग्रता लिएको इटालीले थप दुई गोल थप्दै सुखद सुरुवात गरेको हो । इटालीले खेलको दोस्रो हाफमा मेरिह डेमिरलबाट आत्मघाती गोल उपहार पाएका थिए । त्यसपछि सिरो इमोबिल र लोरेन्जो इन्सिग्नेले एक–एक गोल गरेपछि इटालीले आरामदायी जित हात पारेको हो ।

खेलको पहिलो हाफमा दुवै टोलीले राम्रा अवसरका लागि संघर्ष गरे । इटालीलाई पनि खेलको पहिलो हाफमा लय भेट्टाउन मुस्किल रह्यो । एकपटक इन्सिग्नेले डोमेनिको बेरार्डीसँग वान टु वान पास खेल्दै राम्रो मुभ बनाएका थिए । यद्यपि, उनको प्रहारले सही दिशा लिन सकेन । 

खेलमा इटालीले सुरुवातबाटै दबाब बनाएको थियो । यद्यपि, उसले कुनै राम्रो अवसर पाइरहेको थिएन । इटालीका दिग्गज रक्षक जियरजियो चिलेनीको एउटा उत्कृष्ट हेडिङलाई टर्किस गोलरक्षक उगुरकान काकिरले मुस्किलले क्लियर गरेका थिए । 

दोस्रो हाफमा भने इटाली थप सशक्त रूपमा प्रस्तुत भयो । दोस्रो हाफ सुरु भएपछि आठ मिनेट मात्रै लाग्यो, इटालीलाई खेलमा गतिरोध तोड्न । बेरार्डीले क्रस गरेको बललाई क्लियर गर्ने प्रयासमा टर्कीका रक्षक डेमिरलले आफ्नै पोस्टमा छिराएका थिए ।

त्यसपछि खेलको ६६औँ मिनेटमा इमोबिलले टोलीको अग्रता दोब्बर बनाए । उनले सहकर्मी लिओनार्दाे स्पिनाज्जोलाको रिबाउन्ड सटलाई गोलमा परिणत गराएका थिए । त्यसपछि खेल सकिन मात्रै १० मिनेट बाँकी रहँदा इन्सिग्नेले टोलीको जित ३–० ले निश्चित गरेका थिए ।

युरोकप यसपटक निर्धारित समयभन्दा एक वर्षपछि सुरु भएको हो । गत वर्ष नै आयोजना हुनुपर्ने प्रतियोगिता कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि सरेको हो ।
रोमस्थित ओलम्पिक स्टेडियममा इटालियन घरेलु दर्शकले लामो समयपछि आफ्नो क्षेत्रको प्रतिष्ठित प्रतियोगिताको अनुभव लिने अवसर पाए । स्टेडियमको पूर्ण क्षमताको २५ प्रतिशत हुने गरी मात्रै दर्शकलाई अनुमति दिइएको थियो ।

आयोजकले रंगशालामा खेल हेर्न आउने दर्शकका लागि कोनोना भाइरसविरुद्धको भ्याक्सिन लगाएको, संक्रमण नरहेको वा पहिले नै संक्रमण भएर निको भएको प्रमाण पेस गर्नुपर्नेलगायत नियम लागू गरेको छ । इटालीको राजधानी युरोकप २०२० को खेल आयोजना गर्ने ११ मध्येको एक सहर हो । ‘अन्त्यमा यो सम्भव भएको छ । अवस्था पहिलेको भन्दा राम्रो भएको छ,’ खेलपछि इटालीका प्रशिक्षक रोबर्टाे मान्सिनी भन्छन्, ‘हामीलाई पनि आफ्ना समर्थकलाई खुसी बनाउने अवसर मिलेको छ ।’ सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरस महामारीबाट युरोपमा १० लाखभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये झन्डै एक लाख २७ हजार इटालियन छन् ।

प्रतियोगिता गत मार्च २०२० मा स्थगित गरिएको थियो, जतिवेला युरोपियन देशहरू भाइरस संक्रमणबाट बच्ने प्रयास गर्दै थिए । गत वर्ष युरोपमा युरोकपदेखि धेरै ठूला प्रतियोगिताहरू रद्द भएका थिए । युरोपमा अझै धेरैले रंगशालामा दर्शकलाई अनुमति दिनु उचित नहुने तर्क गरेका छन् । यद्यपि, आयोजकले दर्शकको कम संख्या, उनीहरू आउने समयको अन्तर, शारीरिक दूरीलगायत अरू धेरै नियमका कारण प्रतियोगिता सुरक्षित हुने दाबी गरेको छ ।
०००
यदि आयोजकको दाबीजस्तै सबै राम्रो भइदिए युरो २०२० को आयोजनाले ठूलो प्रतियोगिता आयोजकको हौसला मिल्ने निश्चित छ । यसले गत वर्ष रोकिएर अर्काे महिनादेखि सुरु हुने तयारीमा रहेको टोकियो ओलम्पिक आयोजकलाई पनि थप बल पुग्नेछ । यदि त्यसो भएन भने अवस्था सबैका लागि मुस्किल बन्ने निश्चित छ ।