मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ जेठ ३० आइतबार १०:१०:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिड उपचार औषधिको सूचीबाट हटे पनि नेपालमा रेमडेसिभिरको माग अत्यधिक

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ जेठ ३० आइतबार १०:१०:००

चिकित्सकहरूले नै प्रभावकारी नभएको बताए पनि ५१ सय पर्ने  प्रतिभाइल २० देखि ३० हजारसम्ममा बिक्री

कोभिडका बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडेसिभिर प्रभावकारी नदेखिए पनि नेपालमा निरन्तर आयात भइरहेको छ । आयात मात्रै होइन, प्रतिभाइल पाँच हजार एक सय

रुपैयाँ पर्ने रेमडेसिभिर २० देखि ३० हजारसम्ममा समेत बिक्री भइरहेको पाइएको छ । 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड उपचारको औषधि सूचीबाट रेमडेसिभिरलाई हटाइसकेको छ । डब्लुएचओले यसलाई महामारीको सुरुवाती दिनमा आपत्कालीन अवस्थामा प्रयोगका लागि सुझाएको थियो । अहिले भने डब्लुएचओले जस्तोसुकै जटिल परिस्थितिमा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर प्रयोग नगर्न चेतावनी दिइसकेको छ । तर, नेपालमा भने कोरोनाको दोस्रो लहरपछि मात्रै ४५ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार कोभिड संक्रमण फैलिएयता मात्रै विभिन्न देशबाट ८० हजार भाइल रेमेडेसिभिर नेपाल आयात भइसकेको छ । डब्लुएचओले कोभिड उपचारको सूचीबाट हटाए पनि नेसनल मेडिकल काउन्सिलले भने कोभिड उपचारको प्रोटोकलमा रेमडेसिभिर अझै समावेश गरेको छ ।

कोभिडको दोस्रो लहर फैलँदै गर्दा रेमडेसिभिरको कालोबजारी हुन थालेको भन्दै नेपाल सरकारले प्रतिभाइल पाँच हजार एक सय मूल्य तोकेको थियो । विभिन्न औषधि कम्पनीका आधारमा अहिले ४८ सय र ४९ सय रुपैयाँमा पनि रेमडेसिभिर बिक्री भइरहेको औषधि व्यापारीहरू बताउँछन् । 

उपचारमा प्रयोग गरिने औषधिहरू सम्बन्धित रोगको उपचारबारे नेसनल निर्देशिका, अनुसन्धानमा आधारित अन्तर्राष्ट्रिय निर्देशिका र उपचारमा संलग्न फिजिसियनको अनुभवका आधारमा निर्धारण गरिन्छ । तर, रेमडेसिभिरको प्रभावकारिताबारे अध्ययन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नै औषधिको प्रयोगबारे अलमलमा छ । परिषद्ले कोभिडको पहिलो लहर अर्थात् ३० जुलाईदेखि ३१ अक्टोबर २०२० सम्म अस्पताल भर्ना भएका एक हजार तीन सय १५ जनामा अध्ययन गरेको थियो । अब्जर्भेसनमा आधारित अनुसन्धानले नेपालमा रेमडेसिभिरको प्रयोगबारे निश्चित अवधारणा दिएको छैन । उपचारमा संलग्न चिकित्सकहरूले पनि रेमडेसिभिर भाइरल फेजमा मात्र उपयोगी भएको बताएका छन् । 

प्रयोगबारे अलमल 
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत मेघनाथ धिमालले अध्ययनमा सबै उमेरसमूह र स्वास्थ्य अवस्थाका बिरामी समावेश गरिएको बताए । उनीहरूमाथि गरिएको अनुसन्धानबाट औषधिको प्रभावकारिताबारे टुंगो नलागेको उनको भनाइ छ । उनी भन्छन्, ‘तत्कालीन समयमा अन्तर्राष्ट्रिय स्तरमा रेमडेसिभिर उपयुक्त भनिएकाले नेपालमा पनि प्रयोगमा ल्याइएको हो । सबै बिरामीमा प्रयोगमा ल्याएकोले हामीसँग प्रभावकारिता परीक्षण गर्न अर्को समूह थिएन । प्रयोग गरिएका व्यक्तिमा अब्जर्भेसन मात्रै गरेकाले रेमडेसिभिर प्रभावकारी छ÷छैन भन्न सकिँदैन ।’ 

माग धेरै रहेकाले आयात भइरहेको छ : विभाग
रेमडेसिभिर औषधि प्रयोगबारे अलमल रहे पनि नेपालमा यसको माग भइरहेकाले आयात गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ । भारतले रेमडेसिभिर निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले यहीँ उत्पादन गर्ने तयारीसमेत गरेको छ । यसका लागि नेसनल हेल्थ केयरलाई विभागले अनुमति दिएको छ । विभागका प्रवक्ता सन्तोष केसीले नेपालमा यसको परीक्षण पास भएर उत्पादनको अन्तिम प्रक्रियामा रहेको बताए । उनी भन्छन्, ‘डब्लुएचओले रेमडेसिभिरलाई कोरोनाको औषधिको सूचीबाट हटाए पनि सिडिसीले अझै मान्यता दिइरहेकाले नेपालमा प्रयोग भइरहेको छ । दोस्रो लहरमा रेमडेसिभिरको अत्यधिक माग भएपछि चर्को मूल्यमा किनबेच भएकाले मूल्य निर्धारण पनि गरेका छौँ ।’ अहिले बंगलादेश र पाकिस्तानका पाँचवटा औषधि कम्पनीबाट नेपालमा रेमडेसिभिर आयात भइरहेको छ । 

यसकारण डब्लुएचओले हटायो सूचीबाट
कोभिडका गम्भीर बिरामीको स्वास्थ्य अवस्था र क्लिनिकल सुधार आउने देखिएकाले महामारीको सुरुवाती दिनमा रेमडेसिभिर प्रयोगमा ल्याउन अनुमति दिइएको थियो । यो औषधि यसअघि इबोला संक्रमणविरुद्ध प्रयोग भएको थियो ।

तर, चारवटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा गरिएको परीक्षणमा रेमडेसिभिरको प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएपछि डब्लुएचओले कोभिड उपचारको औषधिबाट रेमडेसिभिरलाई हटाएको थियो । योसँगै विभिन्न देशले रेमडेसिभिर प्रयोगमा रोक लगाइसकेका छन् । तर, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले भने यो औषधि समयमै प्रयोग गरे केही प्रतिशत सहयोग पुग्ने जनाउँदै आएको छ । 

नेपालका अस्पतालहरूमा अत्यधिक प्रयोगमा रहेको रेमडेसिभिर खासै प्रभावकारी नदेखिएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘रेमडेसिभिर एन्टिभाइरल औषधि हो, जुन भाइरल फेज अर्थात् संक्रमण भएको एक सातासम्म प्रयोग गर्न सकिन्छ । यदि संक्रमण भएको पहिलो साताभित्र बिरामी अस्पतालसम्म पुगेमा रेमडेसिभिर प्रयोग गरिन्छ, तर अधिकांशमा गम्भीर लक्षण साता–दश दिनपछि देखिने गर्छ । अस्पताल भर्ना ढिलो हुने हुँदा रेमडेसिभिरको प्रभावकारिता देखिँदैन । अस्पतालहरूमा रेमडेसिभिरको प्रयोग कम हुन थालेको पनि छ ।’ रेमडेसिभिरको प्रयोग कुन समयमा गर्ने भन्नेमा अलमल भएकाले औषधिको प्रभावमा प्रश्न उठिरहेको बताउँछन्, डा. दास । भन्छन्, ‘प्रायजसो गम्भीर बिरामीमा यसको प्रभाव देखिएको छैन । मेरो अनुभवमा सही व्यक्तिलाई सही समयमा प्रयोग गरेमा प्रभावकारी हुन सक्छ । अब यसको प्रयोगबारे ख्याल गर्नुपर्ने देखिन्छ ।’