मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३० आइतबार १०:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेले ३ हजार छोएको सप्ताह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३० आइतबार १०:१०:००

बजारमा हुन लागेको नयाँ व्यवस्थाले चलखेल रोकिने आशा 

गत साता नेप्सेले पहिलोपटक ३ हजारको बिन्दु छुन सफल भएको छ । हरेक साता नयाँ रेकर्ड बनाइरहेको नेप्सेमा गत साता पनि कारोबार रकम र परिसूचक दुवैमा नयाँ रेकर्ड बनेको हो । साताभरमा करिब १ सय २१ अंकको उतारचढाव देखिएको बजारमा ८३ अर्ब रुपैयाँको कारोबार भएको छ । दैनिक औसत कारोबार रकम पनि १६ अर्ब ६२ करोड रुपैयाँ भएको छ । कारोबार बन्द हुँदा अघिल्लो साताको तुलनामा नेप्से ८८ अंकले वृद्धि  भएको छ । 

गत साता समूहगत आधारमा भने होटेल, लघुवित्त र व्यापारमूलक समूहमा मात्रै गिरावट आएको छ । यी समूहमा झिनो दरमा गिरावट आएको हो । वित्त कम्पनी र विकास बैंकमा नै सबैभन्दा धेरै दरमा वृद्धि भएको छ । 

गोर्खा फाइनान्समा झुक्किए लगानीकर्ता 
गोर्खा फाइनान्सको सेयर मूल्य गत साता १ हजार ४ सय ८९ सम्म पुग्यो । विशेषतः कम्पनीको वित्तीय विवरणमा रहेको एउटा तथ्यांकले लगानीकर्ता झुक्किए । कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार राइट ब्याक र सेयर कारोबारबाट उल्लेख्य नाफा बढेको देखिएको छ । 

फाइनान्सको वितरणयोग्य नाफासमेत २४ करोड रुपैयाँ देखिन्छ । हुन त यो लाभांश क्षमता ३० प्रतिशतबराबर हो । तर, कम्पनी हालै नोक्सान सकिएर २ करोड २१ लाख मात्र सञ्चित आम्दानीमा छ । कम्पनीले सो दरमा लाभांश दिन सक्ने अवस्था नै देखिँदैन । यही तथ्यांकले लगानीकर्ता झुक्किँदा कम्पनीको सेयर मूल्य उच्च मूल्य भएका वाणिज्य बैंकहरूको भन्दा पनि माथि पुगेको छ । 

मूल्य परिवर्तनका आधारमा समेत यो कम्पनी उच्च वृद्धि भएकामध्ये छैटौँ स्थानको कम्पनीमा रह्यो । कम्पनीको सेयर मूल्यमा बिहीबार बिक्री गर्नेले ३० प्रतिशतभन्दा धेरै प्रतिफल पाएका छन् । कम्पनीको मूल्य भने अहिले घट्न थालेको छ । 

प्राविधिक विश्लेषण 
गत साताको अन्तिम दिन घटेको नेप्सेले अन्तिम २ दिनमा भने कालो (रातो) मैनबत्ती बनाएको छ । यी दुई दिनमा पहिलो दिनको तुलनामा दोस्रो दिनको मैनबत्तीको आकार केही घटेको छ भने बजार थप केही तलसम्म ओर्लिएको छ । यसले बजार अगामी साता बियरिस प्रवृत्तिमा रहने संकेत गरिरहेको छ ।   २१ दिने रेखालाई काटेर माथि लागेको नेप्सेको ७ दिने रेखा केही नजिकिने प्रयासमा अगाडि बढिरहेको छ । अहिलेसम्म  बजार बुलिस नै रहेको संकेत छ ।  

१४ दिने आरएसआई सूचकले बजार अधिक खरिदको अवस्थामा रहे पनि यसमा समेत गिरावट भएको देखाउँछ । यो सूचक स्केल ७४ दशमलव ८१ मा छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

सातामा ३ हजार ५ बिन्दु छोएर घटेको नेप्सेलाई पिभट विश्लेषणले आगामी १ साता २ हजार ८ सय २४ मा पहिलो टेवा रहने र यसले वृद्धिमा सहयोग पुगेमा ३ हजार ४ सय ९४ मा पहिलो प्रतिरोध पाउनेछ ।