मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : रासस/फाइल
२०७८ जेठ ३० आइतबार ०७:३५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

रूपन्देहीमा भेरोसेल लगाउने ज्येष्ठ नागरिकको संख्या न्यून

Read Time : > 1 मिनेट
२०७८ जेठ ३० आइतबार ०७:३५:००

मर्चवारी माई गाउँपालिकामा ६ सय १६ डोज खोप पठाएकामा ८९ जनाले मात्र लगाए

सरकारले ज्येष्ठ नागरिकका लागि उपलब्ध गराएको चिनियाँ खोप भेरोसेलका बारेमा भ्रामक प्रचार गर्दा लक्षित समूहले खोप नलगाई फिर्ता गरिदिएका छन् । रूपन्देहीको दक्षिणी क्षेत्रका गाउँपालिकामा चिनियाँ खोपप्रति नकारात्मक सूचना प्रवाह भएको स्वास्थ्य कार्यालय रूपन्देहीका जनस्वास्थ्य प्रशासक राजेन्द्र गिरीले बताए । जिल्लामा ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप १४ हजार ५५ डोज आएको थियो ।

स्वास्थ्य कार्यालयले स्थानीय तहहरूलाई ज्येष्ठ नागरिकहरूको संख्याका आधारमा खोप वितरण गरेको थियो । रूपन्देहीको मर्चवारी माई गाउँपालिकामा ६ सय १६ डोज खोप पठाइएकोमा ८९ जनाले मात्र खोप लगाएका थिए । मर्चवारी माई गाउँपालिका अध्यक्ष केशवनन्दन बानियाले ज्येष्ठ नागरिक खोप लगाउन नआएको बताए । ‘गाउँभरि अनावश्यक हल्ला फिँजाइयो, त्यसैले कोही खोप लगाउन आएनन्,’ उनले भने, ‘सरकारले वृद्धहरूलाई भत्ता दिइरहन नसक्ने भएकाले तीन चार वर्षमा मार्ने गरी यो चिनियाँ खोप ल्याएको हो भनेर भ्रामक हल्ला फैलाए ।’ आफूहरूलाई भारतीय खोप नदिएर चिनियाँ खोप मार्नका लागि पठाएको भन्दै हल्ला भएकाले ज्येष्ठ नागरिक खोप लगाउन नआएको स्वास्थ्यकर्मीहरूले सुनाएको जनस्वास्थ्य प्रशासक गिरीले बताए । 

रूपन्देहीको ओमसतिया गाउँपालिकाका केही स्थान र समरीमाई गाउँपालिकामा पनि यस्तै अनावश्यक हल्ला फैलाइएको पाइएको छ । यो हल्ला कहाँबाट कसले फिँजायो भन्ने कसैले पुष्टि गर्न सकेको भने छैन । खोप ज्येष्ठ नागरिकका लागि भने पनि पहुँचका आधारमा सबैले लगाएका छन् । ६२ देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउने सरकारले सूचना जारी गरेको थियो ।

जिल्लाको विभिन्न स्थानीय तहमा चिनियाँ खोपका विषयमा अनावश्यक हल्ला फिँजाएर खोप अभियान प्रभावित बनाइएको विषय आफूलाई पनि जानकारी भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । तर, भ्रामक हल्ला चले पनि खोप लगाउन पाइनँ भनेर ज्येष्ठ नागरिकका गुनासा भने नआएको उनको भनाइ छ ।

भेरोसेल खोप लगाएपछि मान्छे बिरामी हुन्छ, अस्पताल गएपछि फर्किँदैन भन्ने हल्ला ओमसतिया गाउँपालिकामा पनि फैलिएको अध्यक्ष हिरा केवट राहुलले बताए । कोटहीमाई गाउँपालिकामा ३७ दशमलब ६ प्रतिशत र समरीमाई गाउँपालिकामा ३९ दशमलब ५ प्रतिशतले मात्र खोप लगाएका थिए । फिर्ता भएका खोप सबै उमेर समूहका नागरिकले लगाएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।