१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २९ शनिबार २०:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित : असन्तुष्टका बीच एमाले नेपाल पक्षको समर्थन

Read Time : > 1 मिनेट
२०७८ जेठ २९ शनिबार २०:३८:००

छलफलका क्रममा असन्तुष्टि जनाए पनि सत्तारुढ नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले समर्थन गरेपछि बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बागमती प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ पेस गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि एमालेका सबै ५६ सांसदले समर्थन जनाएपछि बहुमतले पारित भएको हो । 

शुक्रबारको प्रदेश सभा बैठकमा नीति, कार्यक्रममाथिको छलफलमा नेपाल पक्षका अधिकांश सांसदले असन्तुष्ट व्यक्त गरेका थिए । असन्तुष्टका बीच शनिबार बिहान एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरूलाई निर्देशन दिएपछि नेपाल पक्षका सांसदहरूले पनि समर्थन जनाएका थिए ।
    
एक सय १० सांसदमध्ये एमालेका ५६ छन् । तीमध्ये नेपाल पक्षका २१ जना नीति, कार्यक्रमको विपक्षमा उभिँदा पारित हुने सम्भावना थिएन । मुख्यमन्त्री पौडेल र नेतृ शाक्यबीचको छलफलपछि नीति, कार्यक्रमको संयुक्त समर्थन गर्ने निर्णयका कारण नेपाल पक्षका सबै सांसद एउटै कित्तामा उभिएका हुन् । एमाले विवाद निरुपणको अवस्थामै रहेकोले सरकारलाई साथ दिएको नेपाल पक्षका सांसदको भनाइ छ । 

नीति तथा कार्यक्रम पास नहुने संकेत पाएका मुख्यमन्त्री पौडेलले नेपाल पक्षका १४ सांसदको कारबाही पनि रोकेका थिए । प्रमुख प्रतपिक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी नीति तथा कार्यक्रमको विपक्षमा उभिएका थिए । राप्रपाका दुई सांसद भने तटस्थ बसेका थिए ।

सरकारले सबैको कदर गरेको छ– मुख्यमन्त्री, डोरमणि पौडेल
बागमती सरकारले सबैको धारणा, योजना र सुझाबको कदर गर्दै नीति तथा कार्यक्रम ल्याएको छ । यसरी नै प्राथमिकताको आधारमा सरकारले बजेट ल्याउँछ । नीति तथा कार्यक्रममा कोभिडलाई प्राथमिकताको दिनु स्वाभाविक छ । किनकि यो सबैको सुझाब हो, हामीले कदर गरेका हौँ । त्यति मात्र होइन, अब नागरिकलाई बचाउन खोपको आवश्यकता छ, त्यसकारण हामीले कोभिडलाई प्राथमिकता दिनैपर्छ । सरकारले समाजवाद उन्मुख बजेट ल्याउनेछ । किनकि यसबाट हरेक नागरिकले राज्यको अनुभूति गर्न पाउनेछन् । काम गर्नकै लागि नीति, कार्यक्रममा सबै विषय समेटिएको हो । पाना धेरै बनाउन मात्रै शब्द भरिएको होइन ।