मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २९ शनिबार ०९:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल    

Read Time : < 1 मिनेट
२०७८ जेठ २९ शनिबार ०९:४१:००

जुम्लाको चन्दननाथ नगरपालिका- ७  खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार बेलुकादेखि मिचागाउँ सिल गरेको हो । 

चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन् । त्यस्तै, महत गाउँमा ६ जना संक्रमति रहेका छन् । सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरे पनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याइएको महतले  जानकारी दिए ।  

स्थानीय युवा विजय रावलका अनुसार गाउँमा कोरोना संक्रमण फैलिएपछि विकास निर्माणका काम रोकिएका छन् । गाउँका मानिस एक–एर्काको भौतिक सम्पर्कमा नआउन भन्ने उद्देश्यले  युवा परिचालन गरिएको छ । यसकाे साथै जिल्ला सुरक्षा समितिले प्रहरी परिचालन गरी यहाँको सुरक्षा अवस्था कडा पारेको छ । 

यस्तै, यसअघि तातोपानी गाउँपालिका- १ राकागाउँ र सोही गाउँपालिकाको रावतवाडा गाउँ पनि सिल गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो । संक्रमितहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुन्जेलसम्म गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 

वैशाखयता जुम्लामा कोरोना संक्रमितको संख्या पाँच सय ८९ पुगेको छ । यस्तै संक्रमण मुक्त हुनेकाे संख्या तीन सय ३२  रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।  संक्रमणबाट चारजनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत  छन् ।