मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २८ शुक्रबार ०८:५१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अस्ट्रेलियासँग नेपालको थोरै अपेक्षा

Read Time : > 3 मिनेट
२०७८ जेठ २८ शुक्रबार ०८:५१:००

फिफा वरीयतामा आफूभन्दा १३० स्थान माथि रहेको अस्ट्रेलियासँगको खेलबाट नेपालले धेरै अपेक्षा गरेको छैन, नेपाली टोलीले उत्कृष्ट टोलीसँग अनुभवकै लागि खेल्नेछ 

खेल
नेपालविरुद्ध अस्ट्रेलिया
रंगशाला : जाबर अल अहमाद इन्टरनेसनल स्टेडियम, कुवेत (शुक्रबार राति ९:४५)

फिफा वरीयता
नेपाल : १७१
अस्ट्रेलिया :  ४१

हेड टु हेड
नेपाल ०–५ अस्ट्रेलिया
(विश्वकप २०२२ र एसियाकप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेल ।)

...                                             ...

विश्वकप २०२२ को छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार बलियो टोली अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको नेपालका लागि यो अन्तिम खेल रहेको छ ।

यसअघि पाँचपटक विश्वकप खेलिसकेको अस्ट्रेलिया छैटौँपटक खेल्ने तयारीमा रहेको टोली हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि पछिल्लो चार विश्वकपमा लगातार सहभागी हुँदै आइरहेको अस्ट्रेलिया लगातार पाँचौँपटक खेल्ने तयारीमा छ । शुक्रबार नेपाललाई पराजित गरे अस्टे«लिया अर्काे वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ ।

फिफा वरीयतामा आफूभन्दा १३० स्थान माथि रहेको अस्ट्रेलियासँगको खेलबाट नेपालले भने धेरै अपेक्षा गरेको छैन । नेपाल त्यसै पनि विश्वकप छनोटको प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । नेपालले यसै प्रतिस्पर्धाबाट सन् २०२३ मा चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणमा पुग्ने सम्भावनासमेत लगभग गुमाइसकेको छ ।

अस्ट्रेलियाविरुद्ध अप्रत्यासित जितको नतिजा निकाल्न सकेको अवस्थामा मात्रै एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने नेपालको सम्भावना जीवित रहनेछ । त्यसैले नेपाली टोलीले आफ्नो क्षेत्रको सर्वाेत्कृष्ट टोलीसँग अनुभवकै लागि खेल्नेछ ।

नेपालले अस्ट्रेलियासँग जम्मा एकैपटक मात्रै प्रतिस्पर्धा गरेको छ । यसै प्रतियोगिताअन्तर्गत दुई वर्षअघि नेपालले अस्टे«लियासँग उसको मैदानमा खेलेको थियो । नेपालले अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गरेको त्यो नै पहिलो अवसर थियो । 

क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५–० ले पराजित भयो । उक्त खेलमा नेपाल निकै कमजोर देखिएको थियो । उक्त खेलपछि नेपाली टोलीमा धेरै परिवर्तन आएको छ । अस्ट्रेलियासँग खेल्न क्यानबेरा पुगेको नेपाली टोलीका १२ खेलाडी अहिले टिममा छैनन् । जसमध्ये चारजनाले पहिलो रोजाइमा खेलेका थिए । 

युवा खेलाडीलाई अवसर दिने तयारी
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले युवा खेलाडीलाई अवसर दिएर नेपाली टोलीमा फरक मानसिकताका साथ खेलाउन प्रयास गरेका छन् । प्रशिक्षक अलमुताइरी अस्ट्रेलियासँग त्यही शैलीमा खेल्ने तयारी गरेको बताउँछन् । ‘मलाई थाहा छ कि अस्ट्रेलियासँग खेल्नु सहज हुनेछैन,’ अस्ट्रेलियासँगको खेलको एक दिनअघि भएको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अब्दुल्लाहले भने, ‘यद्यपि, हामी बलियो टोलीविरुद्ध राम्रो प्रदर्शन गर्न प्रयास गर्नेछौँ ।’

अस्ट्रेलियाली प्रशिक्षक ग्राहम आर्नाेल्डले नेपालको खेल्ने शैली परिवर्तन भएको बताए । ‘नेपालको खेल्ने शैली पहिलेको भन्दा फरक छ । उनीहरूले पछाडिबाट बढी खेल्न थालेका छन्,’ प्रशिक्षक ग्राहमले भने, ‘हामी नेपाललाई सम्मान गर्छौं । उनीहरू मिहिनेत गरेर खेल्छन् ।’

अस्ट्रेलिया समूहकै बलियो टोली हो । अस्ट्रेलिया समूहको एक्लो अपराजित टोली पनि हो । उसले अहिलेसम्म खेलेको ६ मध्ये सबै खेलमा जित हात पारेको छ । उसले विपक्षी टोलीविरुद्ध २४ गोल गरेको छ भने दुई गोल मात्र व्यहोरेको छ । 

पाँच टोली रहेको समूहको चौथो स्थानमा रहेको नेपालले भने सात खेल खेलिसक्दा मात्रै दुई खेलमा जित हात पारेको छ । नेपालले चाइनिज ताइपेईलाई मात्रै पराजित गरेको हो । अस्ट्रेलियासँगको एकसहित नेपालले कुवेत र जोर्डनसँगको दुई–दुई खेलमा पराजय व्यहोरेको हो । नेपालले प्रतियोगितामा चार गोल गर्दा विपक्षी टोलीबाट १९ गोल व्यहोरेको छ ।

प्लेअफको बाटोतर्फ नेपाल
जारी प्रतिस्पर्धा फिफा विश्वकप २०२२ र एसियनकप २०२३ को संयुक्त छनोट प्रतियोगिता हो, जसमा पाँच–पाँच टोली सहभागी रहेको आठ टोली रहेका छन् । आठ टोलीको शीर्ष स्थानमा रहने एक–एक र दोस्रो स्थानको आठमध्ये उत्कृष्ट चार गरी १२ टोली विश्वकपको तेस्रो चरणको छनोटमा पुग्नेछन् । यस्तै, यो १२ टोली एसियनकपका लागि सीधै छनोट हुनेछन् । 

शीर्ष दुई स्थानमा नरहने निश्चित भएपछि नेपालले यो दुवै अवसर गुमाइसकेको छ । विश्वकपको सपना पूर्ण रूपमा गुमाइसकेको नेपालको एसियनकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना पनि कमजोर बन्दै गइरहेको छ । एएफसीको नियमअनुसार दोस्रो स्थानका बाँकी चार, तेस्रो स्थानमा रहेका आठ र चौथो स्थानमा रहेका आठमध्ये उत्कृष्ट चार टोली एसियनकपको तेस्रो चरणको छनोटमा पुग्नेछन् । 

अहिले समूह बीको चौथो स्थानमा रहेको नेपाल उत्कृष्ट चारभित्र पर्दै सीधै तेस्रो चरणको छनोटमा पुग्ने योजनामा छ । तर, अहिलेको अवस्थामै चौथो स्थानमा रहेका आठ समूहको आठ टोलीमध्ये नेपाल सातौँ स्थानमा छ । अस्ट्रेलियासँग पनि पराजित भएको अवस्थामा नेपालले यो अवसर पनि गुमाउने सम्भावना छ । 

त्यसपछि भने एसियनकपको तेस्रो चरणको छनोटमा पुग्नकै लागि नेपालले प्लेअफको बाटो अपनाउनुपर्नेछ । चौथो स्थानमा रहेका बाँकी चारसहित पाँचौँ स्थानका आठ टोली प्लेअफमार्फत फेरि एसियनकपको तेस्रो चरणको छनोटमा पुग्नेछन् । 

...                                       ...

राम्रो खेल्ने आशा छ : अब्दुल्लाह अलमुताइरी, मुख्य प्रशिक्षक, नेपाल
मलाई थाहा छ कि अस्ट्रेलियासँग खेल्नु सहज हुनेछैन । मलाई विश्वास छ कि हामी फेरि अर्काे एउटा राम्रो खेल खेल्नेछौँ । हाम्रो खेल्ने शैलीमा सुधार भएको छ । पछिल्लो खेलमा गरेको प्रदर्शनले हामी नेपाली फुटबल समर्थकहरूलाई खुसी दिन पनि सफल भएका छौँ ।

नेपाल मिहिनेत गर्ने टोली हो : ग्राहम आर्नाेल्ड, मुख्य प्रशिक्षक, अस्ट्रेलिया
नेपाल कडा मिहिनेत गर्ने टोली हो । उनीहरूले फरक शैलीमा खेल्न थालेका छन् । उनीहरूले पछाडिबाट खेल बनाउँदै अघि बढाउने शैलीमा खेल्न थालेका छन् । प्रशिक्षकले राम्रो काम गरेका छन् । हामी नेपाललाई कमजोर मानेर खेल्नेछैनौँ ।