१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २७ बिहीबार ०९:५३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, मन्त्री मनाङ्गेले साथ नदिने

Read Time : > 3 मिनेट
२०७८ जेठ २७ बिहीबार ०९:५३:००

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार(आज) विश्वासको मत लिँदैछन् । तर, उनी नेतृत्वकै मन्त्रिपरिषद्का एक सदस्यले गुरुङलाई विश्वासको मत नदिने सार्वजनिक भएको छ । 

गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसद रहेका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ ‘दिपक मनाङे’ले प्रदेशसभा बचाउने भन्दै मुख्यमन्त्रीलाई आफ्नो साथ नरहेको सार्वजनिक गरेका हुन् ।  मनाङे बुधबार साँझ मन्त्रालयमै रहेपनि मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिएनन् ।

संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकमा सहभागी हुन्न भन्दै उनी बैठकमा गएनन् । उनले संसद् नै नरहने हो भने मन्त्री हुनुको कुनै अर्थ नरहेको बताएका छन् । मनाङेले मन्त्री पदबाट भने राजीनामा भने दिएका छैनन् । मन्त्री मनाङे बिहीबार साँझ सात बजेसम्म मन्त्रालयमा एमालेका सांसद राजिव पहारीसंग कुरा गरेर बसेका थिए । तर, त्यतिनै बेला जारी बैठकमा जान उनले रुचि देखाएनन् । 

साँझ अबेरसम्म आफू मन्त्रालयमा कुराकानी गरेर बसेको तर, कुनै असहमति भएका कारण मनाङेले मन्त्रिपरिषद् बैठक बहिष्कार नगरेको सांसद पहारी बताउँछन् । ‘साँझ हामी अवेरसम्म मन्त्रालयमै थियौं । उहाँ सरकरको पक्षमै हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को बैठकमा भने जानुभएन । त्यसपछि उहाँले जुन असन्तुष्टि जनाउनुभएको कुरा बाहिर आयो त्यसले मलाई समेत अचम्मित पारेको छ’ उनले भने । 

मुख्यमन्त्री गुरुङ प्रष्ट अल्पमतमा तर, विश्वस्त छैनन् विपक्षी 

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारबाही गरिएपछि प्रदेशसभामा बहुमत पुग्नेमा विपक्षी गठबन्धन ढुक्क थियो । तर, सांसद थापाको पद सर्वोच्चको अन्तरिम आदेशले व्युँताइदिएपछि सत्ता पक्ष र विपक्षी दल दुबैतर्फ बहुमत नपुग्ने प्रष्ट भएको थियो । यस्तो बेला सभामुख नेत्रनाथ अधिकारीलाई पदबाट राजिनामा दिन लगाएरै भएपनि बहुमत पुर्‍याउने विकल्पमा छलफल चलाएका विपक्षीलाई मन्त्री मनाङेको निर्णयले उत्साह थपेको छ । 

विपक्षी चारदलीय गठबन्धनमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका सभामुखसहित १२ जना, राष्ट्रिय जनमोर्चाका तीन जना र जनता समाजवादीका दुई जना सांसद छन् । सभामुखले मत दिन पाउँदैनन् । राजमोका पुनर्बहाली भएका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई आफ्नो साथ नहुने प्रष्टाएका छन् । यो अवस्थामा ३० मत विपक्षी दलहरुसंग छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । दिपक मनाङेले जसले ३० जनाको हस्ताक्षरसहित आउँछ उसैलाई संसद् बचाउनका लागि आफ्नो मत दिन्छु भनेकाले उनले साथ दिँदा विपक्षी गठबन्धनको बहुमत पुग्छ । 

मनाङेले विपक्षीलाई साथ दिँदा संविधानको धारा १६८ (५) अनुसार कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र  नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्ने  देखिएको छ । तर, मनाङले आफूहरुलाई साथ दिनेमा शंका रहेको कांग्रेसका एक सांसदले बताए । मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने कुरामा नै षड्यन्त्र हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनको भनाई छ । 

ती सांसदका अनुसार विपक्षी गठबन्धनलाई मन्त्रिपरिषद्का एक सदस्यले ‘तिमिहरुलाई बहुमत पुर्‍याउन हामीले मनाङेलाई पठाईदिएका छौं’ भनेका थिए । उनीहरुले नै यसरी जानकारी दिनुले केही षड्यन्त्र रहेको हुनसक्ने ती सांसदले नयाँ पत्रिकालाई भने । 

 मन्त्री मनाङेको असन्तुष्टि बुझेर सम्बोधन गर्ने प्रयासमा छौं : सांसद अधिकारी

गण्डकी प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक मायाँनाथ अधिकारीले मन्त्री मनाङेको असन्तुष्टि के हो भन्ने बुझेर त्यसको समाधान गर्ने प्रयासमा आफूहरु रहेको बताए ।  'सरकारमै रहेको मन्त्रीले राजीनामा नदिई यसरी असन्तुष्टि सार्वजनिक किन गर्नुभएको हो भनेर हामीले सोधेका छौं । उहाँ हाम्रो सम्पर्कमै हुनुहुन्छ । उहाँलाई आस्वस्त पार्ने काम भइरहेको छ’ उनले भने । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनु अगाडि नै राजीनामा दिनेसम्मका चर्चा भइरहेको बेला राजीनामा नदिई संसदको फेस गर्ने पक्षमै आफूहरु रहेको अधिकारीले बताए । ‘संसदकै फेस गर्ने हो भन्ने छ । अहिलेसम्म हाम्रो प्रष्ट कुरा यही हो । मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न संसदमै विश्वासको मत लिनुहुन्छ’ उनले भने । 

यसरी भएको थियो मनाङेको सत्ता आरोहण

अघिल्लो महिना १५ बैशाखमा प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताव उपर मतदान हुने तालिका थियो । निर्णायक क्षणमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसँगै स्वतन्त्र सांसद् राजीव पनि एकाएक गायब भए । 

सोही दिन मतदान भएको भए अविश्वासको प्रस्ताव फेल हुने थियो र मुख्यमन्त्री गुरुङ जोगिने थिए ।  तर, आफ्ना सांसद शाही सम्पर्कविहीन भएको भन्दै जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना टाँस नभएसम्मको लागि बैठक स्थगित गरे । 

त्यसको भोलिपल्ट वैशाख १६ गते मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । २७ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्न कार्यसूची तय भएको भयो । तर अघिल्लो दिन २६ बैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बाले राजीनामा दिए । यस बीचमा गण्डकी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन भइसकेका थिए । 

मनाङे मन्त्री भएको ११ दिनमै पदमुक्त भए । प्रदेश प्रमुखले दिएको समयमा विपक्षी दलहरु सरकार बनाउन असफल भए र प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता गुरुङ २९ बैशाखमा फेरि  ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भए ।

पाँच जेठमा मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री गुरुङले मनाङेलाई फेरि मन्त्री बनाएका थिए । सरकार टिकाउन मुख्यमन्त्रीले आलोचना सहेरै भएपनि मनाङेलाई मन्त्री बनाएका हुन् । तर, तिनै मन्त्री मनाङेले पनि विपक्षमा जाने सार्वजनिक गरेसंगै गुरुङ सरकारकाे सत्ता जोगाउन लगाइएको टेको नै भाँच्चिएको विश्लेषण गरिएको छ ।