मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०९:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालयका पुस्तकमा पुरानै नक्सा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०९:०८:००

अक्सब्रिज, कोसेली, रिडमोर पब्लिकेसनका पुस्तकमा पुरानै नक्सा प्रयोग

काठमाडौंका केही पुस्तक पब्लिकेसनहरूले नेपालको नयाँ चुच्चे नक्साको सट्टा पुरानो प्रयोग गरी पाठ्यसामग्री तयार गरी बिक्रीवितरण गरेको पाइएको छ । जसमध्ये केही पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ । तर, अझै पनि केहीले खुला रूपमा यस्ता सामग्री बिक्रीवितरण गर्दै आएका छन् ।

अक्सब्रिज, कोसेली, रिडमोर पब्लिकेसनलगायतका पुस्तकमा पुरानै नक्सा प्रयोग गरेको पाइएको छ । केन्द्रले कोसेली पब्लिकेसनलाई पुस्तकसहित कार्यालयमा आउन निर्देशन दिएको छ । रिडमोर पब्लिकेसनलाई केन्द्रले स्पष्टीकरण सोधेको छ । अक्सब्रिज पब्लिकेसनको जेनरल नलेज पुस्तकमा नेपालको पुरानो नक्सा प्रयोग गरेको छ । सो पुस्तक धमाधम बिक्री भएको छ । यसरी अपडेट नगरेको पुस्तकलाई ठूला संस्थागत विद्यालयले समेत प्रयोग गर्दै आएका छन् ।

रिडमोर पब्लिकेसनले स्टक भन्दै पुरानो नक्सा भएको पुस्तक बिक्री गर्दै आएको छ । केन्द्रले स्पष्टीकरण सोधेपछि मौज्दातको पुस्तक रहेको र अब बिक्री नगर्ने जवाफ केन्द्रमा पठाएको छ । पैसाको लोभमा कलिला बालबालिकाको मनोविज्ञान बिगार्ने काम गरेको भन्दै आलोचनासमेत हुने गरेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले अहिले कानुनअनुसार नचल्ने पब्लिकेसनलाई कारबाही हुने बताए । 

परिमार्जन नभएका सामग्री प्रयोग नगर्न केन्द्रको निर्देशन
पाठ्यक्रम विकास केन्द्रले नेपालको संशोधित मानचित्र समावेश नगरेको, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सूचीमा नरहेका÷स्वीकृति प्रदान नगरिएका र नियमअनुसार परिमार्जन नभएका पाठ्यसामग्री प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ । स्वीकृत प्राप्त सामग्रीहरूमा नेपालको संशोधित नक्सा समावेश नगरी तथा विद्यालय तहको पाठ्यक्रमअनुसार प्रचलित कानुनबमोजिम स्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामग्रीको प्रकाशन, बिक्रीवितरण गर्न अनुरोध गरेको छ । कानुनप्रतिकूल गएमा कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि उनले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार सम्पन्न ८८औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न

पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्साअंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिए । ‘तपाईहरू अनुगमन गर्नुस्, देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ श्रेष्ठले भने ।