१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०७:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निषेधाज्ञामा बढ्यो साइबर अपराध

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ जेठ २७ बिहीबार ०७:३७:००

डेढ महिनामा एक सय ४५ मुद्दा दर्ता, फिरौती रकम मागदेखि चरित्र हत्यासम्मका घटना धेरै

काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा झन्डै डेढ महिनादेखि निषेधाज्ञा जारी छ । जसकारण मानिसहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर त्यति निस्केका छैनन् । दिनभर घरमै बस्नुपर्ने भएकाले प्रायः मानिस इन्टरनेट चलाइरहेका हुन्छन् । बुढानीलकण्ठकी एक १८ वर्षीया किशोरी पनि फेसबुक चलाउँदै थिइन् । एक अपरिचितबाट उनलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेरिन् र रिक्वेस्ट एसेप्ट गरिन् । दुईबीच संवाद सुरु हुन थाल्यो । संवादमा अपरिचितले किशोरीसँग ‘म लक्की रहेछु, तिमीसँग साथी बनेपछि मेरो लक खुल्यो, मैले भर्खर मात्रै लोटरी जितेँ’ भन्थ्यो । किशोरी गफमा यति मक्ख पर्दै गइन् कि अपरिचितले जसो भन्यो त्यसै गर्न तयार भइन् । 

अपरिचितले किशोरीसँग अर्धनग्न फोटो माग्यो । किशोरीले विनाहिच्किचाहट फोटो दिइन् । दुईबीच अब टेलिफोनमा पनि घन्टौँ कुराकानी हुन थाल्यो । किशोरीसँग अपरिचितले अब नग्न फोटो र भिडियो माग्न थाल्यो । किशोरी तयार थिइन् । जब घटनाको सुइँको परिवारका सदस्यले पाए, तब किशोरी छाँगाबाट खसेझैँ भइन् । किनकि अपरिचितको उद्देश्य किशोरीको नग्न भिडियो ‘पोर्न साइट’मा अपलोड गर्नु थियो । प्रहरीको अनुसन्धानपछि यो धन्दाको रहस्य खुलेको थियो । 

जुम्लाको खलंगास्थित एक सम्भ्रान्त परिवारका हुन्, १४ वर्षीय सन्तोष रोका (परिवर्तित नाम) । भर्खर–भर्खर सामाजिक सञ्जाल चलाउन सिकेका उनी च्याटमार्फत साथीसँग गफिँदै थिए । यहीवेला एक अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो । उनले सहजै एसेप्ट गरे । दुईबीच कुराकानी हुन थाल्यो । अपरिचितले रोकासँग उनको बुबा चिनेको मात्र नभई घनिष्ट मित्रसमेत रहेको बतायो । बालक रोका अपरिचितसँग अझ नजिकिए ।

एसएसपी नविन्द अर्याल, साइबर ब्युरो

साइबर अपराधअन्तर्गत चरित्र हत्या गर्नेजस्ता घटना पनि बढेका छन् । यसको सिकार विशिष्ट व्यक्ति हुने गरेका छन् । यस्ता घटनासँग सम्बन्धित व्यक्तिलाई धमाधम पक्राउ गरेका छौँ । आवश्यक कानुनी उपचार खोज्ने काम निरन्तर जारी छ ।

दुईबीच कुराकानी चल्दै गयो । यही क्रममा अपरिचितले बालकसँग उनको बुबाको नागरिकता नम्बर माग्यो । उनले सहजै उपलब्ध गराए । बैंक एकाउन्ट पनि माग्यो । त्यो पनि उपलब्ध गराए । मागिएका अन्य कागजात पनि बालकले उपलब्ध गराउँदै गए । एकदिन बालकको बुबाको मोबाइलमा एउटा एसएमएस आयो । एसएमएसमा रकम ‘विथ ड्र’ गरिएको सम्बन्धमा थियोे । उनका बुबा झसंग भए । उनी तुरुन्तै बैंकमा बुझ्न पुगे । थाहा पाए, खाताको रकम सबै झिकिसकिएको छ । उनी प्रहरीकहाँ जाहेरी लेखाउन पुगे । अनुसन्धानपछि खुल्यो, उनको खाता एक अपरिचितले ह्याक गरी भएजति सबै रकम झिकिसकेको रहेछ । अपरिचित तिनै थिए, जो उनैका छोरा सन्तोषसँग सामाजिक सञ्जालमार्फत दैनिक गफिन्थे । 

काठमाडौं नयाँ बानेश्वरकी हुनेखाने परिवारकी हुन् १७ वर्षीया सुस्मिता शर्मा (परिवर्तित नाम) । डेढ महिनादेखि जारी निषेधाज्ञामा उनी पनि सामाजिक सञ्जालमै रमाइरहेकी थिइन् । उनीसँग सधैँ गफिन्थे एक अपरिचित । उनको कुराकानीमा किशोरी मक्ख थिइन् । दुईबीच भिडियो च्याट हुन्थ्यो । यही क्रममा नग्न र अर्धनग्न भिडियो र फोटो पनि दुईबीच आदानप्रदान भयो । युवतीको वालमा एकदिन अर्को अपरिचित नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनीले एसेप्ट गरिन् । म्यासेन्जर बक्समा केही सन्देश देखियो । खोल्दा उनकै अर्धनग्न र नग्न फोटोसहित भिडियो देखियो । किशोरी झस्किइन् । केही क्षणपछि म्यासेन्जरमा अर्को पनि सन्देश देखियो । जहाँ भनिएको थियो– ‘मलाई दश लाख रुपैयाँ चाहिन्छ, नत्र सबै फोटो र भिडियो भाइरल बनाइदिन्छु ।’

नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोको तथ्यांकअनुसार पछिल्लोपटक जारी निषेधाज्ञामा साइबरसँग सम्बन्धित अपराध २० प्रतिशतले बढेको देखिएको छ । विशेष गरी किशोर–किशोरी, बालबालिकालक्षित अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले पीडितलाई पहिलो चरणमा रमाइला–रमाइला कुराकानी गर्ने, फकाउने, अनि शोषण गर्ने र त्यसपछि ह्यारेसमेन्टसँगै ब्ल्याकमेलिङ गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए । ‘निषेधाज्ञाको अवधिमा साइबर अपराध २० प्रतिशतले बढेको छ । विशेषगरी किशोरी र किशोरलाई निसाना बनाइएको देखिन्छ । यस्तो अपराधमा सुरुमा फकाउने, त्यसपछि शोषण गर्ने र अन्तिममा ह्यारेसमेन्टसँगै फिरौती माग गर्ने गरेको भेटियो,’ उनले भने ।

ब्युरोका अनुसार निषेधाज्ञाको अवधिमा मात्रै एक सय ४५ साइबर अपराधसम्बन्धी जाहेरी परेका छन् । जब कि सामान्य दिनमा यस्ता अपराधमा एक महिनामा १५ देखि २० को हाराहारीमा मात्रै जाहेरी पर्ने गरेका प्रहरीले जनाएको छ । जाहेरी परेकामध्ये अधिकांशलाई प्रहरीले काउन्सिलिङ गरेर सल्टाउने गरेको छ । त्यसो हुँदा मुद्दा दर्ताको संख्या निकै कम देखिन्छ । आव ०७७–७८ मा ब्युरोबाट ६० वटा मात्रै दर्ता हुनुको कारण यही रहेको प्रहरीको भनाइ छ । एसएसपी आर्यालले भने, ‘अधिकांश केसलाई काउन्सिलिङ गरेर सल्टाएका छौँ । मुद्दा दर्ता गर्नुभन्दा पनि पीडितले राहत पाउनु ठूलो विषय हो । हामीले त्यही विषयलाई केन्द्रमा राखेका छौँ ।’

निसानामा विशिष्ट व्यक्ति
ब्युरोका अनुसार ब्ल्याकमेलिङपछि चरित्र हत्याका घटना पनि धेरै हुने गरेका छन् । विशेष गरी भिभिआइपी (विशिष्ट व्यक्ति) यसका सिकार हुने गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जालमा भिभिआइपीको टाउकोसँग अरूको शरीर जोड्ने, युगल जोडी बनाइदिने, नक्कली हस्ताक्षर प्रयोग गर्नेजस्ता घटना धेरै हुने गरेको प्रहरीको भनाइ छ । ‘चरित्र हत्या गर्नेजस्ता घटना पनि बढेका छन् । यसको सिकार विशिष्ट व्यक्ति हुने गरेका छन् । यस्ता घटनासँग सम्बन्धित व्यक्तिलाई हामीले पक्राउ गरेका छौँ । आवश्यक कानुनी उपचार खोज्ने काम निरन्तर जारी छ,’ एसएसपी अर्यालले भने ।