१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २६ बुधबार १८:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रममा नपरी दत्तचित्त भई महाधिवेशनमा लाग्न कांग्रेस सभापति देउवाको आह्वान (वक्तव्यको पूर्णपाठसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २६ बुधबार १८:२१:००

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको भन्दै दत्तचित्त भई लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । देउवाले बुधबार वक्तव्य जारी गरी कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई महाधिवेशनको काम गर्न पनि अनुरोध गरेका छन् ।

सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारपूर्वक काम नगरेका कारण अहिलेको अवस्था आएको देउवाको दाबी छ । देउवाले यस्तो स्थिति आउनुमा सरकार पूर्णरूपले दोषी रहेको जिकिर गरेका छन् । 

वक्तव्य जस्ताको तस्तैः 
आदरणीय दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरू !

कोभिड–१९ को महामारीले लामो समयदेखि हामी अत्यन्त कठिन अवस्थामा छौँ । संक्रमणका कारण पार्टीका धेरै साथीहरू, साथीहरूका परिवारका सदस्य र नागरिकहरूले ज्यान गुमाउनुभयो भने कतिपय निकै पीडामा रहनुप¥यो । म कोभिड–१९ का कारण दिवंगत हुनुभएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । संक्रमणका कारण घरमा आइसोलेसनमा बस्नुभएका वा अस्पतालमा भर्ना हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको रायअनुसार रहन बस्न अनुरोध गर्दछु । सरकारले जनताको स्वास्थ्यका बारेमा समयमा गम्भीर भई इमान्दारपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएको छ । यसमा सरकार पूर्णरूपले दोषी छ । 

यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु– २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् । महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीलगायतका कार्य गर्नुछ । यसका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिनेछन् । 

म पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरू, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, देशभरिका पार्टी सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरू, विदेशस्थित जनसम्पर्क समितिका साथीहरूलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु । कोभिड–१९को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु । 

जय नेपाल !
    शेरबहादुर देउवा
    सभापति