केएल दुगड समूहले विराटनगर बसपार्कमा कार्यरत मजदुरहरूलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । समूहले दैनिक काम गरेर गुजारा गर्नुपर्ने, तर हाल काम नपाएका मजदुरलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्रीहरू वितरण गरेको हो ।
कोभिड–१९ महामारीले गर्दा काम नपाएका १ सयजना मजदुरलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा वितरण गरिएको समूहले जनाएको छ । केएल दुगड समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४ सयजना बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको जनाएको छ । उक्त कार्यक्रम ०७८ असार मसान्तसम्म रहने समूहले जनाएको छ ।
समूहले नेपालगन्जको भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको जनाइएको छ । उक्त सहयोगले उक्त अस्पातलमा सञ्चालित भोजनघरमा जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको समूहले जनाएको छ ।
महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरूलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको र अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।