मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २६ बुधबार ०८:११:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवि स्नातक तह प्रथम वर्षका ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न सकेनन्, भौतिकरूपमा परीक्षा हुने

Read Time : > 2 मिनेट
२०७८ जेठ २६ बुधबार ०८:११:००

स्नातक तह प्रथम वर्षको परीक्षा साउन दोस्रो साता भौतिक रूपमा हुने, दुई वर्षमा स्नातक प्रथम वर्षको अध्ययन र परीक्षा सकिने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पुरानो प्रथम वर्षका विद्यार्थीको परीक्षाका लागि अनलाइन फारम खुलाए पनि ५० प्रतिशतले भर्न नसकेको पाइएको छ । अनलाइन फारम भर्न नसके पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको छ । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको जानकारी दिए । ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको बताए । कोभिड–१९ को संक्रमण कम हुँदै गएकाले अनलाइनमार्फत भए पनि परीक्षा लिने उनले जानकारी दिए । 

पुष्पराज जोशी, परीक्षा नियन्त्रक 
त्रिवि कोरोना संक्रमण बढेर भयावह अवस्था आए मात्रै भौतिक उपस्थितिमा हुने परीक्षा अनलाइनमार्फत हुन्छ । अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्छौं ।

आगामी साउनमा भौतिक रूपमा हुने परीक्षा छुटाएमा विद्यार्थीको पुनः परीक्षा नलिइने जोशीको भनाइ छ । भौतिक रूपमा परीक्षा हुन नसक्ने अवस्था आएमा अनलाइनमा जति सहभागी हुन सक्छन्, उनीहरूको मात्रै भए पनि परीक्षा हुने उनले बताए । ‘संक्रमण बढेर भयावह अवस्था आए मात्रै भौतिक उपस्थितिमा हुने परीक्षा अनलाइनमार्फत हुन्छ । अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्छौँ,’ जोशीले भने । त्रिविमा वार्षिक प्रणालीका पनिका बल्खुले लिँदै आएको छ । 

अनलाइन फारम भर्न नसकेर ‘हार्डकपी’ फारम भर्दै त्रिविका विद्यार्थी
त्रिविले कोभिड संक्रमणको समयमा सहज गराउने उद्देश्यले अनलाइन फारम खुलाएको हो । अनलाइन फारम भर्न नसकेको गुनासो आएपछि क्याम्पसमा पुगेर विद्यार्थीले हार्डकपीमा फारम भरिरहेको जोशीले बताए । तर पनि ५० प्रतिशत विद्यार्थीले अनलाइनबाट फारम भर्न नसकेको क्याम्पस प्रमुखहरूले नियन्त्रक जोशीलाई रिपोर्टिङ गरेका थिए । अनलाइन फारम भर्न कठिन भएका विद्यार्थीले नजिकैको क्याम्पसबाट फारम भरेर बुझाएका छन् । ३१ जेठसम्म फारम भर्न समय दिइएको छ । त्यसपछिको एक हप्ता दोब्बर दस्तुरमा फारम भर्न पाउनेछन् । त्रिविले कतिपय छुट भएका विद्यार्थीलाई परीक्षाअघि एक÷दुई दिन अवसरसमेत दिने गरेको छ । त्रिविमा स्नातक पुरानो प्रथम वर्षको परीक्षा दिने मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन, शिक्षा र विज्ञान संकायका विद्यार्थी संख्या साढे दुई लाख छ । एलएलबीमा १४ हजार विद्यार्थी छन् । 

दोस्रो वर्षका बाँकी विषयको पनि परीक्षा लिने
स्नातक दोस्रो वर्षको परीक्षाको भइरहेको अवस्थामा कोभिड संक्रमण पढेपछि परीक्षा स्थगित भएको थियो । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै साउन पहिलो साता सुरु गर्ने त्रिविको तयारी छ । एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका २७ विषयमध्ये चार विषयको परीक्षा बाँकी छ । त्यसैगरी, विज्ञानका तीन र शिक्षाशास्त्रका नियमिततर्फ एक तथा मौकातर्फका तीन विषय बाँकी छन् । अधिकांश विद्यार्थीका एक/एक विषय मात्र परीक्षा दिन बाँकी छ । सेमेस्टरतर्फका पनि परीक्षाको तयारी भएर स्थगित भएका छन् ।

त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको १२ वैशाखको निर्णयअनुसार परीक्षा स्थगित भएका थिए । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालयले कोभिडका कारण परीक्षा रोकिए पनि माथिल्लो कक्षामा पठनपाठन सञ्चालन गरिरहेको छ ।

प्रथम वर्षको परीक्षा दुई वर्षमा दिन पाउने 
त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षमा अहिले दुई ब्याचका विद्यार्थी छन् । ०७६ भदौमा भर्ना भएका पुरानो प्रथम वर्षका विद्यार्थीले समेत परीक्षा दिन पाएका छैनन् । त्रिविले पुरानो प्रथम वर्षका लागि परीक्षा फारम खुलेको सूचना निकाले पनि अधिकांश विद्यार्थीले भर्न पाएका थिएनन् । कोभिडका कारण प्रथम वर्षका विद्यार्थीलाई कम्तीमा दुई वर्ष लाग्ने देखिएको छ । नयाँ प्रथम वर्षको विद्यार्थीका लागि ०७७ माघमा भर्ना खुलेको थियो । नयाँ प्रथम वर्षका विद्यार्थीले हाल अध्ययन गरिरहेका छन् । मानविकीका दोस्रो वर्षका विद्यार्थीले झन्डै दुई वर्ष एउटै कक्षामा बिताउन लागेका छन् । तेस्रो वर्ष सकिने वेलामा कोभिडका कारण दोस्रो वर्ष नै चालू छ । कोभिडका कारण चलिरहेको परीक्षा रोकिएपछि उनीहरूले अहिलेसम्म तेस्रो वर्ष प्रवेश गर्न पाएका छैनन् ।