मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २५ मंगलबार २१:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रशासनको आदेशपछि बाराका तीन खोलामा उत्खनन रोकियो

Read Time : > 1 मिनेट
२०७८ जेठ २५ मंगलबार २१:०५:००

खोलाजन्य ठेक्का लगाएदेखि हालसम्म एकपटक पनि अनुगमन हुन नसकेको बालगंगा खोलामा जिल्ला प्रशासन कार्यालय बाराले अनुगमन गरी उत्खनन बन्द गराएको छ । तोकिएको परिणाम र मापदण्डविपरीत उत्खनन भएको पाइएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारबाट खोलामा उत्खनन बन्द गराएको हो । 

सोमबार इलाका प्रशासन कार्यालय, सिमराका प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनपश्चात् मापदण्डविपरीत उत्खनन भएको पाइएपछि मंगलबारबाट रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘जितपुर–सिमरा उपमहानगरपालिकालाई बढी उत्खनन गरेको र कानुनविपरीत भएको कामका लागि कारबाही गर्न भनेका छौँ, कानुनबमोजिम उत्खनन गर्न रोक लगाएका छैनौँ ।’ पौडेलले भने ।

ढकालका अनुसार बालगंगा खोलामा तोकिएको परिमाणभन्दा बढी उत्खनन गरेको पाइएको, नगरले ठेक्का लगाएको तीनवटै खोलामा सम्झौतामा एक मिटर गहिराइ बनाई उत्खनन गर्न पाउने भनिए तापनि चार मिटर गहिराइसम्म उत्खनन भएको र खोलाका किनारबाट दुवैतर्फ छोड्नुपर्ने भागसमेत उत्खनन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सोही प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय, बाराले जितपुर–सिमरा उपमहानगरले ठेक्का लगाएका तीनवटै खोलामा रोक लगाएको हो । उपमहानगरले खोलालाई च्यानलाइज गर्न आवश्यकताअनुसार एउटा एक्साभेटर प्रयोग गर्न सक्ने वातावरण परीक्षण मूल्यांकनमा उल्लेख भए पनि दुईवटा एक्साभेक्टरले उत्खनन गरिरहेको डिभिजन वन प्रमुख मञ्जुर अहमदले बताए ।  मञ्जुरले भने, ‘अनुगमनमा गइयो, ठुल्ठूला खाल्डा हेरियो, दुईवटा मेसिन चलेकै थिए, अरू केही गर्न सकिँदैन, हेरेर फर्कियौँ ।’ 

जितपुर–सिमरा उपमहानगरपालिकाका मेयरको ठाडो आदेशअनुसार दुईवटा एक्साभेटर मेसिन प्रयोग गर्न ठेकेदारलाई पत्र नै दिएको नगरपालिकाका राजस्व प्रमुख पूर्ण तिवारीले बताए । 

खोलाको सतहबाट बढीमा तीन फिटसम्म गहिराइ बनाएर गिटी–बालुवा निकाल्न मिल्ने वातावरणीय प्रारम्भिक परीक्षणले जनाएको छ । ठेकेदारले एक्साभेटरको प्रयोग गरी २० फिटसम्मको गहिराइबाट गिटी–बालुवा निकालेर कानुनको धज्जी उडाउँदासमेत नियमन गर्ने निकाय नगरपालिका मौन बसेपछि जिल्ला प्रशासन कार्यालय, बाराले अनुगमन गरी रोक लगाउने निर्णय गरेको हो । 

जितपुर–सिमरा उपमहानगरपालिकाका राजस्व विभाग प्रमुख पूर्ण तिवारीले भने, ‘हामीले दुवै मेसिन प्रयोग गर्न भनेर पत्र नै दिएका छौँ’, तिवारीले भने । ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ६ को उपदफा (३) अनुसार, वनक्षेत्रको ढुंगा, गिटी, बालुवाजस्ता साधारण निर्माणमुखी पदार्थको संकलन, उत्खननका लागि मेसिनरी औजार प्रयोग गर्दा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र मापदण्डभित्र रही गर्नुपर्नेछ’ भन्ने छ ।