मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ जेठ २४ सोमबार २०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठेकेदारले बुझाएनन् तेस्रो किस्ता, कारबाही गर्न सक्दैन नगर

Read Time : < 1 मिनेट
२०७८ जेठ २४ सोमबार २०:३७:००

जितपुर–सिमरा उपमहानगरपालिकाले खोलाजन्य पदार्थ उत्खनन तथा संकलन गर्न लगाएको ठेक्काबापतको तेस्रो किस्ता ठेकेदारले हालसम्म बुझाएको छैन । ठेकेदार पक्षले तेस्रो तथा अन्तिम किस्ता चैत मसान्तभित्र जम्मा गर्नुपर्ने सम्झौता भए पनि हालसम्म रकम जम्मा गरेको छैन । 

ढुंगा, गिटीब बालुवा ठेक्काबापतको तीन करोड १२ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भए पनि हालसम्म जम्मा नभएको जितपुर–सिमरा उपमहानगर स्रोतले जनाएको छ । 

ठेकेदार पक्षले राजस्वबापतको रकम किस्तामा बुझाउँदा तीन किस्तामा बुझाउनुपर्ने हुन्छ । पहिलो किस्ता सम्झौता गर्ने समयमा कुल रकमको ३३ प्रतिशत र बाँकी रकमलाई दुई भाग लगाई दुई किस्तामा बुझाउनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

तेस्रो किस्ताबापतको चार करोड २७ लाख रुपैयाँमध्ये ठेकेदारले एक करोड १५ लाख रुपैयाँ जम्मा गरे पनि बाँकी तीन करोड १२ लाख जम्मा हुन सकेको छैन । 

तेस्रो किस्ताबापतको रकम बुझाउन नगरले पटक–पटक ताकेता गरे पनि ठेकेदारले नगरको पत्रलाई बेवास्ता गर्दै आइरहेका छन् । सम्झौताबमोजिम नगरलाई बुझाउनुपर्ने रकम नबुझाउँदा नगरको आन्तरिक स्रोतबाट परिचालन हुने बजेटसमेत प्रभावित हुने वडाध्यक्षहरू बताउँछन् । यसरी ठेकेदारले समयमा रकम नबुझाउँदासमेत नगरले पत्र काट्नेबाहेक अन्य कुनै कारबाही गर्न सकेको छैन । 

‘यति ठूलो रकम बैंकमा राख्दासमेत लाखौँ रुपैयाँ ब्याज प्राप्त हुन्छ, तोकिएको समयभित्र किस्ता नबुझाए एक हप्तापछि काम रोक्न सक्ने अधिकार नगरसँग हुन्छ,’ वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले भने । 

चालू आवको लागि नगरले १२ करोड ७६ लाख रुपैयाँमा तीनवटा खोलाको ठेक्का लगाएको थियो ।