१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
वीरगन्ज सुक्खा बन्दरगहारमा पार्किङ गरेर राखिएका विभिन्न ब्रान्डका विद्युतीय गाडीहरू । तस्बिर : नयाँ पत्रिका
नवीन अर्याल काठमाडौं
२०७८ जेठ २४ सोमबार १०:२२:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार घटेपछि बन्दरगाहमा रोकिएका विद्युतीय गाडी भित्रिन सुरु

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ जेठ २४ सोमबार १०:२२:००

विद्युतीय सवारीसाधनमा अन्तःशुल्क पूर्ण रूपमा हट्नुका साथै भन्सार पनि घटेपछि वीरगन्जको सुक्खा बन्दरगाहमा  एक वर्षदेखि रोकिएका गाडी भित्रन सुरु, कम्पनीहरूले नयाँ मूल्यसूची सार्वजनिक गरे, इभीमा उत्साहको अपेक्षा

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनको अन्तःशुल्क खारेज गर्नुका साथै भन्सारदर पनि घटाएपछि नेपालमा वीरगन्जको सुक्खा बन्दरगाहमा एक वर्षदेखि रोकिएका गाडी भित्रन थालेका छन् । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभित्र उत्पादित विद्युत्को खपत बढाउन र वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई बढाउन भन्दै अन्तःशुल्क खारेज र भन्सारदर घटाएका हुन् । भन्सारदर घटेपछि विक्रेताहरूले गाडीको घटेको मूल्यसूची पनि सार्वजनिक गरिरहेका छन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत विद्युतीय सवारी आयातमा ४० प्रतिशत भन्सार शुल्क (८० प्रतिशत भन्सारदर तोकेर आधा छुट दिइन्थ्यो) र गाडीको क्षमता हेरीकन ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क कायम गरेका थिए । त्यसले गर्दा विद्युतीय गाडीको मूल्य बढेर झन्डै दोब्बर पुगेको थियो । तर, अर्थमन्त्री पौडेलले डा. खतिवडाको निर्णय उल्टाउँदै विद्युतीय गाडी आयातमा १० प्रतिशतदेखि ४० प्रतिशतसम्म भन्सार कायम गरेका छन् । र, अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिदिएका छन् ।

खतिवडाको बहिर्गमनसँगै गत मंसिरमै विद्युतीय गाडीमा अन्तःशुल्क घटाएर ६ प्रतिशतदेखि ६० प्रतिशतसम्म कायम गरिएको थियो । खतिवडाको निर्णय संशोधनपछि फाट्टफुट्ट मात्र गाडी बिक्री भएका थिए । अहिले १ सय किलोवाटसम्मका कार, जिप र भ्यानलाई भन्सारदर १० प्रतिशत, १ सयदेखि २ सय किलोवाटसम्मकालाई १५ प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्मकालाई ३० प्रतिशत, ३ सयभन्दा बढी किलोवाटका कार, जिप तथा भ्यानलाई ४० प्रतिशत, रेफ्रिजेरेटिङ जडान गरिएका ढुवानी गर्ने गाडीलाई १ प्रतिशत, ढुवानी गर्ने विद्युतीय गाडीलाई १० प्रतिशत भन्सारदर कायम गरिएको छ । अहिले नेपालमा भित्रिने विद्युतीय भर्सनका अधिकांश कार, जिप र भ्यान २ सय किलोवाटभन्दा कम क्षमताका छन् । 

अन्तःशुल्क र भन्सार वृद्धि भएपछि किया, हुन्डाईलगायत कम्पनीका विद्युतीय गाडी वीरगन्ज सुक्खा बन्दरगाहमा थन्किएका थिए । चर्को अन्तःशुल्क र भन्सार शुल्क तिरेर ल्याउँदा गाडीको मूल्य १ करोडभन्दा माथि पुग्ने र बिक्री हुने सम्भावना नदेखेपछि भन्सारमै राखेको किया मोटर्सका नेपाली विक्रेता सुहृद घिमिरे बताउँछन् । उनी थप्छन्, ‘१ करोड रुपैयाँमा तेलबाट चल्ने लक्जरी कार नै पाइन्छन्, मान्छेले किन विद्युतीय गाडीलाई १ करोड रुपैयाँ खर्चिन्थ्यो र ?’

विद्युतीय गाडीको भन्सार घटेपछि रोकिएका गाडीहरू भित्रिन लागेको वीरगन्ज सुक्खा बन्दरगाह कार्यालयका सूचना अधिकारी चूडामणि कट्टेलले बताए । उनका अनुसार भन्सारमा ५०–५५ विद्युतीय गाडी रोकिएका छन् । भन्सारमा ठूलो संख्यामा कियाको निरो गाडी पार्किङ गरिएका छन् । किया गाडी विक्रेता घिमिरेका अनुसार ४३–४४ वटा निरो भन्सारमा छन् । हुन्डाईका करिब २५ वटा गाडी भन्सारमा रोकिएका छन् । यस्तै, टेस्ला, अउडी, मर्सिडिज बेन्जलगायत प्रिमियम ब्रान्डका गाडी पनि भन्सारमा देखिन्छन् । 

विद्युतीय गाडीको मूल्य घटेपछि इन्क्वायरी पनि आउन थालेको लक्ष्मी हुन्डाईका निर्देशक निराकार श्रेष्ठले बताए । ‘बजार खुलेपछि बिक्री पनि बढ्नेछ,’ उनले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि भन्सारमा भएका गाडी ल्याउँछौं ।’ गत मंसिरमा अन्तःशुल्क घटेपछि हुन्डाईका केही थान विद्युतीय गाडी बिक्री पनि भए । त्यतिवेला भन्सार छुटाएर ल्याएका गाडी पनि स्टकमै रहेको उनको भनाइ छ ।

नेपालमा हुन्डाईले विद्युतीय भर्सनमा कोना र आयोनिक दुई मोडल बिक्री गर्दै आइरहेको छ । कोना सय किलोवाट र १ सय ५० किलोवाट क्षमतामा उपलब्ध छ । ‘गत वर्ष बजेटले अन्तःशुल्क र भन्सार बढाएपछि कोना र आयोनिकको मूल्य १ करोडभन्दा माथि पुगेको थियो,’ श्रेष्ठले भने, ‘बीचमा अन्तःशुल्क घटेपछि मूल्य केही घट्यो, अहिले गाडीको मूल्य करिब पुरानै अवस्थामा फर्किएको छ ।’ बीचमा अन्तःशुल्क घटेपछि १५–२० वटा गाडी भन्सार पास गरेर ल्याएको उनको भनाइ छ ।

व्यवसायीका अनुसार डा. खतिवडाले अन्तःशुल्क र भन्सार बढाउनेबित्तिकै विद्युतीय गाडीको बिक्री करिब शून्यमै झ¥यो । बीचमा अन्तःशुल्क घटेपछि फाट्टफुट्ट केही गाडी बिक्री भएका थिए । अर्थमन्त्री पौडेलले यसअघि अन्तःशुल्क घटाएपछि हुन्डाई कोनाको मूल्य ७५ लाख ९६ हजार तोकिएको थियो । त्यसपछि अर्डर क्यान्सिल गरेका गाडी पनि आयात गर्ने लक्ष्मी हुन्डाईका निर्देशक श्रेष्ठले बताए । कोना १ सय ५० किलोवाटको मूल्य भने पहिलाको तुलनामा केही बढी राखिएको छ । यो गाडीको भन्सार १५ प्रतिशत तिर्नुपर्ने भएकाले मूल्य अलि बढेको हो । जबकि पहिला सबै क्षमताका गाडीमा समान भन्सारदर १० प्रतिशत कायम थियो । अहिलेसम्म नेपालमा कोना २ सय ७० वटा बिक्री भइसकेका छन् । 

किया विक्रेता घिमिरेले वीरगन्ज भन्सारमा एक वर्षदेखि रोकिएका विद्युतीय गाडी एक–दुई दिनमै भन्सार पास गरेर ल्याउने बताए । उनले भने, ‘विद्युतीय गाडीमा एक किसिमको मेमेन्टम आएको थियो, त्यो एक वर्षदेखि ब्रेक भएको छ ।’ अब बजारमा धेरै ब्रान्डका विद्युतीय गाडी भित्रिने हुँदा प्रतिस्पर्धा पनि बढ्ने उनको बुझाइ छ । टाटा मोटर्सले नेक्सन इभी बजारमा ल्याउँदै छ । यो गाडीको मूल्य अरू विद्युतीय गाडीको तुलनामा निकै कम हुने अपेक्षा गरिएको छ । बजेटको नयाँ व्यवस्थाले कियाको निरो पहिलाकै मूल्यमा भने पाइनेछैन । कियाको निरो १ सय ५० किलोवाट क्षमताको हुनाले १५ प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ । पहिला १० प्रतिशत भन्सार हुँदा ६७ लाखमा बिक्री गरेको निरोको मूल्य ७० लाख रुपैयाँ तोकिएको छ । 

मोरिस ग्यारेज (एमजी) गाडीको नेपाली विक्रेता पारामाउन्ट मोटर्सको नेपालमा विद्युतीय कार एमजी इजेडएस बिक्री गर्दै आइरहेको छ । एसयुभी डिजाइनमा रहेको एमजीको गाडी २ सय ५० वटा बिक्री भइसकेको कम्पनीका महाप्रबन्धक सचिन अर्याल बताउँछन् । एमजी इजेडएस १ सय ५० किलोवाट क्षमताको गाडी हो, जसको भन्सार १५ प्रतिशत तिर्नुपर्छ । पहिला ५० लाखमा बिक्री गरिरहेको गाडीको मूल्य ५१ लाख रुपैयाँ तोकेको उनले बताए । यो गाडी फुल चाज्र्डमा ३ सय ३५ किमिसम्म कुद्न सक्ने कम्पनीको दाबी छ ।

विश्वभरि कोभिड महामारी फैलिँदा गाडी उत्पादनको चेन बिग्रिएको छ । त्यसैले पनि कम्पनीले अर्डर गर्नेबित्तिकै कार उपलब्ध गराउन सक्ने देखिँदैन । पहिलो भेरियन्ट मत्थर भएर बजार खुलेपछि गाडीको माग ह्वात्तै बढेको थियो । तर, विक्रेताले अर्डर लिएर डेलिभरी गर्न २–३ महिनाभन्दा बढी लगाउनुपरेको थियो । नेपालमा कियाको निरो, हुन्डाई कोना र आयोनिक, एमजी, बिवाइडी, टेस्लालगायत विद्युतीय कारहरू तेस्रो मुलुकबाट आयात गर्नुपर्ने हुँदा ल्याउन समय लाग्ने व्यवसायी बताउँछन् । 

डा. खतिवडाले कर बढाएपछि महिन्द्रा इटुओको मूल्य २२ लाखबाट ३४ लाख पुगेको थियो । अहिले इटुओको मूल्य फेरि २४ लाखमा झरेको छ । महिन्द्रा गाडी विक्रेता क्याबिनेट श्रेष्ठका अनुसार अबदेखि विद्युतीय कार इटुओ आउनेछैन । इन्डियामा महिन्द्राले केयुभी, एटम, एक्सयुभी ३०० र सानो विद्युतीय पिकअप सार्वजनिक गर्न उपयुक्त समय कुरेर बसिरहेको छ । नेपालमा विद्युतीय केयुभी करिब ३० लाख रुपैयाँमा भित्रिने अनुमान छ । 

नेपालमा टाटा मोटर्सले विद्युतीय भर्सनमा नेक्सन ल्याउने तयारी गरिरहेको छ । टाटाको नेपाली विक्रेता सिप्रदी ट्रेडिङले आवश्यक पूर्वाधार बनाएर मात्र विद्युतीय कार सार्वजनिक गर्ने बताएको छ । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले सोरुम, सर्भिस सेन्टर, दक्ष जनशक्ति तयार गरेर मात्र विद्युतीय नेक्सन भिœयाउने बताए । अहिले इन्डियामा विद्युतीय नेक्सन १४–१६ लाख भारतीय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपालमा चर्चित सेलेब्रिटी, व्यवसायी, बैंकर, इन्जिनियर, डाक्टरलगायतले विद्युतीय कार चढ्न थालेका छन् । वातावरणवादी अभियन्ताहरू पनि विद्युतीय कारमा हुइँकिने गर्छन् । नेपाली सडकमा टेस्ला, अउडी, मर्सिडिज बेन्ज, किया, महिन्द्रा, हुन्डाई, एमजी, बिवाइडी, पोजोलगायत ब्रान्डका विद्युतीय कार हुइँकिन थालिसकेका छन् । यस्तै, हाइब्रिडमा टोयोटा, सुजुकीलगायत थुप्रै कम्पनीले गाडी बिक्री गरिरहेका छन् । 

सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने गाडीलाई विद्युतीय भर्सनमा परिवर्तन गर्न चाहेमा पाँच वर्षसम्म नवीकरण र सडक मर्मत शुल्क छुट दिने घोषणा गरेको छ । त्यस्तै, आधिकारिक वितरकविना गाडी ल्याएर बिक्री गर्न नपाइने व्यवस्था गरेका छन् । जबकि अघिल्ला अर्थमन्त्री डा. खतिवडाले ३० प्रतिशत पेनाल्टी तिरेपछि जुनसुकै ब्रान्डको गाडी ल्याउन पाउने व्यवस्था गरेका थिए ।