मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २३ आइतबार १२:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी क्षेत्रको लगानीमा हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

Read Time : > 1 मिनेट
२०७८ जेठ २३ आइतबार १२:५६:००

निजी क्षेत्रको पूर्ण लगानीमा हेटौँडा अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मकवानपुर घरजग्गा व्यवसायी संघले ३८ लाख लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको हेटौँडा अस्पतालमा अब अक्सिजन पूर्ण रूपमा सहज हुने भएको छ ।

कोभिडविरुद्ध नागरिक अभियानमा जुटेको संघले आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललाई प्लान्ट हस्तान्तरण गरेको हो । बयोधा मेडिकल टेक्नोलोजी प्रा.लि.बाट ३८ लाख लागतमा खरिद गरेर प्लान्ट हस्तान्तरण गरिएको संघका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए । ‘हामीले हेटौँडामा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूको सहयोगमा अस्पतालमा प्लान्ट निर्माण गरेका हौँ,’ घिमिरेले भने ।

हेटौँडा उपमहानगरपालिका कार्यालयको समन्वयनमा प्लान्ट निर्माण गरिएको घिमिरेले बताए । अस्पतालमा निर्माण गरिएको अष्ट्रेलियन टेक्नोलोजीको प्लान्टबाट २४ घन्टामा १५–१८ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । सातौँ संस्करणको प्लान्ट बयोधाले हेटौँडामा ल्याएको हो । प्लान्ट निर्माण र खरिदका लागि उपमहानगरपालिकाले समन्वय मात्र गरेको र संघको पूर्ण लागत रहेको मेयर हरिबहादुर महतले बताए । ‘सरकारी तवरबाट खरिद प्रक्रिया अघि बढाउँदा ढिलाइ हुने भएपछि संघले लगानीमा पूर्ण सहयोग गरेको हो ।’ उनले भने, ‘प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पुर्‍याउनेछ ।’

प्लान्ट हस्तान्तरणका क्रममा संघका उपाध्यक्ष कमल मैनालीले राज्यले आफूहरूलाई नीतिगत रूपमै बेवास्ता गरे पनि बारम्बार सरकारका निकायहरूलाई सहयोग गर्दै आइरहेको बताए । उनले यसअघि र आगामी दिनमा पनि सहयोग निरन्तर कायम रहने दाबी गरे । संघले अघिल्लो वर्ष पनि करिब नाै लाखको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईं, सामाजिक अभियन्ता सिद्धिलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।