Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चेङ सिआओहे
२०७८ जेठ २३ आइतबार ०९:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण कोरियाको भूराजनीतिक सन्तुलन नीति

Read Time : > 2 मिनेट
चेङ सिआओहे
२०७८ जेठ २३ आइतबार ०९:०४:००

दक्षिण कोरिया अमेरिकासँगको सम्बन्ध नबिगारी चीनसँग रणनीतिक सम्बन्ध विकास गर्न चाहिरहेको छ

दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तापछि त्यसका परिणामबारे बेइजिङसँग वार्ता गरिरहेको बताए । देशका पाँच राजनीतिक दलका नेतासँगको बैठकपछि भएको खानपिनका क्रममा मुनले यस्तो खुलासा गरेका थिए । मुनको पार्टी ‘मिनजु पार्टी अफ कोरिया’का नेतासमेत समावेश भएको बैठक राष्ट्रपति भवनमा बसेको योन्ह्याप न्युज एजेन्सीले लेखेको छ । मुनको भनाइले सियोलले बेइजिङ र वासिंटनबीच लिएको सन्तुलनकारी भूमिकातर्फ इंगित गर्छ । ट्रम्प राष्ट्रपति भएदेखि अमेरिकी प्रशासनले चीनविरुद्ध कठोर कदम उठाउन थाल्यो । उसले चीनविरुद्ध आफ्ना मित्रशक्तिलाई पनि प्रयोग गर्‍यो । तर, चीनविरोधी अभियानमा अमेरिकाको निकट मित्र दक्षिण कोरियाले त्यति साथ दिएको देखिन्न । 

हुन त मुन–बाइडेन वार्तापछि जारी संयुक्त वक्तव्यमा स्पष्ट रूपमा चीनको आलोचना गरिएको छ । तर, चीनसम्बन्धी मुद्दामा दुई मुलुकको अधिकतम सहमति वक्तव्यमा उल्लेख भएजति विषयमा मात्र हुनेछ । अहिले दक्षिण कोरियालाई कोभिड–१९ विरुद्धको खोपलगायत अन्य विषयमा सहयोगको आवश्यकता छ, त्यसैले पनि ऊ अमेरिकाका सर्त मान्न तयार देखिएको छ । तर, अब उसले भावी दिनमा बेइजिङसँग वार्ता गर्दा अमेरिकासँग गरेको सहमति व्याख्या गर्नुपर्ने हुन्छ ।  

अमेरिका र दक्षिण कोरियाले ‘रिभाइज्ड मिसाइल गाइडलाइन’ खारेज गर्ने सहमति गरेपछि सियोलले आफ्नो सार्वभौमिकतामाथिको पकड बलियो बनाएको छ । तर, गाइडलाइनको खारेजी वासिंटनले खुसी–खुसी गरेको भने होइन । सियोलले वर्षौंदेखि गाइडलाइन खारेजीको माग गर्दै आएको थियो । 

ट्रम्प प्रशासनले चीनविरुद्ध कठोर कदम उठाएर आफ्ना मित्रशक्तिलाई समेत प्रयोग गरे पनि अमेरिकाको निकट मित्र दक्षिण कोरियाले त्यति साथ दिएको देखिएन 

गाइडलाइन खारेजीको समयलाई ख्याल गर्दा वासिंटनले यसलाई सियोल र बेइजिङबीच फाटो ल्याउन प्रयोग गर्न खोजेको पनि हुन सक्छ । किनकि भोलि दक्षिण कोरियाले आफैँ मिसाइल निर्माण गरे, त्यसले चीनलाई पनि असर गर्नेछ । तर, दक्षिण कोरियाले चीनविरोधी अभियानमा संलग्न हुन हिचकिचाहट देखाएको सन्दर्भमा वासिंटनले मिसाइल गाइडलाइन खारेज गरेर चीनविरुद्ध वक्तव्य जारी गर्न सहमत गराएको पनि हुन सक्छ । बाइडेनले पछिल्लो समय जापान र दक्षिण कोरियाका राष्ट्रप्रमुखसँग वार्ता आयोजना गरेर यी देशसँगको सम्बन्धलाई महत्व दिएको सन्देश दिए । बाइडेनले जापान र दक्षिण कोरियासँगको सम्बन्धलाई उनका पूर्ववर्ती ट्रम्पले भन्दा बढी महत्व दिएका छन् । बाइडेनले अहिले यी दुई र अमेरिकाबीच कायम असमझदारी र समस्या सल्ट्याउने कामलाई प्राथमिकता दिएका छन् ।

त्यसबाहेक वासिंटन दक्षिण कोरिया र जापानबीच कायम विवादलाई न्यूनीकरण गर्न चाहन्छ । तर, वासिंटनले यी मुद्दालाई सम्बोधन गर्ने क्रममा परस्पर विरोधाभाषी कदम उठाएको छ । दक्षिण कोरियाले मिसाइल विकास गर्‍यो भने निश्चित रूपमा ऊ र जापानबीच टकराव बढ्नेछ । परिणामस्वरूप वासिंटनले सियोलको मिसाइल विकास गर्ने क्षमतामा लगाएको नियन्त्रण खुकुलो बनाउने कार्यले नयाँ विवाद सिर्जना गर्न सक्छ । यी उत्तरपूर्वी एसियाली मुलुकसँग वासिंटनको जेसुकै रणनीतिक माग भए पनि सियोल भने आगामी मार्गबारे स्पष्ट छ । दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्धमा गम्भीरता र गहिराइ छ । दुवै मुलुकले एकअर्कासँग केही लुकाउँदैनन् । दक्षिण कोरिया–अमेरिकाबीचको गठबन्धन नै दक्षिण कोरियाको परराष्ट्र नीतिको मूल खम्बा रहेको सर्वविदितै छ । र, दक्षिण कोरियाले चीनसँग विकास गर्ने साझेदारी पनि यही गठबन्धनले निर्देशित गर्नेछ ।  

राष्ट्रपति मुन जे–इनका विशेष सल्लाहकार मुन चुङ–इनले दक्षिण कोरियाको चीन र अमेरिकासँगको सम्बन्धबारे बोल्ने क्रममा भनेका थिए, ‘दक्षिण कोरिया र अमेरिकाबीच गठबन्धन तहको सम्बन्ध छ । चीनसँगको हाम्रो सम्बन्ध रणनीतिक साझेदारी हो । गठबन्धन रणनीतिक साझेदारीभन्दा धेरै महत्वपूर्ण हुन्छ, तर हामीहरू संरचनात्मक रूपमा चीनमा निर्भर रहेको पनि भुल्न हुँदैन ।’ यस भनाइका आधारमा पनि दक्षिण कोरिया अमेरिकासँगको सम्बन्ध नबिगारी चीनसँग सम्बन्ध विकास गर्न चाहन्छ भन्ने देखाउँछ । उसले दुईबीच सन्तुलन कायम गरेर अघि बढ्ने चाहना देखाएको छ । मुनको शासनकालमा यो मार्ग बदलिनेछैन । तर, आगामी राष्ट्रपतीय चुनावमा कन्जर्भेटिभहरूले विजय हासिल गरे भने यो सन्तुलनकारी रणनीति कायम रहला भन्न मुस्किल हुन्छ । यस परिदृश्यबाट हेर्दा, वासिंटनले सियोलमाथिको मिसाइलसम्बन्धी नियन्त्रण हटाएर मुनलाई तत्कालै कूटनीतिक लाभ दिन खोजेको हुन सक्छ । साथै अर्को वर्ष राष्ट्रपति जो भए पनि वासिंटनसँगको सम्बन्धबाट फाइदा लिन सकिने सन्देश दिन खोजेको छ, वासिंटनले । 

अमेरिका–कोरियाबीचको सम्बन्धमा देखिएको विकासक्रममाथि ध्यान दिएर चीनले पनि दक्षिण कोरियाप्रति संयम, विवेक र सहिष्णुता प्रदर्शन गर्नुपर्छ । सियोल बेइजिङसँग सम्बन्ध विकास गर्न इच्छुक देखिन्छ । यसले दुवै पक्षलाई फाइदा गर्छ । 

(सिआओहे रेनमिन युनिभर्सिटी अफ चाइनाका सह–प्राध्यापक हुन्) 
ग्लोबल टाइम्सबाट