मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०७८ जेठ २३ आइतबार ०८:५३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सडक निर्माणमा कंक्रिट प्रविधिलाई  प्राथमिकता, स्वदेशी निर्माण उद्योग उत्साहित

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ जेठ २३ आइतबार ०८:५३:००

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पहाडी क्षेत्रमा सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट र डन्डीको प्रयोग गर्ने घोषणा गरेको छ । सडक निर्माणमा कंक्रिट (सिमेन्ट, डन्डी, गिट्टी र बालुवा) प्रयोग गर्ने व्यवस्थाले सिमेन्ट तथा डन्डी उत्पादन गर्ने उद्योगीहरू उत्साहित भएका छन् । बिटुमिन र रोडाको मिश्रणबाट कालोपत्रे गरिएको सडकभन्दा सिमेन्ट र रोडाको मिश्रणबाट बनाइने कंक्रिट ढलान बढी टिकाउ हुने सडक विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ‘सिमेन्ट कंक्रिट प्रविधि सुरुमा महँगो भए पनि धेरै टिकाउ हुन्छ,’ उनले भने, ‘त्यसैले पहाडी क्षेत्रका सडकमा कंक्रिटको ढलानलाई प्राथमिकता दिन लागिएको हो ।’  

मुलुकभित्रै उत्पादित सामग्रीको प्रयोगले आयात घटाउन मद्दत पुग्ने विभागका महानिर्देशक थापाको भनाइ छ । मुलुक सिमेन्टमा करिब आत्मनिर्भर भइसकेको छ । सिमेन्ट उत्पादनमा स्वदेशकै चुनढुंगा खपत भइरहेको छ । गिट्टी र बालुवाको पनि अभाव छैन । तर, कालोपत्रेका लागि आवश्यक बिटुमिन आयात गरिनुपर्छ । उनका अनुसार धेरै भारवहन थेग्नुपर्ने सडकमा पनि कालोपत्रेको सट्टामा सिमेन्ट कंक्रिटको ढलानलाई प्राथमिकता दिइने भएको छ । सरकारले अहिले पहाडी भेगमा पानी बग्ने, भिरालो, खोल्साखोल्सी, कमजोर धरातल, पहिरो जाने र ज्यादै घुम्ती भएका स्थानमा सिमेन्ट कंक्रिट प्रयोग गर्न लागेको हो । महाकाली राजमार्ग, पूर्व–पश्चिम राजमार्गको दाउन्ने, बिपी राजमार्गका घुम्तीहरूमा सिमेन्ट कंक्रिट प्रयोग भइसकेको छ ।  

सरकारले सडक निर्माणमा सिमेन्ट र डन्डीको प्रयोगलाई प्राथमिकता दिनु सकारात्मक भएको सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले बताए । ‘हामीले सडक विभागमा दुई–तीन वर्षदेखि पहल गरिरहेका थियौँ,’ उनी भन्छन्, ‘पहाडका खोल्सा, पहिरो जाने, पानी जम्ने ठाउँमा सिमेन्ट कंक्रिटले ढलान गर्नैपर्छ ।’ सिमेन्ट कंक्रिटको ढलान सुरुमा महँगो पर्न गए पनि लामो समय टिक्ने हुँदा दीर्घकालमा धेरै सस्तो पर्न जान्छ ।’ इन्जिनियरसमेत रहेका उद्योगपति न्यौपानेका अनुसार बिटुमिन कंक्रिटको कालोपत्रेभन्दा सिमेन्ट कंक्रिटको ढलान दोब्बरसम्म महँगो पर्न सक्छ । तर, बढी टिकाउ र बीच–बीचमा मर्मत खर्च त्यति नलाग्ने हुँदा दीर्घकालमा सस्तो पर्छ ।

बिटुमिनको कालोपत्रे सडकको आयु १० देखि १५ वर्ष हुने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको भनाइ छ । गुणस्तर कायम गर्न नसकेमा कालोपत्रे सडक ५–६ वर्ष पनि टिक्दैन । पानी जम्ने–बग्ने र कमजोर धरातल भएको ठाउँमा कालोपत्रे चाँडै उप्किन्छ । तर, सिमेन्ट कंक्रिटको सडक मर्मत नगरी ४० वर्ष सजिलै टिक्ने थापाको भनाइ छ ।

इन्जिनियरहरूका अनुसार सिमेन्ट कंक्रिटको सडकमै नाला बनाएर पानी बगाए पनि सडक बिग्रिँदैन । युरोप र अमेरिकातिर अधिकांश मुलुकले मुख्य तथा सहायक सबै सडकमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने उनको भनाइ छ । ‘हामीले सडकमा सिमेन्टको प्रयोग गर्न पहिलेदेखि नै पहल गरिरहेका थियौँ, हाइवेदेखि भित्री सडकसम्म सिमेन्टको प्रयोग हुनुपर्छ,’ थापा भन्छन्, ‘तर, बजेटमा पहाडी क्षेत्रका भिरालो, पानी बग्ने ठाउँमा सिमेन्ट र डन्डी प्रयोग गर्ने भनिएको छ ।’ 

सिमेन्ट उत्पादक संघले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सडकमा सिमेन्ट कंक्रिट प्रयोग गर्ने विषयमा वर्कसप नै गरेको थियो । संघले विज्ञसँगको सहकार्यमा स्थानीय र जिल्ला तहका सडक निर्माणमा सिमेन्ट कंक्रिट प्रयोगसम्बन्धी गाइडलाइन नै तयार पारिसकेको छ । अर्थसचिव शिशिर ढुंगानाले बजेटमा उल्लिखित व्यवस्था कार्यान्वयन हुने बताए । ‘अब आवश्यक ठाउँमा सिमेन्ट कंक्रिटको प्रयोग गर्नुपर्छ, अब सडक विभागले गाइडलाइन बनाएर कार्यान्वयनमा ल्याउनेछ,’ उनले भने, ‘हाम्रो लक्ष्य सिमेन्ट कंक्रिट प्रयोग गरिएको कुनै एउटा पाइलट प्रोजेक्ट बनाइहाल्ने रहेको छ ।’ 

सिमेन्ट डन्डीको बजार विस्तार
अहिले मुलुकभर ६५ सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड २० मेट्रिकटन पुगिसकेको छ । तर, सामान्य समयमा बजारमा सिमेन्टको माग वार्षिक १ करोड १० लाख मेट्रिकटन पुगेको छ । यसैगरी, मुलुकभर रहेका डन्डी उद्योगको जडित क्षमता वार्षिक ३० लाख मेट्रिकटन रहेको छ ।

तर, बजारमा डन्डीको माग करिब १३ लाख मेट्रिकटन पुगेको छ । डन्डी उद्योग पनि औसतमा आधाभन्दा कम क्षमतामा चलिरहेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा पनि मुलुकभित्र रहेका सिमेन्ट उद्योगहरू आधा क्षमतामा चलिरहेको उल्लेख थियो । यदि मुलुकमा सडक निर्माणमा सिमेन्ट र डन्डी प्रयोग गरिएमा आधा क्षमतामा चलिरहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुने उद्योगीहरू बताउँछन् ।

सो प्रतिवेदनमा राष्ट्र बैंकले मुलुक सिमेन्टमा आत्मनिर्भर बन्दै गइरहेको र निर्यातका लागि पहल कदमी आवश्यक रहेको बताइएको थियो । बजेटमा पनि डन्डी, सिमेन्टलगायत निर्माण सामग्रीमा आत्मनिर्भर बन्दै निर्यात प्रवद्र्धन गरिने उल्लेख छ ।