मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७८ जेठ २३ आइतबार ०८:२१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना भ्याक्सिन परीक्षणको सुखद नतिजा : ७५ प्रतिशतमा खोप लगाउँदा ९५ प्रतिशत मृत्युदर घट्यो 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ जेठ २३ आइतबार ०८:२१:००

कोरोना भाइरस (कोभिड– १९) महामारीले विश्वमै सबैभन्दा बढी गाँजेको देश ब्राजिलमा गरिएको एउटा परीक्षणले सुखद् नतिजा दिएको छ । यहाँ हालै सम्पन्न कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणको नतिजाले विश्व मानव समुदायलाई खुसीको खबर दिएको हो ।

ब्राजिलको एउटा सहरका लगभग सबै युवा र वयस्कहरूमाथि भ्याक्सिनको परीक्षण गरिएको थियो । परीक्षणपछि यहाँ मृत्युदरमा ९५ प्रतिशतले कमी आएको पाइएको छ । ४५ हजार बासिन्दा रहेको ब्राजिलको सेर्राना सहरमा गरिएको परीक्षणपछि संक्रमण दरमा पनि ठूलो अन्तरले कमी आएको पाइएको छ । त्यहाँ चीनले बनाएको भ्याक्सिन कोरोनाभ्याकको परीक्षण गरिएको थियो । 

अनुसन्धान टोलीले धेरै मानिसलाई भ्याक्सिन लगाएपछि भ्याक्सिन नलगाएकाहरू पनि सुरक्षित भएको जनाएको छ । यो परीक्षणको नतिजाले ७५ प्रतिशतलाई पूर्ण रूपमा भ्याक्सिन लगाइएपछि कोरोना भाइरस महामारी नियन्त्रणमा लिन सकिने देखाएको छ ।

ब्राजिलले भाइरस संक्रमणकै कारण झन्डै चार लाख ६३ हजारको मृत्यु व्यहोरेको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन अपर्याप्त भएपछि ब्राजिलले आवश्यक्ताअनुसार आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन सकिरहेको छैन ।

साओ पाउलो राज्यको दक्षिणपूर्वी सहर सेर्राना राज्यमा यो परीक्षण गत फेब्रुअरी र अप्रिल महिनामा गरिएको थियो । सिनोभ्याक बायोन्टेकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको कोरोनाभ्याक भ्याक्सिन उत्पादन गर्ने चिनियाँ कम्पनी इन्स्टिच्युड बुटान्टनले यो परीक्षण गरेको थियो । उक्त सहरलाई चार क्षेत्रमा विभाजन गरी परीक्षण गरिएको थियो । अनुसन्धान टोलीले चारमध्ये तीन क्षेत्र वा १८ वर्षभन्दा माथिका ७५ प्रतिशतलाई भ्याक्सिनको पूरै डोज दिइएपछि यो नतिजा प्राप्त भएको जनाएको छ ।

उक्त क्षेत्रको ९५ प्रतिशत वयस्कलाई पूर्ण रूपमा भ्याक्सिन दिएर गरिएको परीक्षणपछि अनुसन्धान टोलीले भनेको छ, मृत्युदर ९५ प्रतिशतले घट्यो । अस्पताल भर्ना हुनेको संख्या ८५ प्रतिशतले घट्यो ।

लक्षणसहितको संक्रमण ८० प्रतिशतले घट्यो

अनुसन्धान गर्ने कम्पनी बुटान्टनका अनुसन्धान निर्देशक रिकार्डाे पालासिओसले अध्ययनले महत्वपूर्ण नतिजा दिएको प्रतिक्रिया दिए । ‘यो अध्ययनको महत्वपूर्ण नतिजा भनेकै हामी पूरै जनसंख्यालाई भ्याक्सिन नलगाईकन पनि यो महामारीलाई रोक्न सक्छौँ,’ उनले भने । उनले यो परीक्षणमा अन्य व्यक्तिलाई भ्याक्सिन लगाउँदा भ्याक्सिन नलगाएका बालबालिका र युवाहरूमा पनि संक्रमण दर कम देखिएको जनाए । ‘यसले विद्यालय खोल्नका लागि बालबालिकालाई भ्याक्सिन लगाउनुपर्दैन भन्ने देखाएको छ,’ उनी भन्छन् ।

पालासिओसका अनुसार यो भ्याक्सिन उत्तरी सहर मानसमा पहिलोपटक देखिएको पी.१, भाइरस (जसलाई अहिले गामा भनिन्छ) विरुद्ध पनि प्रभावकारी देखिएको छ । ब्राजिलमा देशैभरि द्रुत गतिमा संक्रमण फैलनुलाई गामाको नयाँ भेरियन्टलाई नै दोष दिएको छ ।

साओपाउलोबाट झन्डै तीन सय १५ किलोमिटर टाढा रहेको सेर्राना सहरवरिपरीका सहरहरूमा संक्रमण दर व्यापक बढ्दो अवस्थामा देखिएको छ । २४ किलोमिटर मात्रै टाढा रहेको रिबेइराओ प्रेटो सहरमा बढ्दो संक्रमणका कारण लकडाउन लगाइएको छ ।

यो अध्ययनको नतिजाले कोरोनाभ्याक भ्याक्सिनको माग थप बढ्न सक्ने अनुमान गरिएको छ । हाल दर्जनभन्दा बढी विकासशील मुलुकहरूले कोरोनाभ्याक भ्याक्सिन प्रयोग गर्दै आइरहेका छन् । यसै वर्षको सुरुवातमा ब्राजिलसहित इन्डोनेसिया र टर्कीमा पनि गरिएको क्लिनिकल ट्रायलमा प्रभावकारिता ५० देखि ९० को बीचमा देखिएपछि भ्याक्सिनमाथि आशंका बढेको थियो । नयाँ परीक्षणले भने धेरै राम्रो नतिजा देखाएको छ ।