मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
२०७८ जेठ २१ शुक्रबार १९:३९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बुद्विबहादुर विकको, घरदेखि घाटसम्मको यात्रा

Read Time : > 2 मिनेट
२०७८ जेठ २१ शुक्रबार १९:३९:००

तानसेन– ९ डाँडाडुममा करिब पानी ओतिने टिनको बुकुरोमा आफ्ना दुई छोरी र श्रीमतीसँग बस्थे बुद्धिबहादुर । अलि ठूलो हावा र पानी आयो भने उनको वास रहने अवस्थामा छैन । जनता आवासअन्तर्गत बन्दै गरेको घरको पैसा नपाएपछि घर अधकल्चो छ ।

आर्थिक अवस्था दयनीय भएका बुद्धिबहादुर विकलाई जेठ १४ गते राति श्वास–प्रश्वासमा समस्या भयो । अस्पताल लैजानका लागि परिवारमा सल्लाह भयो । तर, अस्पतालसम्म लैजानका लागि न छोरीहरूले सक्थे न उनीहरूसँग पैसा नै थियो । सहयोगका लागि तिनाउ गाउँपालिकामा बस्ने ज्वाइँलाई बोलाइयो । 

दुर्भाग्य  ज्वाइँसँग अस्पतालसम्म लैजानका लागि एम्बुलेन्सलाई तिर्ने भाडा पनि थिएन । उपचार खर्चको कुनै विकल्प नै थिएन । बुद्धिबहादुरको अवस्था गम्भीर हुँदै थियो । उनलाई अस्पताल लैजान नै आर्थिक अवस्थाले रोकेको थियो । छरछिमेकसँग सरसापट गरेर बल्लतल्ल केही रकम जम्मा भयो र एम्बुलेन्स नपाएपछि अटो रिक्सा खोजेर उनलाई लुम्बिनी मेडिकल कलेज प्रवास  पुर्‍याइयो । स्वास्थ्यमा गम्भीर समस्या भएका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।

लुम्बिनी मेडिकल कलेज आएका उनको कोभिड वार्डमा १९ गते मृत्यु भयो । उनको उपचारमा एक लाख ६३ हजार खर्च भयो । त्यो पैसा उनीहरूको आर्थिक स्थितिले थेग्न नसक्ने थियो । यहाँसम्म कि आफ्ना ससुराको कुरुवा बस्न आएका उनका ज्वाइँ राजु विश्वकर्मा पैसाको अभावमा भोकै बस्नुपरेको थियो ।

अस्पतालबाट ‘बिरामीको मृत्यु भयो काउन्टरमा पैसा बुझाएर शव लैजानुस्’ भन्ने जानकारी पाएपछि राजु रुन पनि पाएनन्, एकोहोरो हुँदै काउन्टरमा पुगे । ‘एक लाख ६३ हजार रुपैयाँको बिल देखेपछि उनी अवाक भए । ‘मेरो दिमागमा केही नै आएन, न जग्गाजमिन न खेतबारी छ ससुरालीको ।  न कसैले ऋण पत्याउँछ कसरी पैसा तिर्ने ? घाटसम्म लगेर कसरी दाहसंस्कार गर्ने ?’ उनले भने ।

उपचार खर्च तिर्न नसकेर लुम्बिनी मेडिकल कलेज तानसेनले आफन्तलाई शव दिन इन्कार गरेपछि राजु गुहारका लागि वडा कार्यालय पुगे । तानसेन नगरपालिका– ९ का वडाध्यक्ष हरिसमर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएको बताउँदै उपचार खर्च मिनाहाका लागि सिफारिससमेत गरे । तर, मेडिकल कलेजले मिनाहा तथा छुट गर्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपछि तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले मेडिकल कलेजसँग समन्वय गरे ।

नगरपालिकाले मेडिकल कलेजलाई शव दिन र वक्यौता रकमका लागि नगरपालिका जमानी रहेको बताएपछि मेडिकल कलेज शव दिन राजी भयो । उनको उपचारका लागि एक लाख ६३ हजार खर्च भएको र त्यसमध्ये २० हजार धरौटी थियो । ‘शव नै उठाउन नसकेपछि मैले मेडिकल कलेजका निर्देशक निर्दोषजीलगायतलाई फोन गरेको थिएँ,’ नगर प्रमुख शाहीले भने, ‘म जमानी भएँ शवचाहिँ दिनुहोस्,’ नगर प्रमुख शाहीसँगको संवादपछि मेडिकल कलेज शव दिन राजी भयो ।

नगरपालिका जमानी बसेपछि मेडिकल कलेजले शव उठाउन दिए पनि  पैसा नभएपछि फेरि शव उठाउन समस्या भयो । राजुले  भने, ‘ससुरा घरजग्गाविहीन हो, आफ्नो कोही छैन, मसँग पनि १०० रुपैयाँ छैन, छोराहरू छैनन्, अब कसरी शव लाने ? कहाँ कोसँग गुहार माग्ने ?’ छिमेकी विक्रम परियारले चरम आर्थिक संकट भएकाले दाहसंस्कार गर्ने क्षमता पनि नभएको बताएपछि दुई दिनदेखि अस्पतालमा रहेको शव पत्रकार भगवान भण्डारीको पहलमा गोरख दल गण पाल्पाको सहयोगमा बिहीबार बेलुका दाहसंस्कार गर्ने विषयमा कुरा भयो । वेलैमा उपचार नपाएका बुद्धिबहादुर विकको बिहीबार पनि देह जल्न पनि पाएन । बिहीबार पनि विकको शव अस्पतालमै रह्यो ।

शुक्रबार बिहान गोरख दल गण पाल्पाको शव व्यवस्थापन गर्ने समूह अस्पताल पुगेपछि दाहसंस्कारका लागि विकको शव राम्दीघाट लगियो । दुर्भाग्य दाउरा किन्ने पैसा नपुगेर केही समय शव दहन गर्न ढिला भयो । पसलेले दाउरामा छुट दिएपछि मृत्यु भएको तीन दिनमा बुद्धिबहादुर विकको पार्थीव शरीर राम्दीघाटमा सकियो । दैनिक मेलापातबाट आर्जन गरेर खाने विक परिवारमा रहेका आमा र दुई छोरीलाई साहारा गुमाउनुको पीडा त छ नै बिहान–बेलुका के खाने चिन्ता पनि उत्तिकै छ ।